कारोबार संवाददाता
बिहिवार, जेठ ३०, २०७६
580

अहिलेसम्म हामीले घरका छानामा राखिने साना सौर्यपाताबाट उत्पादित विद्युत्को मात्र उपभोग गरेकाले यसलाई न्यून महत्व दिइरहेका छौं ।

देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा चिनाइएको भैरहवास्थित गौतम बुद्ध विमानस्थल सौर्य ऊर्जाबाट सञ्चालन गर्ने स्वागतयोग्य निर्णय गरिएको छ । देशभित्र विद्युतीय ऊर्जाको बढ्दो मागसँगै यसको व्यवस्थापन जटिल हुँदै गएको परिप्रेक्ष्यमा ऊर्जाका वैकल्पिक स्रोतहरूका बारेमा बेलैमा गृहकार्य नगरिए मुलुकले केही दशकपछि पुनः ऊर्जा संकट झेल्नुपर्ने खतरा बढ्दो छ । किनकि ऊर्जाको माग जुन ढंगले बढ्दै गएको छ, त्यसको अनुपातमा उत्पादन बढ्न सकेको छैन । हाल देशमा १ हजार ४ सय ५० मेगावाट विद्युत्को माग रहेकोमा ०७५-७६ को फागुनसम्म कुल विद्युत् उत्पादन १ हजार १ सय ४२ मेगावाटमात्र छ । सुक्खायाममा विद्युत् उत्पादन कम हुँदा भारत औसतमा ५ सय मेगावाटसम्म विद्युत् आयात भइरहेको छ । देशभित्र बढ्दो सहरीकरण र औद्योगिक विकास र समग्र विकासक्रमले गर्दा आउँदा वर्षहरूमा विद्युत् माग अझ बढेर जाने प्रक्षेपण गरिएको छ । हालको हाम्रो प्रतिव्यक्ति विद्युत् खपत नै कम छ, किनकि निरन्तर उपलब्धताको अभावमा यसको प्रयोग केवल उज्यालो बनाउनेबाहेक अन्य उपयोगमा हुन सकेको छैन । तर, बदलिँदो जीवनशैलीले गर्दा यो अवस्था रहिरहन्छ भन्ने छैन । बढ्दो मागलाई आपूर्ति गर्नका लागि विद्यमान स्रोतले भ्याउला कि नभ्याउला यसै भन्न सकिने अवस्था छैन । सरकारका अनुसार आर्थिक वर्ष ०७६-७७ सम्म ४ सय ५६ मेगावाटको तामाकासीलगायतका जलविद्युत् आयोजनाहरू सम्पन्न भई कुल १ हजार २ सय ६४ मेगावाट थप जलविद्युत् उत्पादन हुने दाबी गरिएको छ । तर, यसलाई सहजै पत्याउन सकिने अवस्था भने छैन ।
हालको विद्युत् उपलब्धतामध्ये कुल जनसंख्याको करिब १८ प्रतिशतमा नवीकरणीय ऊर्जाका स्रोतबाट विद्युत् पहुँच पुगेको छ भने ३६ प्रतिशत जनसंख्याले विभिन्न प्रयोजनमा स्वच्छ नवीकरणीय ऊर्जाको प्रयोग गर्ने गरेका छन् । संख्यात्मक रूपमा हेर्दा यो निकै ठूलो संख्या हुन आउँछ । विभिन्न कारणले गर्दा राष्ट्रिय प्रसारणलाइनबाट देशका सबै क्षेत्रमा विद्युत् सेवा पु¥याउन असम्भव नै छ । एक अध्ययनअनुसार देशका अतिदुर्गम पहाडी तथा हिमाली क्षेत्रहरूमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् पु¥याउनुभन्दा स्थानीय तबरबाट लघु तथा साना जलविद्युत् आयोजना तथा सम्भाव्यताअनुसार सौर्य तथा वायु ऊर्जाबाट विद्युत् पु¥याउनु आधाभन्दा कम लागत पर्ने देखिएको छ । राष्ट्रिय प्रसारणलाइनका लागि करोडौंका लगानीभन्दा लघु तथा साना जलविद्युत् आयोजनाको एकीकृत स्थानीय प्रसारण प्रणाली उपयोगी हुने देखिएको छ ।
ठीक यही कुरा सौर्य ऊर्जाका हकमा पनि लागू हुन्छ । अहिलेसम्म हामीले घरका छानामा राखिने साना सौर्यपाताबाट उत्पादित विद्युत्को मात्र उपभोग गरेकाले यसलाई न्यून महत्व दिइरहेका छौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म सौर्य तथा वायु ऊर्जाबाट २६.५ मेगावाट विद्युत् उत्पादन तथा प्रयोग भइरहेको छ । अहिलेसम्म ‘अफग्रिड’मा आधारित सौर्य ऊर्जामात्र उत्पादन हुँदै आइरहेकोमा राजधानीका एक बैंकले पहिलो पटक ‘अनग्रिड’मा आधारित सौर्य ऊर्जा पनि प्रयोग गर्न थालेको छ । यो मोडल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र होइन, ठूलो अनुपातको खाली ठाउँ उपयोग हुने अन्य आयोजनाहरूमा पनि प्रयोग गर्न सके भारतबाट विद्युत् आयातमा खर्च हुँदै आएको अर्बौं रुपैयाँ कम गर्न सकिनेछ । यसबाट एकातिर सम्बन्धित आयोजनाको विद्युत् आवश्यकता त पूरा हुनेछ नै, बढी भएको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिँदा दोहोरो फाइदा पुग्ने निश्चित छ ।