कारोबार संवाददाता
आइतवार, पुष १, २०७५
552

संख्यात्मक रूपमा बढी पर्यटक आउनुमात्र देशका लागि उपलब्धिका विषय वा उत्सव मनाउनु पर्ने विषय होइन ।

विगत लामो समयदेखि वार्षिक १० लाख पर्यटक नेपाल भित्र्याउने भनेर राखिएको लक्ष्य बल्ल चालू वर्षमा आएर पूरा भएको छ । नेपाल भ्रमण वर्ष–२०११ मा नै १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य भए पनि त्यो लक्ष्य सन् २०१८ मा आएर पूरा भएपछि नेपाल पर्यटन बोर्डले केक काटेर उत्सव मनाएको छ । गत वर्ष नै करिब–करिब दस लाख पर्यटक नेपाल आइसकेको अवस्थामा ११ महिनाको तथ्यांकसँगै पर्यटन बोर्डले रात्रिभोजसहित खुसीयाली मनाउनु आफ्नो ठाउँमा छ, पर्यटन प्रबद्र्धनका लागि बोर्ड आफैले के कति प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्यो भन्ने पनि समीक्षा हुनु जरुरी छ । यो संख्यामा पछिल्ला तीन महिनामा स्थल मार्गबाट आउने पर्यटक भने जोडिएको छैन । स्थलमार्गका पर्यटक र डिसेम्बरको विवरणसमेत जोड्दा झन्डै १२ लाख पर्यटकले नेपाल भ्रमण गरेको हुनसक्ने अनुमान पर्यटन बोर्डसम्बद्ध अधिकारीहरूको छ । नेपाल भित्रने कुल पर्यटकको ८० प्रतिशत हवाई माध्यमबाट र २० प्रतिशत स्थलमार्गबाट भित्रन्छन् । नेपाल राष्ट्र बैंकले वार्षिक भुक्तानी सन्तुलनसम्बन्धी तथ्यांक दुई महिनापछि मात्र जारी गर्ने भएकाले यतिका पर्यटकले नेपाल भ्रमण गर्दा देशले कति आर्जन गर्यो र प्रतिपर्यटक नेपाल बसाइ, प्रतिपर्यटक प्रतिदिन खर्चको अनुपातबारे वास्तविक जानकारी आउन समय लाग्ने देखिन्छ ।
नेपाल राष्ट्र बैंकद्वारा प्रकासित चालू आर्थिक वर्षको पहिलो तीन महिना अर्थात् असोज मसान्तका सम्मका विवरणअनुसार गत वर्षभरिमा पर्यटन क्षेत्रबाट ६७ अर्ब रुपैयाँ आय भएकोमा यो वर्षको पहिलो तीन महिनामा १५ अर्ब ६७ करोड रुपैयाँ आय भएको छ । पर्यटन मन्त्रालयको अर्को एक विवरणअनुसार सन् २०१७ मा नेपालमा प्रतिपर्यटक बसाई अवधि १२.६ दिनमात्र छ भने प्रतिपर्यटक दैनिक खर्च ५४ अमेरिकी डलर छ । नेपाल आएका कुल पर्यटकमध्ये भारतीय पर्यटकको संख्या १ लाख ७८ हजार छ भने त्यसपछि चिनियाँ पर्यटकको संख्या १ लाख ३४ हजार छ । यसमा बेडिङ–बिस्तारा र खानपिनका सामान समेत बोकेर भारतीय पर्यटकसमेत जोड्दा स्थलमार्गबाट नेपाल आउने पर्यटक अझ बढी देखिन्छ । पर्यटन बोर्डले नै केहीअघि गरेको अध्ययनले यसरी स्थलमार्गबाट आउने भारतीय पर्यटकको संख्यासमेत जोड्दा दस लाख पर्यटक भित्र्याउने लक्ष्य केही वर्षअघि नै पूरा भइसकेको देखिएको थियो ।
संख्यात्मक रूपमा बढी पर्यटक आउनुमात्र देशका लागि उपलब्धिका विषय वा उत्सव मनाउनु पर्ने विषय होइन । अझै पनि नेपाल आउने पर्यटकको औसत बसाइ अवधि १५ दिनभन्दा कम नै छ भने प्रतिपर्यटक खर्च ५५ डलर पनि पुर्याउन सकिएको छैन । उतैबाट खानपिनका सामान बोकेर आउने, सस्ता होटल अथवा सडक–खोला किनारमा टेन्ट टाँगेर बस्ने वा धर्मशालामा बस्ने पर्यटकबाट देशको पर्यटन क्षेत्रले कुनै उल्लेख्य उपलब्धी हासिल गर्दैन । सन् २०२० मा देशले पुनः नेपाल भ्रमण वर्ष मनाउने तयारी गर्दैछ, जुन वर्ष २० लाख पर्यटक पुर्याउने लक्ष्य छ । अहिले आएका १०–११ लाख पर्यटकका आधारमा आउँदो दुई वर्षभित्रैमा २० लाख पर्यटक भित्र्याउन सकिने सम्भावना निकै कम छ । यसका लागि नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक रूपमा ब्रान्डिङ गरेर प्रचारप्रसारलाई तीव्र पार्नुपर्छ भने पर्यटनसँग सम्बन्धित सबै किसिमका पूर्वाधारहरूमा स्तरोन्नति मुख्य सर्त हो ।