कारोबार संवाददाता
बुधवार, माघ ८, २०७६
307

आईसीपी सञ्चालनसँगै नेपाल र भारतको व्यापारमा देखिएको ‘वान् वे ट्राफिक’ कम गर्न पनि उत्तिकै चुनौती छ ।

विराटनगरमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार संयुक्त रूपमा उद्घाटन गरे । वीरगन्जपछिको यो दोस्रो र आईसीपी निर्माणसँगै नेपाल–भारत व्यापार सहजीकरणको अवस्था अब हिजोको जस्तो रहनेछैन । अत्याधुनिक र डिजिटल प्रविधि तथा पूर्वाधारको प्रयोग दुवै मुलुकको व्यापारिक सम्बन्ध विकास र विस्तारमा कोशेढुंगा सावित हुने अपेक्षा गर्न सकिन्छ । आईसीपी सञ्चालनसँगै नेपाल र भारतको व्यापारमा देखिएको ‘वान् वे ट्राफिक’ कम गर्न पनि उत्तिकै चुनौती छ । वैदेशिक व्यापारमा नेपालको सबैभन्दा बढी सम्भावना भएको मुलुक भारत नै हो र भारतसँगकै पूर्वाधारलाई यसरी महत्वका साथ अघि बढाइनु सह्रानीय कदमसमेत हो ।
नेपाल र भारतको पारस्परिक व्यापारिक सम्बन्धको इतिहास निकै लामो छ भने भारतका कतिपय राज्य र नेपाल एक अर्कासँग अन्तरनिर्भर पनि छन् । त्यसैले विशाल भारतको अर्थतन्त्रका लागि यो आईसीपी ठूलो कुरा नहोला तर भारतको ठूलो जनसंख्या भएका सीमावर्ती राज्यहरूका लागि वीरगन्ज, विराटनगर र नेपालगन्जको निर्माणाधीन आईसीपी उत्तिकै महत्वपूर्ण छ । यसैले भारतीय प्रधानमन्त्री समेतले यसलाई महत्व दिनु स्वाभाविक छ । आईसीपीबाट एकै स्थानबाट भन्सार जाँचपाससम्बन्धी सबै काम हुने भएपछि त्यसले व्यवसायीको लागत र समय जोगिएसँगै यसबाट उपभोक्तासमेत प्रत्यक्ष लाभान्वित हुनेछन् भने सीमावर्ती नाकामा अहिले देखिएको भीडभाडसमेत यसबाट कम हुनेछ । यसैले आईसीपी सञ्चालनसँग नेपाल र भारतबीचको सम्बन्धको आयाम थप उचाइमा पुग्नेछ । यसैले आईसीपीलाई नेपाल र भारतको विकास सहकार्यको नमुनाका रूपमा लिनु उपयुक्त हुनेछ । यद्यपि, यसमा भएको प्रविधि र पूर्वाधारले दुई देशबीचको व्यापार पारदर्शीसमेत हुने भएकाले आईसीपीलाई पूर्ण रूपमा सञ्चालन गरेरमात्र फाइदा लिन सकिन्छ र ‘यसको लागि आईसीपीमा उपलब्ध हुने सुविधा दिने सबै निकायबीच समन्वय पनि उत्तिकै जरुरी छ ।
आईसीपीजस्ता परियोजना नेपाल–भारत सहयोगात्मक र मित्रताका प्रतीकसमेत हुन् । भारत सरकारको २ अर्ब १० करोड लगानीमा निर्माण सम्पन्न भएको आईसीपीमा भन्सार, अध्यागमन र क्वारेन्टाइनसम्बन्धी सबै सुविधा उपलब्ध हुनेछ भने यो भूबन्दरगाह पनि हो । यसमा यात्रु तथा पर्यटकहरूले पनि सुविधा पाउँछन् । खासगरी सीमामा बोर्डर लिंक गराउने संरचनाले तीन क्षेत्र समेटेको हुन्छ । यसबाट बोर्डर सेक्युरिटी (सीमा सुरक्षा), इमिग्रेसन (अध्यागमन) र कार्गो हेल्डलिङ्को काम हुन्छ । योसँगै क्वारेन्टाइनको काम पनि आईसीपी क्षेत्रमै हुन्छ । जसमा पशुपंक्षी तथा खाद्यान्नको परीक्षणको अहिलेको जल्दोबल्दो समस्या पनि हल हुने अपेक्षा गर्न सकिन्छ । १६९ बिघा क्षेत्रफलमा फैलिएको र एक पटकमा पाँच सयसम्म मालबाहक ट्रक आवतजावत गर्नसक्ने पूर्वाधारले हाम्रो बढ्दो व्यापारको आयतनलाई पनि सम्बोधन गर्नेछ । यसबाट इन्धन प्रयोग घट्ने, एयर र ध्वनी प्रदूषण पनि हट्ने भएकाले वातावरणीय रूपमा पनि यो उचित छ । यसरी विराटनगर आईसीपीको उद्घाटनसँगै नेपालका मुख्य सीमा नाकाहरूमा पनि यस्तै ठूला पूर्वाधारजन्य आयोजनाको खाँचो देखिन्छ ।