कारोबार संवाददाता
बिहिवार, बैशाख ५, २०७६
657

आन्तरिक बजारका साथै अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली कफीको निर्यात गरी पर्याप्त आर्जन गर्न सकिन्छ ।
नेपालमा कृषिजन्य उत्पादनलाई व्यावसायिक बनाउने र तिनको निर्यातको सम्भावनाका कुरा गर्दा जहिल्यै ‘यहाँ के हुन्छ र ?’ वा ‘हामीसँग विदेश निर्यात गर्ने केचाहिँ उत्पादन छ र ?’ भनेर सुरुमै हीनताबोधका अभिव्यक्ति सार्वजनिक हुने गरेको छ । सानो भूगोलमा विश्वकै सर्वाधिक धेरै भौगोलिक र जैविक विविधता भएको देश हो नेपाल भन्ने कुरा हामी सदैव बिर्सन्छौं । चिसो ठाउँमा फलेको सुन्तला छोडाउँदै गाडीमा बस्दा सुन्तला खाइनसक्दै गर्मी ठाउँका आँप बगान आँखा अगाडि आइपुग्छ । त्यसैले नेपालका नफल्ने, नहुने भन्ने कुनै सायदै यस्तो कुनै बाली वा फलफूल होला, जुन कुरा सामुद्रिक किनारा (ट्रपिकल) ठाउँहरूबाहेक अन्त उब्जने होस् । मुख्य समस्याचाहिँ नेपालका कुन क्षेत्रमा कस्ता बाली वा फलफूल लगाउने भन्ने विषयमा यहाँका कृषि वैज्ञानिकदेखि कृषि प्राविधिकहरूले सही ढंगले अध्ययन गरेर सिफारिस नै गर्न सकेनन् भन्दा पनि हुन्छ । नेपालमा जति पनि सफल भएका केही फलफूल खेती छन्, ती किसानहरूको तहमा आफैंले प्रयोगका रूपमा लगाएर ‘सफल–असफल जे भए पनि आफ्नै जोखिम कि लाभ’ भन्ने सूत्रबाट विस्तार भएका हुन्, चाहे त्यो एभोकाडो होस् वा किबी अथवा अहिले निकै चर्चामा रहेको ड्रागन फ्रुट नै किन नहोस् । कुनै एक ठाउँमा हावापानी मिलेका कारण सफल भएको बाली अर्को ठाउँमा समान उत्पादन हुन सक्दैन भन्ने कुराको उदाहरण सिन्धुली र रामेछापको सफल जुनार खेती अन्य केही जिल्लामा असफल बनेका उदाहरणबाट पनि देखिन्छ ।

भौगोलिक अवस्था, वातावरण र अन्य परिस्थितीय प्रणालीको अध्ययन नगरी अहिले देशका केही जिल्लामा अन्धाधुन्ध रूपमा पाउलिनया नामक वृक्ष लगाउन थालिएको छ । यस विषयमा नेपालका बोटानी विज्ञहरूले खासै राय–सुझाव पनि दिएको देखिँदैन । यस्ता थुप्रै बालीका प्रसंग छन्, जहाँ किसानहरूले प्राविधिक परामर्शमा भन्दा स्वविवेकमा बाली लगाएका देखिन्छन् । प्रयोगकै रूपमा सही गुल्मीबाट सुरु भएको अग्र्यानिक कफी खेती अहिले देशका धेरै मध्यपहाडी जिल्लाहरूमा फैलिइसकेको छ । अहिले देशका ४१ मध्यपहाडी जिल्लाहरूमा कफी खेती भइरहेको छ, जसमध्ये २१ जिल्लामा व्यावसायिक कफी उत्पादन नै हुन्छ । यी जिल्लाहरूमा उत्पादन हुने कफी विश्व बजारमा निर्यातसँगै आन्तरिक बजारमा समेत उपभोग बढ्दो क्रममा छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले हालै गरेको एक अध्ययनले १० जिल्लाको झन्डै १२ लाख हेक्टरमा कफी उत्पादनको उच्च सम्भावना रहेको देखाएको छ । यो यस्तो उत्पादन हो, जसको माग विश्वभरि नै बढ्दो क्रममा छ । नेपालभित्रै पनि बढ्दो सहरीकरण र बदलिँदो जीवनशैलीका कारण कफीको माग बढ्दै गइरहेको छ । यदि उचित ढंगले कफी ‘रोस्ट’ गरेर त्यसलाई उत्पादन गरी ब्रान्डिङ र बजारीकरण गर्ने हो भने आन्तरिक बजारका साथै अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली कफीको निर्यात गरी पर्याप्त आर्जन गर्न सकिन्छ । ठीक यही सन्दर्भ चियाका हकमा पनि लागू हुन्छ । भारतको दार्जीलिङ चिया बूढो भई विश्वबजारका उपभोक्ताले रुचाउन छाडेपछि नेपालबाट हरियो चियापत्ती लगी ‘दार्जीलिङ टी’का नाममा ब्रान्डिङ गरेर बेच्ने गरिएको स्वयं कोलकाताका चिया व्यापारीहरूले स्वीकार गरेका छन् । यदि नेपालको चियापत्तीलाई आफ्नै ब्रान्डसहित बजारीकरण र बिक्री गर्ने गर्ने हो भने भारतीय व्यापारीहरूले कीर्ते गरेर कमाइरहेको आम्दानी नेपालमै भित्रिनेछ ।