कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६
255

उमेरले मात्र कोही परिपक्व हुँदैन, त्यसैले उमेरसँगै शिक्षा र अनुशासनलाई पनि मापदण्ड बनाएर लाइसेन्स दिने व्यवस्था अघि बढाउनुपर्छ ।
नेपालमा सवारी दुर्घटनाको अवस्था निकै भयावह छ । गत आर्थिक वर्ष (२०७५-७६) मा देशभर सवारी साधन दुर्घटनामा २ हजार ७ सय ८९ जनाको मृत्यु भएको तथ्यांक छ भने सो अवधिमा १३ हजार ३ सय ६६ सवारी साधन दुर्घटनामा परेका थिए । चालू आर्थिक वर्षमा पनि दुर्घटनाको दर घटेको छैन । पछिल्लो समय सिन्धुपाल्चोकमा मात्र तीन ठूला दुर्घटनामा झन्डै सय जनाले ज्यान गुमाए । यसरी सडक दुर्घटना नेपालका लागि निकै ठूलो समस्या भइरहेको छ ।

सडक दुर्घटनाका मुख्य कारणमध्ये सडकको दूरवस्था र पुराना एवं बिग्रिएका सवारी साधनमात्र नभई मूल रूपमा सवारी चालकको भूमिका पनि हो । यसैले दुर्घटना न्यूनीकरणसम्बन्धी कार्यक्रमको प्रस्थानबिन्दु भनेकै सवारी चालकलाई जिम्मेवार बनाइनु हो ।
प्रहरीका अनुसार चालकको लापरवाहीसँगै यात्रुको गल्ती, उछिन्ने काम, तीव्र गति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, बढी ग-हुँगो सामानका कारण बढी दुर्घटना हुने गरेको छ । मोटरसाइकल, ट्रक, टिपर, जिप, कार, ट्र्याक्टर र टेम्पो बढी दुर्घटना हुने गरेको छ भने ट्याक्सीको दुर्घटना नगण्य देखिन्छ । यसको कारण ट्याक्सी चालकमाथि राज्यको नियमन पनि एक हो भने उनीहरु स्वअनुशासित हुनु अर्को कारण हो ।
यसैले ट्याक्सी चालकबाटै शिक्षा लिएर आम सवारी चालकलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले ढिलै भए पनि केही काम सुरु गरेको छ । यसको कार्यान्वयन हुनसके अहिलेको दुर्घटनादर धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौं उपत्यकामा ११ लाखको हाराहारीमा सानाठूला सवारी साधन सञ्चालनमा छन् । सवारी संख्या बढेसँगै चालकमाथि सुरक्षित रूपमा गन्तव्यमा पुग्ने चुनौती छ भने आफ्नो भन्दा अरूकै कारणले हुने दुर्घटनाको दर पनि बढी नै छ । यस्तै समस्या समाधानका लागि सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । विभागले ल्याउन लागेको ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ मा सवारी चालक अनुमतिपत्र पाउने उमेर कम्तीमा १८ वर्ष कायम गर्न आन्तरिक गृहकार्य गरेको हो ।
यतिमात्र नभई हाल चारपाङ्ग्रे सवारी चालक अनुमति पत्र लिनका लागि १८ वर्ष पुरा हुनु पर्ने व्यवस्था नयाँ बन्ने ऐनमा सार्वजनिक सवारी चालकको उमेर हद २१, २३ वा २५ गर्ने भन्ने विषयमा विभागले सरोकारवालासँग छलफल गरिरहेको छ । सार्वजनिक यातायातका चालकमा झनै बढी समस्या देखिएकाले उनीहरूमाथि नियमन पनि उत्तिकै जरुरी छ ।
मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको निष्कर्षलाई आत्मसात् गर्दै नियमन अघि बढाउनु आवश्यक देखिन्छ । नयाँ बन्ने ऐनले निश्चय पनि चालकलाई जिम्मेवार बनाउन सहयोग गर्नेछ । हुन त उमेरले मात्र कोही परिपक्व हुँदैन, त्यसैले उमेरसँगै शिक्षा र अनुशासनलाई पनि मापदण्ड बनाएर अघि बढाउन सक्नुपर्छ । यससँगै दुर्घटना न्यूनीकरणका लागि सडकको सुधार, सवारी साधनको परीक्षणलगायतका अन्य विषयहरू पनि सम्बोधन गर्नुपर्छ ।