कारोबार संवाददाता
मंगलबार, मंसिर १८, २०७५
428

मेलम्ची सम्पन्न गर्न कुनै भूमिका निर्वाह नगर्ने बरु यसलाई दुहुनो गाई बनाउने तर जस लिने होडबाजी नै निर्लज्ज राजनीतिक प्रवृत्तिको नमुना हो ।

नेपालको समग्र विकास आयोजनाकै लागि ‘बेन्चमार्क’ मानिएको मेलम्ची खानेपानी परियोजनाले निर्माण सुरु भएको रजत जयन्ती मनाउनै लागेको छ । तर, काठमाडौंवासीका घरआँगनमा यसको पानी अझै आइपुगेको छैन । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौं–१ को निर्वाचनमा उम्मेदवार हुनुपूर्व २०४८ मै यसको सपना बाँडेका थिए । दुर्भाग्यवश उक्त निर्वाचनमा भट्टराईको पराजय भयो र मेलम्ची आयोजना पनि पटकपटक किसुनजीकै नियति बेहोर्नुपर्यो । यसरी मेलम्ची सपनाले २५ वर्ष नाघिसकेको छ र पनि अझै मेलम्चीको पानी काठमाडौं कहिले आउँछ भन्ने टुंगो छैन । २५ वर्षमा संसार धेरै मुलुकले नयाँ युगको सुरु गरिसके पनि मेलम्चीले भने ‘रजत महोत्सव’ नभई ‘रजत जयन्ती’का रूपमा मनाउनुपर्ने अवस्था छ । मेलम्ची खानेपानी आयोजनाको काम सुरु २०५७ सालमा भएको थियो र २०६४ मा सम्पन्न हुने लक्ष्य राखिएको थियो । यस हिसाबले पनि मेलम्ची आयोजना सुरु भएकै झन्डै २ दशक पुगेको छ ।
पछिल्लो पटक मेलम्ची सम्पन्न हुने दिशामा छ । तर, यसलाई कसरी सहजीकरण गर्ने वा यसको कामको गति कसरी अगाडि बढाउने भन्नेमा भन्दा पनि यसको क्रेडिट कसरी आफूमात्रै लिने भन्ने होडबाजी छ । दुर्भाग्यवश प्रधानमन्त्री केपी ओलीदेखि खानेपानीमन्त्री विना मगरसम्म यो दौडमा प्रतिस्पर्धारत छन् । तर, ओली र मगर दुवैको यसमा योगदान कति छ भन्ने आम नागरिकलाई राम्रै जानकारी छ । काम सम्पन्न गर्न कुनै भूमिका निर्वाह नगर्ने बरु यसलाई दुहुनो गाई बनाउने तर जस लिने होडबाजी नै निर्लज्ज राजनीतिक प्रवृत्तिको नमुना हो । यसबाट दुईतिहाइ बहुमतप्राप्त सरकारसमेत अछुतो रहन नसक्नु अर्को बिडम्बना हो ।

पछिल्लो पटक प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले उपत्यकावासीलाई विश्व स्वास्थ्य संगठनको स्तरअनुसार पानी उपलब्ध गराउन खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । राष्ट्रिय गौरवको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाबाट उपत्यकाभित्र खानेपानी उपलब्ध गराउने भनी पटक–पटक प्रचार गरिए पनि पानी उपलब्ध गराउन नसकी पटक–पटक समय सर्दै गइरहेको अवस्थामा मेलम्ची खानेपानी आयोजनाको विद्यमान अवस्था बुझ्नका उक्त आयोजनाको समन्वय समितिबाट स्थलगत अध्ययन, अवलोकन भ्रमण गर्ने निर्णय गरेको छ । यसरी हेर्दा संसदीय समिति पनि अस्वस्थ प्रतिस्पर्धाबाट अछुतो देखिएन । यहाँसम्म कि खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौंमा आइपुग्ने दाबी गरे पनि यसलाई आयोजना व्यवस्थापनले नै स्वीकार गर्न सकेको छैन । यसअघि खानेपानीमन्त्री बिना मगरले दसैंअघि नै पानी काठमाडौं आउने दाबी गरे पनि सचिवले मन्त्रीले भनेको विषयमा माफी माग्छु भन्नुपर्ने अवस्थालाई दुर्भाग्यकै रूपमा लिइनुपर्छ ।
विगतमा गलत ठेकेदार छनोटका साथै विभिन्न व्यवधानले यो आयोजना सम्पन्न गर्ने अवधि पर धकेलिँदै आएको हो । मेलम्ची खोलामा बाँध बाँधेर राजधानीसम्म पानी ल्याउन २७ किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेमा यसका लागि नै सबैभन्दा बढी समय लागेको छ । यहाँसम्म कि त्यतिबेला मेलम्चीबाट ल्याइने भनिएको १७ करोड लिटर पानी सन् २०१५ सम्मको मागलाई धान्न सक्ने परिमाणको थियो । अहिले २०१८ को अन्त्यसम्म पानी आइनपुग्दा मेलम्चीले काठमाडौंको माग पूरा गर्न सक्ने अवस्थासमेत छैन । यसैले मेलम्चीको जस लिने होडबाजी गर्नेभन्दा पनि यसलाई चाँडै सक्ने र याङ्ग्री र लार्केबाट पानी ल्याउनेतर्फ ध्यान दिनु जरुरी छ ।