कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६
325

 

२० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्नका लागि गैरआवासीय नेपालीहरूको विश्वव्यापी सञ्जाल एक प्रभावकारी माध्यम हुनसक्छ ।

यतिबेला विश्वभरिका गैरआवासीय नेपाली (एनआरएन) हरूका प्रतिनिधिहरू नवौं विश्व सम्मेलनका लागि काठमाडौंमा भेला भएका छन् । यो एक विशेष अवसर पनि हो । सन् २००३ बाट सुरु भएको गैरआवासीय नेपाली अभियान अहिलेसम्म आइपुग्दा यसको संख्यात्मक आकारमात्र वृद्धि भएको भएको छैन, मुलुकको आर्थिक, सामाजिक विकाससँगै अन्तर्राष्ट्रिय सम्बन्ध सञ्जालमा समेत यसले प्रभावकारी भूमिका खेल्दै आएको छ । लगानीकै हिसाबमा पनि मुलुकभित्र कायम विभिन्न किसिमका अन्योलहरू, नीतिगत र कानुनी अस्पष्टताका बाबजुद एनआरएन समुदायबाट हालसम्म करिब १ सय अर्ब रुपैयाँभन्दा बढी परिचालन भइसकेको छ भने अरू थप लगानी परिचालनका लागि पाइपलाइनमा रहेको छ । रकमगत आधारमा यसलाई कम आँकलन गर्न मिल्दैन ।
विश्व परिवेशमा नेपाली डायस्पोराको नेतृत्व अहिले भर्खर दोस्रो पुस्ताले सम्हाल्दै छ । नेपालको हालसम्म कायम पञ्चायतकालीन विदेशमा लगानी प्रतिबन्ध लगाउनेसम्बन्धी ऐनले यहाँबाट पुँजी लगेर विदेशमा उद्यम–व्यवसाय गर्ने छुट दिँदैन । यसको सोझो अर्थ के हो भने नेपाली डायस्पोराले विदेशमा जेजति आर्जन गरेर त्यसको केही हिस्सा नेपालमा लगानी गर्दैछन्, त्यो उनीहरूले कर्मभूमिमा आर्जन गरेको जेथा हो । कानुनी रूपमा अझै पनि नेपालीहरूले विदेशमा लगानी गर्नमा समस्या छ । नेपालका लगानी गरेर आर्जन गरेको पुँजीबाट प्राप्त मुनाफा फिर्ता लैजानेसम्बन्धी व्यवस्थामा अझै अनुदार व्यवस्थाहरू कायमै छन् । बृहत् लगानी परिचालन गर्नुपर्दा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन र अन्य कारणहरू देखाउँदै नेपालीमाथि नै शंका–उपशंका गर्ने क्रम पनि जारी नै छ ।

यस्ता कानुनी र व्यावहारिक झन्झन्ट तथा अवरोधहरूका बाबजुद विगत डेढ दशकमा गैरआवासीय नेपालीहरूले मातृभूमिका लागि जुन योगदान गर्दै आइरहेका छन्, त्यसको सही मूल्यांकन गर्नुपर्ने बेला भएको छ । लगानी भनेको पुँजीगत लगानी मात्र होइन, विदेशमा बसेर थुप्रै गैरआवासीय नेपालीले आर्जन गरेका बौद्धिक, प्राज्ञिक तथा प्राविधिक ज्ञानलाई राष्ट्रहितमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा यो डेढ दशकको अवधिमा देखिइसकिएको छ । विश्व बैंकसहितका अन्तर्राष्ट्रिय संस्थाका उपल्लो तहमा काम गरिरहेका अर्थशास्त्रीहरू स्वदेशबाट बोलाइदा नेपाल फर्केका उदाहरण छन् । यस्ता थुप्रै बौद्धिक, प्राज्ञिक र विज्ञहरू हाम्रो डायस्पोराभित्र अझै पनि क्रियाशील छन्, जसले नेपालका भर्खरै कार्यान्वयन थालिएको संघीय शासन प्रणालीलाई व्यवस्थित गर्न र मुलुकको ठूलो विकास आवश्यकता पूरा गर्नका लागि अवलम्बन गर्नुपर्ने मार्गका सन्दर्भमा योगदान दिन सक्छन् ।
गैरआवासीय नेपाली अभियान सुरु भएको पहिलो दिनबाटै उनीहरूलाई विदेशस्थित नेपाली अवैतनिक दूत भनिदै आइएको छ, तर व्यावहारिक रूपमा देशको आर्थिक कूटनीतिका क्षेत्रमा अझै पनि एनआरएनहरूलाई एउटा अंगका रूपमा परिचालन गर्न सकिएको छैन । विदेशका विभिन्न श्रम गन्तव्यमा नेपाली श्रमिकहरूलाई समस्या पर्दा उनीहरूलाई उद्धार गर्नेदेखि अफ्रिकाबाट नेपाली चेलीहरूको उद्धारमा समेत एनआरएनहरूले निकै सराहनीय भूमिका खेलेका छन् । यस्ता प्रयासलाई औपचारिकता दिनका लागिसमेत अब उनीहरूको भूमिकाबारे पुनरावलोकन गर्नुपर्ने खाँचो छ । टाढाको कुरा छाडेर सन् २०२० मा देशले नेपाल भ्रमण वर्ष मनाउँदैछ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्नका लागि गैरआवासीय नेपालीहरूको विश्वव्यापी सञ्जाल एक प्रभावकारी माध्यम हुनसक्छ । प्रायः सबै देशका एनआरएन प्रतिनिधिहरू नेपालमा भेला भएको यही अवसरमा सरकारले औपचारिक रूपमै यसका लागि सहकार्यका लागि आवश्यकपहल गर्न सकेको खण्डमा यसबाट ठोस उपलब्धि हासिल हुने अपेक्षा गर्न सकिन्छ ।