कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६
298

सरकारी कर्मचारी अनुगमनमा जाँदा उल्टै व्यापारीको आक्रमणबाट जोगिएर फर्कनुपर्ने विडम्बनापूर्ण अवस्था छ ।
नेपालीहरूका महान् चाडपर्व दसैं, तिहार र छठ नजिकिँदै गर्दा बजारभाउ भने छोइनसक्नु गरी बढेको छ । सरकारको पछिल्लो तथ्यांकले साउनमा ७ प्रतिशत मूल्यवृद्धि भइसकेको पुष्टि गरे पनि भदौ र असोज महिनाको मूल्यवृद्धिको गति हेर्ने हो भने यो वर्ष नाकाबन्दीपछिकै सबैभन्दा बढी मूल्यवृद्धि हुने देखिएको छ । चाडबाड उल्लासपूर्वक मनाउने बेला महँगीले थिचिएका सर्वसाधारण खुम्चिएर मनाउनुपर्ने अवस्थामा छन् । यसैले बजारमा सरकारको उपस्थिति पटक्कै देखिएको छैन भने सरकारी कर्मचारी अनुगमनमा जाँदा उल्टै व्यापारीको आक्रमणबाट जोगिएर फर्कनुपर्ने विडम्बनापूर्ण अवस्था छ ।

मूल्यवृद्धिको सरकारी आँकडाले जे देखाए पनि दैनिक उपभोग्य सामग्रीको मूल्य बढेर सर्वसाधारणको दैनिक जीवनयापन नराम्ररी प्रभावित पारेको छ । नेपाल राष्ट्र बैंकले २ सय ६२ वस्तुका मूल्य संकलन गरी तिनका भार गणना गरी सूचक तयार पार्छ । तर, यसमध्ये सबैभन्दा बढी उपभोग हुने वस्तुको मूल्यवृद्धि बढी र कम खपत हुने वस्तुको मूल्य कममात्र वृद्धि हुँदा औसत मुद्रास्फीतिले बजारमूल्यको वास्तविक प्रतिनिधित्व गर्दैन । अर्कातर्फ सरकारसँग महँगी नियन्त्रणका संयन्त्र नै छैनन् । बजार अनुगमन नाउँको मौसमी र कर्मकाण्डी क्रियाकलापले मूल्य नियन्त्रण गर्ने नभई व्यापारीलाई जिस्क्याउने काममात्र भइरहेको छ । लगामविहीन ढंगले बढेको मूल्यवृद्धिका मारमा निम्न मध्यमवर्गीय परिवार मात्रै होइन, मध्यमवर्गीय परिवारलाई समेत छोएको छ । तर, सरकारले बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्ने, बजारलाई उपभोक्तामैत्री बनाउनेतर्फ कुनै चासो लिएको पाइँदैन; जसले राजनीतिक अस्थिरताका कारण निराश आमसर्वसाधारण महँगीको मार खेप्न विवश भएका छन् ।
मूल्यवृद्धि किन हुन्छ भन्नेमा धेरैको चासो रहेको पाइँदैन । सामान्यतया मूल्य बढ्नुमा आर्थिक कारण जिम्मेवार हुन्छन् । जस्तो, उत्पादन घट्नु, बजारको मागअनुरूपको आपूर्ति गर्न नसक्नु, कालोबजारी र व्यवसायीको बढी नाफा लिने प्रवृत्ति मूल कारक हुन् । व्यापारीले बन्द–हड्तालका बहानामा पनि मूल्य बढाउँछन् । स्वाभाविक रूपमा बन्द–हड्तालले श्रम समस्या सिर्जना गर्छ । निर्वाध ढुवानी हुन नसक्दा भाडा बढ्छ । व्यापारीले उक्त बढेको लागत उपभोक्तालाई मूल्यवृद्धि गरी असुल्छन् । अर्कातर्फ सिन्डिकेट पनि मूल्यवृद्धिको अर्को कारण हो भने भारतमा हुने मूल्यवृद्धिले पनि नेपाली बजारलाई प्रभावित गर्ने गरेको छ । मूल्यवृद्धिका पछाडि यस्ता थुपै्र कारण जिम्मेवार छन्, तर सरकारले यसको नियन्त्रण गर्न र बजारमा झांगिँदै गएको अनुशासनहीनता र अराजकतालाई नियन्त्रण गर्दै मूल्यवृद्धि नियन्त्रण गर्न जसरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपथ्र्यो, त्यो गर्न सकेको छैन । त्यसकारण सरकारले नीतिगत र कार्यान्वयन दुवै तहमा अति गम्भीर भई बजारको नियमन र महँगी नियन्त्रण गर्नु आवश्यक छ ।
मूल्यवृद्धिले सरकारको लोकप्रियता नै संकटमा पार्ने भएकाले बजार नियन्त्रणका लागि नीतिगत सम्बोधन गर्न ढिलाइ गर्नु हुँदैन । मूल्यवृद्धिमा घरेलु कारण बढी जिम्मेवार छ कि बाह्य भन्ने विषय पहिचान गर्दै बजारमा हस्तक्षेप गर्नु आवश्यक छ । अनियन्त्रित बजारलाई नियमनबाट नियन्त्रणमा ल्याउन नसकिँदा मूल्यवृद्धिको समस्या अझ बढ्दै जान्छ । निरन्तरको वर्षाका कारण उत्पादनमा कमी आएको तथा सडक यातायातको दूरवस्थाजस्ता कारणले तरकारीजन्य वस्तुको मूल्यमा केही वृद्धि हुनुलाई अस्वाभाविक मान्न नसकिए पनि समग्रमा बजारमा यसैलाई बहाना बनाएर कमाउने माध्यम बनाउनेहरूसँग भने सरकार कठोर हुनैपर्छ ।