कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६
271

सीमापारिका भारतीय बजारमा खुट्टा राख्ने ठाउँसमेत नभई भीड भइरहँदा सीमावारिका नेपाली बजार सुनसानजस्तै बनेका छन् ।

हरेक वर्षको दसैं–तिहार र छठजस्ता नेपालीहरूको प्रमुख चाडपर्वका समयमा सीमावर्ति क्षेत्रका पानीट्यांकी, जोगबनी, रक्सौल, सुनौली, बढनी, रुपैडिया, बनबासासहितका भारतीय बजारहरू गुलजार हुने गरेका छन् । हजारौं नेपालीको भीडभाडले यसबेला ती बजारहरूमा पाइला राख्ने ठाउँसमेत हुँदैन । नेपालभन्दा २ पैसा सस्तो पाउने लोभमा नेपाली ग्राहकहरू ती बजारमा वर्षौंदेखि थुप्रिने गरेका छन् । विगत केही समययता भन्सार प्रशासनले सीमापारिको १ हजार रुपैयाँभन्दा बढीको किनमेलमा बिलबिजक अनिवार्य गरेको भए पनि चाडबाडका बेला भनेर कर प्रशासनले घरायसी किनमेलका लागि सहुलियत दिएकै कारण यताका उपभोक्ता उता गएर किनमेल गर्ने गरेका हुन् । कानुनतः भारतमा नेपाली मुद्रा चल्दैन । सोही कारण सीमावर्ती क्षेत्रमा अनौपचारिक सटही गर्नेहरूबाट पैसा साटेर उता गएर किनमेल गर्ने गरिएकोमा हिजोआज बाठा भएका भारतीय व्यापारीहरूले नेपाली मुद्रा नै ग्रहण गर्ने गरेका छन्, जुन हरेक दुई–तीन दिनका अन्तरमा नेपालतर्फ आएर भारुमा परिवर्तन गरी लैजाने गरेका छन् । विगत केही समययता नेपाल राष्ट्र बैंकले भारु अभावको कारण देखाउँदै सटहीमा सीमा तोकेको छ, तर सीमापारिका बाठा व्यापारीहरूका लागि यो सीमा लागू हुँदैन । किनकि उनीहरूले नेपालमा रहेका आफ्ना अनौपचारिक सटही केन्द्रहरूबाट जति पनि भारु साटेर लैजान्छन् । २०७२ सालको भारतीय नाकाबन्दीका क्रममा जनकपुर–जलेश्वरसँग सीमा जोडिएका भारतीय बजारका व्यापारीहरूले तत्कालीन भारतीय राजदूत रञ्जित रेसँग मुद्रा सटहीमा सहजीकरण गरिदिन आग्रह नै गरेका थिए । तिनको प्रत्युत्तरमा रेले नेपाली पैसा नै नलिन निर्देशन दिएका थिए ।
दसैं–तिहारमा सीमापारि किनमेल गर्दा तत्कालका लागि उपभोक्तालाई केही रुपैयाँको फाइदा भए पनि त्यसले समग्रमा मुलुकको अर्थतन्त्रलाई अहित पु¥याइरहेको हुन्छ । अहिले सीमापारिका भारतीय बजारमा खुट्टा राख्ने ठाउँसमेत नभई भीड भइरहँदा सीमावारिका नेपाली बजार सुनसानजस्तै बनेका छन् । यसले स्वदेशको आर्थिक गतिविधि कमजोर बनाइरहेको छ भने अर्कातिर राज्य पनि आफूले प्राप्त गर्न सक्ने राजस्वबाट वञ्चित भइरहेको छ । अत्यावश्यक घरायसी सामानका नाममा यतिबेला परिवारै मिलेर व्यापारिक हिसाबले पनि सीमापारिबाट किनमेल हुने गरेको पाइएको छ । चाडबाडका बेला वा थोरै अनुपातको आयात भनेर भन्सार प्रशासनले आँखा चिम्लिदिँदा दैनिक लाखौंको राजस्व घाटा भइरहेको छ ।
यसका साथै मुलुकले रेमिट्यान्स, निर्यात र पर्यटन आयबाट कमाएको अमेरिकी डलरसहितका विदेशी मुद्राहरू भारतलाई बेचेर किनिएको भारु पुनः यस्ता व्यापारका माध्यमबाट भारततिरै गइरहेको छ । यसले मुलुकलाई दोहारो भार परिरहेको छ । यदि सीमापारिको किनमेलमा कम गराउने हो भने सबैभन्दा पहिला त स्वदेशमा किनमेलका फाइदाबारे उपभोक्तालाई सचेत तुल्याउनैपर्छ । यसका लागि सकेसम्म सीमापारिकै मूल्यमा वारिका बजारहरूमा उपभोग्य वस्तुहरू किन्न पाउने व्यवस्था गरिनुपर्छ । यदि भन्सार, अन्तःशुल्क, भ्याटसहितका करका कारण स्थानीय बजार महँगो भएको हो भने चाडपर्व अवधिलाई लक्षित गरेर सीमाक्षेत्रका ५–१० किलोमिटर क्षेत्रभित्र सहुलियत बजारहरू सञ्चालनका लागि पहल गरिनुपर्छ । सीमाक्षेत्रका बासिन्दाहरूको दैनिक जीवनयापनमा असर नपार्ने गरी चाडपर्वमा पारि गएर हुने किनमेल निरुत्साहित पार्न व्यापारिक आयातसरह भन्सारसहितका कर लगाउने व्यवस्था गरिनुपर्छ ।