कारोबार संवाददाता
शुक्रवार, कार्तिक १, २०७६
379

 
विदेशमा सिकेको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्र्याउन साविकको कार्यसमितिले आयोजना गरेको विज्ञ सम्मेलनजस्तै सिर्जनात्मक कार्यक्रममार्फत मुलुकको समृद्धि यात्रामा एनआरएनए साझेदार बन्न सक्नुपर्छ ।

गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशन आज सम्पन्न हुँदैछ । सन् २००३ देखि प्रत्येक दुई वर्षमा हुँदै आएको महाधिवेशन यस वर्ष निकै पेचिलो बन्यो र यसको कारण कुनै एजेन्डा नभई नेतृत्व चयनको चुनाव नै थियो । नेतृत्व चयनका लागि भएको यस्तो निर्वाचनले सम्मेलनको मूल अवधारणा ‘म, मेरो एनआरएनए र मेरो नेपाल’लाई नै छायामा पारिदियो । यतिमात्र होइन, निर्वाचनका क्रममा देखिएका केही अस्वाभाविक गतिविधिले सबै एनआरएनहरूको छवि धमिलिने अवस्थासमेत बन्यो । नयाँ नेतृत्वसामु एनआरएनएको यो छवि पखाल्ने चुनौती थपिएको छ ।
कुनै पनि संस्थालाई जीवन्त बनाइरहन निर्वाचन आवश्यक छ र निर्वाचन लोकतान्त्रिक संस्थाहरूका लागि सौन्दर्य पनि हो । निर्वाचन भन्नेबित्तिकै त्यहाँ राजनीति हुन्छ नै, तर राजनीति कुन हदसम्म गर्ने भन्ने सीमा तोक्नु जरुरी छ । नेपालका ठूला राजनीतिक दलको आशीर्वाद लिएर निर्वाचनमा होमिने र प्रचारका लागि कार्यकर्ता परिचालन गर्ने प्रवृत्ति एनआरएनएजस्तो सामाजिक उद्देश्यका लागि स्थापित जुनसुकै संस्थामा वर्जित गरिनुपर्छ । उम्मेदवारको राजनीतिक आस्था जे भए पनि सामाजिक संस्थामा जाँदा त्यो आस्था बिर्सेर आफूलाई संस्थाकै हितमा केन्द्रित गर्न सकियो भने संस्थामा जस्तोसुकै प्रतिस्पर्धा भए पनि त्यसले अहित गर्दैन । यसैले एनआरएनएमा अहिले देखिएको राजनीतिक प्रतिस्पर्धाको विकृत रूप अन्त्यका लागि अबको नेतृत्वले कठोर निर्णय लिन पछि पर्नु हुँदैन ।

नेपालमा एनआरएनहरूले होहल्लामात्र गरे, तर लगानी गरेनन् भन्ने दुष्प्रचार व्याप्त छ । एनआरएनबाट सामाजिक र आर्थिक क्षेत्रमा अर्बौं लगानी भइसकेको र नयाँ परियोजनाहरूमा पनि आकर्षक लगानी रहेको परिदृश्यमा यस्ता भ्रम चिर्ने दायित्व नेतृत्वकै हो । प्रत्यक्ष वैदेशिक लगानीभन्दा छिटो र प्रभावकारी रूपमा भित्रिएको एनआरएनहरूको लगानी अपेक्षित रूपमा वृद्धि हुन नसके पनि अहिले आइरहेको लगानीका सम्बन्धमा निराश भइहाल्नुपर्ने अवस्था भने छैन । सामाजिक क्षेत्रमा एनआरएनले गरेको लगानीदेखि भूकम्पपछिको राहत र पुनर्निर्माणमा देखाएको तदारुकताका पनि उत्तिकै प्रशंशनीय कार्य हुन् । संसारका ८१ देशमा सञ्जाल विस्तार गरिसकेको एनआरएनएमा आबद्ध सबै गैरआवासीय नेपालीले उत्तिकै मात्रामा लगानी गरून् भन्ने आकांक्षा राख्नु अतिशयोक्ति हुन्छ । एनआरएनए सांगठनिक रूपमा स्थापना हुनुअघि र स्थापनापछि गैरआवासीय नेपालीको लगानीबीच तुलनात्मक अध्ययन गर्ने हो भने अहिलेका धेरै भ्रम चिरिनेछन् र एनआरएन अभियानको महत्व सबैले महसुस गर्नेछन् ।
एनआरएनए निर्वाचनमा अहिले दलीय प्रभावसँगै मतदाता प्रभावित पार्न अथाह खर्च गर्ने प्रवृत्ति जसरी विकास भइरहेको छ, निश्चय पनि यो विकृति हो र यसलाई रोकिनुपर्छ । बरु सबै सदस्यलाई आफ्नै कार्यस्थलबाट अनलाइनमार्फत भोट गर्न सक्ने वातावरण निर्माण गर्न सकियो भने अहिलेको धेरै विकृति निर्मूल हुनसक्छ र नेतृत्वप्रति सबै सदस्यको अपनत्व पनि बढ्नसक्छ । नयाँ नेतृत्वले यसतर्फ पनि ध्यान दिनु उत्तिकै आवश्यक छ । यसबाहेक नेतृत्वमा शुद्धीकरण पनि अर्को अनिवार्य सर्त हो । एनआरएन अभियानमा लागेका धेरैमाथि मानव तस्करीको आरोप लाग्ने गरेको छ र चुनावी प्रतिस्पर्धामा हिलो छ्याप्न यस्तो आरोप लाग्ने गरे पनि कतिपयको भने यस्ता गतिविधिमा संलग्नता नै देखिन्छ । यस्ता गतिविधिमाथि संघ कठोर बन्नैपर्छ, कसैलाई संरक्षण गर्नु हुँदैन । यस्तै, विदेशमा सिकेको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्र्याउन साविकको कार्यसमितिले आयोजना गरेको विज्ञ सम्मेलनजस्तै सिर्जनात्मक कार्यक्रम आयोजना गरी मुलुकको समृद्धि यात्रामा एनआरएनए साझेदार बन्न सक्नुपर्छ ।