कारोबार संवाददाता
सोमवार, आश्विन २७, २०७६
267

चिनियाँ पर्यटकलाई नेपालमा आमन्त्रण गर्नुपूर्व उनीहरूका लागि आवश्यक पूर्वाधारका बारेमा विस्तृत अध्ययन गरिनुपर्छ ।
चिनियाँ राष्ट्रपति सी जिनफिङले आफ्नो दुईदिने औपचारिक राजकीय भ्रमणका क्रममा सन् २०२० मा नेपालले मनाउन लागेको नेपाल भ्रमण वर्षलाई आफूले सघाउने प्रतिबद्धता जनाएका छन् । यसले नेपालको पर्यटन प्रवद्र्धनमा निकै सकारात्मक प्रभाव पर्नेछ । केही चिनियाँ कलाकारहरूले नेपाल भ्रमण गरेर त्यहाँको लोकप्रिय माइक्रोब्लगिङ साइटमा फोटो राखेकै भरमा हालैका वर्षहरूमा नेपालमा चिनिायँ पर्यटकको संख्या उत्साहजनक ढंगले बढेको छ ।

यस्तो परिप्रेक्ष्यमा चिनियाँ राष्ट्रपति स्वयंबाट बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल जान उत्प्रेरित गर्ने मन्तव्य आउनु नेपालका लागि निकै महत्वपूर्ण कुरा हो । पर्यटनमन्त्री योगेश भट्टराईले सन् २०२० मा कम्तीमा ५ लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउने बताएका छन् । यो विश्वभर घुम्न निस्कने चिनियाँ पर्यटकहरूको निकै सानो हिस्सामात्र हो ।
चीनले लिएको उदार नीतिपश्चात् विश्वभरि पर्यटकका रूपमा घुम्न निस्कने चिनियाँको संख्या लगातार बढ्न थालेको छ । उनीहरू विश्वमा खर्चालु पर्यटकका रूपमा पनि चिनिन्छन् । ५ लाखको संख्यामा चिनियाँ पर्यटक आउनुमात्र महत्वपूर्ण होइन, उनीहरू आएर कति दिन बस्छन, कति खर्च गर्छन् भन्ने कुराले पनि विशेष अर्थ राख्छ । अहिले नेपालमा पर्यटकहरूको औसत बसाइ अवधि १४ दिन पनि छैन भने प्रतिदिन उनीहरूले गर्ने खर्च पनि ५० अमेरिकी डलरभन्दा कमै छ । त्यसैले गत वर्ष करिब १२ लाखको हाराहारीमा पर्यटकले नेपाल भ्रमण गरे पनि पर्यटन क्षेत्रबाट हुने कुल आय बल्ल ७३ अर्ब पुगेको छ ।
पर्यटक २५ प्रतिशतले बढ्दा पर्यटन आय ९ प्रतिशतले बढेको देखिए पनि अमेरिकी डलरको हिसाबमा यस्तो आय डेढ प्रतिशतभन्दा कमले बढेको छ । यसो हुनुको मुख्य कारण गुणस्तरीय र खर्चालु पर्यटक भित्र्याउन नसक्नु नै हो । सन् १९९८ मा मनाइएको पहिलो नेपाल भ्रमण वर्षदेखि पटक–पटक मनाइँदै आएका पर्यटनलक्षित वर्षहरूमा केवल पर्यटकको संख्या बढाउनमा मात्र जोड दिइँदै आइएको छ, गुणस्तरमा भन्दा । आउँदो वर्ष मनाइन लागिएको नेपाल भ्रमण वर्षमा पनि २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । हाल औसत १० लाखको हाराहारीमा आइरहेका पर्यटक एकै वर्षमा दोब्बरले वृद्धि गर्ने ठूलै महत्वाकांक्षा हो । यो संख्या पु-याउनैका लागि जेजस्ता पनि पर्यटक नेपाल भित्र्याउने हो भने त्यसबाट देशले लक्षित लाभ लिन नसक्ने प्रस्टै छ ।
चिनियाँ पर्यटकलाई नेपालमा आमन्त्रण गर्नुपूर्व उनीहरूका लागि आवश्यक पूर्वाधारका बारेमा विस्तृत अध्ययन गरिनुपर्छ । चीनभित्रै घुम्ने आन्तरिक पर्यटकहरूका लागि अहिले त्यहाँ विकास गरिरहिएका बृहत् र आकर्षक पूर्वाधारहरू नै पर्याप्त छन्, उनीहरू नेपालमा भ्युटावर र अन्य कृत्रिम संरचना हेर्न आउँदैनन् । नेपालमा एकपटक आएका पर्यटकहरू पनि यहाँको अव्यवस्थित पर्यटकीय गन्तव्यदेखि वाक्कदिक्क हुँदै फर्किन्छन् ।
चिनियाँ पर्यटकहरूको संख्या बढ्दा सबैभन्दा मुख्य समस्या भाषाको हुनेछ । उनीहरूका लागि पर्याप्त दोभाषेका व्यवस्थासहित पर्यटकीय गन्तव्यहरूमा चिनियाँ भाषामा समेत बुझिने गरी संकेतपाटीहरू राखिनु आवश्यक छ । यस्तै, एक तप्काका चिनियाँ पर्यटकहरू रात्रिजीवनप्रति आकर्षित छन्, तर हामीकहाँ त्यस्ता कुनै पूर्वाधारहरू छैनन् । सम्साँझै बन्द हुने बजारहरूमा पर्यटक रमाउँदैनन् भने सीमित वस्तुको व्यापारले पर्यटकको खर्च पनि बढ्दैन । त्यसैले पर्यटक बोलाउनुपूर्व हाम्रा पूर्वाधारहरूमा सोहीअनुसार स्तरोन्नति गरिनुपर्छ ।