कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५
606

वैदेशिक रोजगारी नै कृषिक्षेत्रको सबैभन्दा ठूलो विश्वविद्यालय भएको छ ।

कृषि नेपालीको मात्र नभई संसारकै सबैभन्दा पुरानो पेसा हो । नेपालको सन्दर्भमा कुल गार्हस्थ्य उत्पादनमा एकतिहाइ योगदान पनि कृषिक्षेत्रले नै पु¥याएको छ भने मुलुकको झन्डै दुईतिहाइ श्रमशक्ति यसमै निर्भर छन् । कृषि उत्पादन बढेको वर्ष नेपालको आर्थिक वृद्धिदर पनि उच्च रहने गरेको छ । यसैले नेपाली अर्थतन्त्रको आधार भनेकै कृषि हो । तर, नेपाल अझै पनि परम्परागत कृषिमै निर्भर छ र यसको वैज्ञानिकीकरण अहिलेसम्म नारामा मात्र सीमित रहेको कटु यथार्थ हो ।
कृषिलाई आधुनिकीकरण वा वैज्ञानिकीकरण गर्न राज्यको प्रबद्र्धनात्मक नीतिसँगै यस क्षेत्रतर्फ लगानी पनि उत्तिकै जरुरी छ । यो क्षेत्र कर्जा प्रवाहका दृष्टिले निकै कमजोर छ भने विगतको तुलनामा केही सुधार भए पनि सन्तोषजनक अझै छैन । निश्चय पनि मुलुकको उत्पादनशील जनसंख्या अझै पनि ठूलो मात्रामा कृषि पेसामै आश्रित हुनु सुखद होइन र यसको अर्थ देशको अर्थतन्त्र कमजोर हुनु नै हो । त्यसैले आजको दिनमा कृषि पेसालाई बलियो बनाउँदै लैजान बाली विविधीकरणदेखि व्यवसायीकरण तथा आधुनिक प्रविधिको प्रयोग गर्नु अत्यावश्यक छ । पछिल्ला दिनमा कृषिक्षेत्रमा लगानीको आकर्षण पनि बढ्दो छ र वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै रहरलाग्दो व्यवसाय सुरु गरेका प्रशस्त उदाहरण पनि छन् । नेपालमा रहेका सीमित कृषि विश्वविद्यालयमा हुने सैद्धान्तिक अध्यापनभन्दा विदेशबाट सिकेको सीप नै नेपालीका लागि कामयावी भएको छ र वैदेशिक रोजगारी नै कृषि क्षेत्रको सबैभन्दा ठूलो विश्वविद्यालय भएको छ ।

कृषिमा लगानीको आवश्यकता निकै बढी छ । नेपालमा धेरै उर्वर भूमि रहे पनि ती बाँझै रहने र विदेशबाट ठूलो परिमाणमा कृषिजन्य वस्तु आयात गर्नुपर्ने विडम्बनाको अन्त्यका लागि कृषिमा लगानी बढाउनैपर्छ । मूलतः कृषि पेसा सहरमा भन्दा ग्रामीण भेगमा बढी हुने भएकाले यस्तो लगानी पनि बैंकहरूले ग्रामीण क्षेत्रमा नै बढाउनु आवश्यक छ । कृषि कार्यमा प्रयोग हुने प्रविधि, कृषि सामग्रीहरूको व्यवस्था, सिँचाइ आदि कार्यमा पुँजीको आवश्यकता पर्ने भएकाले सरकारको प्रवद्र्धनात्मक नीतिसँगै अनुगमन र नियमन पनि उत्तिकै जरुरी छ । यस्तै, ठूलो परिमाणमा कृषिमा लगानीमात्र नभई लघुकर्जाको पनि यसमा ठूलो महŒव रहेको अवस्था छ । पशुपालन, दुग्ध व्यवसाय, कुखुरापालन, फलफूल खेती, मत्स्यपालनलगायतका क्षेत्रमा उच्च लगानी आवश्यक छ । नगदेबालीअन्तर्गत अलैंची, चिया, कफी, अदुवालगायतका नेपालले राम्रो मुनाफा आर्जन गर्ने सम्भावना देखिएकाले यी क्षेत्रमा पुँजी र प्रविधि दुवैमा लगानी विस्तार गर्नुपर्छ ।
कृषिबाटै नेपालको आर्थिक सामाजिक उत्थान सम्भव छ त्यसैले संघीय, प्रादेशिक र स्थानीय तीनवटै सरकारको समान नीति हुनु यसमा सबैभन्दा महŒवपूर्ण आवश्यकता पनि हो । पछिल्लो समय गुल्मीको एक नगरपालिकाले कृषि कर्जाको ब्याजदरमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेर स्थानीयलाई उत्साहित बनाएको छ । यस्तै नवीन कार्यक्रममार्फत सिंगो मुलुकले कृषि क्रान्तिको बाटोमा अग्रसरता देखाउनुपर्छ । नेपालले आगामी पाँच वर्षभित्र खाद्यान्न आयात नै नगर्नेगरी कार्यक्रम लागू गर्न सक्छ र यसका लागि तीनै तहका सरकारबीच समन्वय हुन सक्यो भने असम्भव पनि छैन । कृषिमा नेपालको पुरानो शाख फर्काउने मात्र नभई नेपालले उच्च मूल्यका कृषिजन्य वस्तुको निर्यातबाट समेत विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना छ । यसका लागि कृषिका सैद्धान्तिक ज्ञानदेखि अन्वेषण र अनुसन्धानमा समेत उत्तिकै लगानी जरुरी छ ।