कारोबार संवाददाता
सोमवार, भदौ २३, २०७६
125

भाडाको विषयलाई मात्र नहेरी लामो दूरीमा सञ्चालन हुने सवारी साधनहरूको अवस्था र सेवाको गुणस्तरमा पनि अब ध्यान दिनुपर्ने बेला भइसकेको छ ।

जब दसैंजस्ता ठूला चाडपर्व आउँछन्, त्यही बेला यातायात व्यवसायीहरूको पनि भाडा बढाउने चर्को बार्गेनिङ सुरु हुने गरेको छ । दसैं नेपालको सबैभन्दा लामो बिदा हुने पर्व हो । विगतमा फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म नै दसैंको बिदा दिइने गरिएकोमा हाल यो बिदा चार दिनमा झारिएको छ । यद्यपि, हाम्रो घर, थातथलोबाट टाढा बसेर विभिन्न पेसा, व्यवसायमा सम्बद्ध व्यक्तिहरू भने दसैंलाई पारिवारिक र सामाजिक भेटघाटका अवसर मानेर पछिसम्मै व्यक्तिगत बिदामा बस्ने गरेकाले पनि यसलाई लामो बिदाको अवसर मानिएको हो । सरकारले बिदा कटौती गरेको भए पनि अझैसम्म टीकाको भोलिपल्टदेखि कोजाग्रत पूर्णिमासम्मै मान्यजनहरूबाट टीका र आशीर्वाद थाप्ने प्रचलन भएकाले पनि यो चाडले विशेष अर्थ राख्ने गरेको हो ।
एक अनौपचारिक आकलनअनुसार काठमाडौं उपत्यकामा करिब ४० लाख व्यक्तिको बसोबास छ, जसमध्ये दसैंमा मात्र झन्डै २५ लाखको हाराहारीमा यहाँबाट बाहिरिने गर्छन् । निजामती कर्मचारी प्रशासनमा करिब ८५ हजार कर्मचारी कार्यरत छन् भने सेना, प्रहरी र शिक्षण सेवामा गरी करिब ४ लाख कार्यरत छन् । यीबाहेक वैदेशिक रोजगारीमा गएकामध्ये एक हिस्सा दसैंका अवसरमा स्वदेश फर्कने गर्छन् । त्यसैले दसैंका बेला देशभरिकै यातायात सेवा पूर्ण क्षमता (शतप्रतिशत अकुपेन्सी) मा चल्ने गर्छन् । त्यसैले दसैंलाई नै उनीहरूले कमाइको मुख्य सिजन मान्ने गर्छन् ।

दसैंमा यात्रुहरूलाई बढी सार्वजनिक सवारी चाहिन्छ भनेर यही बेला भाडादर बढाउने बार्गेनिङ गर्नुलाई कुनै पनि रूपमा सही ठह-याउन सकिँदैन । यस वर्ष दसैंका बीचमा भाडा नबढाउने सहमति हुनु सकारात्मक संकेत हो । यसले उपभोक्तालाई राहत पु-याउँछ, तर भाडाका विषयमा भने अनुगमन आवश्यक छ, किनभने चाडबाडका बेला पारेर बढी भाडा असुल्ने प्रवृत्ति देखिँदै आइएको छ । सरकारले तोकेको भन्दा बढी भाडादर अहिले नै पनि असुल्ने गरिएको पाइन्छ । खासगरी टाटासुमो, हायसजस्ता सवारी साधनको भाडादरमा मनपरीतन्त्र हाबी भएको छ । बजार अनुगमनको पाटोले कहिल्यै सार्वजनिक सवारी साधनहरूको भाडादरको पक्षलाई छुने गरेको देखिँदैन । उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधनका हकमा ट्राफिक प्रहरीले कहिलेकाहीँ भाडादर चेक गर्ने गरेको भए पनि मध्यम तथा लामो दूरीका सवारी साधनको भाडादरबारे कुनै पनि निकायले चेकजाँच नै गर्दैनन् ।
भाडाको विषयलाई मात्र नहेरी लामो दूरीमा सञ्चालन हुने सवारी साधनहरूको अवस्था र सेवाको गुणस्तरमा पनि अब ध्यान दिनुपर्ने बेला भइसकेको छ । खासगरी चाडबाडका बेला सिट क्षमताभन्दा बढी यात्रु कोच्ने, असुरक्षित रूपमा छतमा समेत यात्रु चढाउने प्रवृत्ति हाबी छ । लामो दूरीका सवारी साधनहरू नियमित सफाइसमेत गरिँदैन । यस्तै कारणहरूले तिनै सवारी साधनका यात्रुसँगै डेंगु फैलाउने बाघे लामखुट्टेसहितका कीटपतंगहरू चिसो पहाडी क्षेत्रमा समेत फैलिएको हुन सक्ने डाक्टरहरूको भनाइ छ ।
दसैं, तिहार र छठ पर्वमा बढी यात्रुको चलायमानता बढ्ने भएकाले एक महिनाअघिबाटै टिकट बुकिङ खुला गरिन्छ, तर यस पटक अहिलेसम्म बुकिङ खुला गरिएको छैन । ढिला बुकिङ खुला गर्दा नक्कली यात्रुका नाममा सिट बुक भइसकेको देखाएर यात्रु ठग्ने गरेको विगतका अनुभवले देखाएको छ भने फूलपातीदेखि सवारी साधनको अभाव देखिने गरेको छ । यस्ता प्रवृत्तिलाई नियन्त्रणका लागि अहिलेबाटै यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीदेखि प्रदेश तहमा प्रदेशका सम्बन्धित मन्त्रालयहरूले समन्वयन र सहकार्य गर्नु आवश्यक छ ।