कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५
527

नेपालले परम्परागत पर्यटन बजारीकरण रणनीतिमा पुनरावलाकेन गरी यस्ता सम्भाव्य क्षेत्रीय बजारलक्षित प्याकेज बेच्ने क्रम सुरु गर्नुपर्छ ।

सन् २०१८ मा झन्डै १२ लाख पर्यटकले नेपाल भ्रमण गरेपछि नेपाली पर्यटन उद्योगमा नयाँ रेकर्ड कायम भएको छ । जुरे पहिरो, सगरमाथाको हिमपहिरो, महाभूकम्प र नाकाबन्दीजस्ता घटनाक्रमबाट एकपछि अर्को गर्दै आक्रान्त भएको नेपालको पर्यटन क्षेत्रले हासिल गरेको यो सबल पुनर्बहाली हो । यसले नेपाली पर्यटन क्षेत्रको उत्थानशील लचक क्षमतालाई प्रदर्शन गर्छन । त्यसो त भूकम्पपछि लगत्तै नेपाल आएका केही अन्तर्राष्ट्रिय पर्यटनविद्हरूले नेपालले छिट्टै नै पर्यटकीय आगमनमा पुनर्बहाली गर्नसक्ने ठहर गरेका थिए । जसअनुसार सरकारले सन् २०१८ मा औसत १० लाख पर्यटकले भ्रमण गर्ने अपेक्षा राखेको भए पनि त्योभन्दा बढी पर्यटक आउनाले यहाँको पर्यटकीय क्षेत्र र उत्पादनमा केही सुधार गर्ने हो भने नेपालले थप पर्यटक स्वभाविक रूपमा नै भित्र्याउन सक्ने सम्भावना उजगार गरेको छ । हाम्रो पर्यटन थोरै क्षेत्र र सीमित गन्तव्यमा सीमित भएको सत्य हो, जसले गर्दा संख्यात्मक रूपमा पर्यटकहरूको संख्या बढे पनि उनीहरूको औसत बसाइ अवधि र तिनले नेपालमा गर्ने खर्च बढ्नै सकेको छैन । पर्यटकको संख्या बढेसँगै समग्र पर्यटन आय बढ्यो भने मात्र वास्तविक रूपमा यस क्षेत्रको योगदान देखिन्छ । अहिले पर्यटन क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा गर्ने योगदान ४ प्रतिशतभन्दा पनि कम छ, जसलाई आउँदो पाँच वर्षभित्रमा दोब्बर पार्ने सरकारको लक्ष्य छ, जुन लक्ष्य हासिल गर्नका लागि पर्यटकको संख्यासँगै पर्यटन आय पनि बढ्नु पर्ने हुन्छ ।
औपचारिक रूपमा सरकार, पर्यटन बोर्ड वा निजी क्षेत्रका कुनै संघसंस्थाले कुनै औपचारिक अध्ययन नगरेको भए पनि नेपाल आउने अधिकांश पर्यटकहरू कम खर्चालु वा ‘ब्यागप्याक’ पर्यटक हुने गरेको देखिएको छ, जो सस्ता लजमा बस्छन्, सामान्य एक कप चियामा समेत बार्गेनिङ गर्छन् । ट्रेकिङ रुटहरूमा यस्ता धेरै पर्यटकसँग स्थानीय होटल व्यवसायीहरूको झगडै परेको समेत देखिन्छ । कतिसम्म भने ठमेल र पोखरामा यस्ता सस्ता पर्यटकले गीत गाएर खानेबस्ने पैसा जुटाउँदै गरेको समेत देखिन थालेको छ । प्रायःजसो भारत हुँदै नेपालका स्थलमार्गबाट भित्रने केही देशका पर्यटकहरू यहाँ १–२ डलरले सात दिनभन्दा बढी घुमफिर गरेर फर्कने गरेको थुप्रै उदाहरण छन् ।
त्यसैले अब धेरै सस्ता पर्यटक भित्र्याउने हो या खर्चालू तर सीमित पर्यटक भित्र्याइ देशमा गुणस्तरीय पर्यटन विकास गर्ने भन्ने विषयमा समेत अब गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बेला भएको छ । नजिकको तीर्थ हेला भनेझैं हामीले सही ढंगले बजारीकरण नगरे पनि र उचित प्राथमिकता नदिए पनि नेपालमा छिमेकी मुलुक भारत र चीनका पर्यटकहरू बराबरी नै गतिमा बढ्दै गएका छन् । वल्र्ड ट्राभल एन्ड टुरिजम् अर्गनाइजेसनका तथ्यांक हेर्ने हो भने यी दुवै मुलुकका नागरिकहरूको घुमफिर गर्ने बानीमा आएको परिवर्तनका कारण आन्तरिक पर्यटन गन्तव्य (इनबाउन्ड टुरिजम्)बाहेक अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यमा घुमफिरका लागि पुग्ने क्रम बढेको छ । चिनियाँ पर्यटकहरू पछिल्ला समयमा विश्वभरि नै खर्चालू पर्यटकका रूपमा दरिन थालेका छन् । त्यसैले अब नेपालले आफ्नो परम्परागत पर्यटन बजारीकरण रणनीतिमा पुनरावलाकेन गरी यस्ता सम्भाव्य क्षेत्रीय बजारलक्षित प्याकेज बेच्ने क्रम सुरु गर्नुपर्छ ।