लक्ष्मी सापकोटा
मंगलबार, श्रावण २२, २०७५
829

चालू आर्थिक वर्षको बजेट हाराहारीमा विभिन्न मुलुकबाट वस्तु तथा सेवा आयात भएको छ । सरकारले चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । बजेटकै हाराहारीमा गएको एक वर्षमा १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ ।
गत वर्षको तुलनामा २७.५३ प्रतिशतले व्यापारघाटा बढेर ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार कुल वैदेशिक व्यापारमा आयात–निर्यात अनुपात ९३.९ः६.१ रहेको तथ्यांकले देखाएको छ । अर्थात् ९४ रुपैयाँको वस्तु तथा सेवाको आयात हुँदा ६ रुपैयाँ बराबरको निर्यात भएको छ ।

आव २०७४-७५ मा नेपालले १३ खर्ब २४ अर्ब २९ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । जसमा १२ खर्ब ४३ अर्ब २९ करोड २१ लाख १८ हजार रुपैयाँको वस्तु आयात भएको विभागले जनाएको छ । सो अवधिमा ८१ अर्ब १९ करोड १६ लाख ५२ हजार रुपैयाँको मात्रै निर्यात भएको छ । आर्थिक वर्ष २०७३-७४ मा व्यापारघाटा ९ खर्ब ११ अर्ब २६ करोड ६७ लाख ४ हजार रुपैयाँ रहेको थियो । यो वर्ष व्यापारघाटा २ खर्ब ५१ अर्बले वृद्धि भएको तथ्यांकले देखाउँछ ।
आर्थिक वर्ष २०७३-७४ को तुलनामा आयात २६.३१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३-७४ मा ९ खर्ब ८४ अर्ब ३० करोड २९ लाख ४८ हजार रुपैयाँ बराबरको सामाग्रीहरू आयात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यातमा पनि केही सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ११.१७ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ७३ अर्ब ३ करोड ६२ लाख ४४ हजार रुपैयाँको सामग्री विभिन्न मुलुकहरूमा निर्यात भएको थियो ।
१ सय ४० मुलुकसँग व्यापार गर्ने नेपालको छिमेकी मुलुक भारतसँग धेरै व्यापार हुने गर्छ । भारतसँग ७ खर्ब ६४ अर्ब ३० करोड रुपैयाँको व्यापार घाटा छ । आयातको तुलनामा निर्यात न्यून हुँदा मुलुकको व्यापारघाटा भयावह अवस्थामा पुगेको हो । यसरी बर्सेनि आयात बढ्दै जाँदा मुलुकको अर्थतन्त्रमा नै असर पर्ने विज्ञहरू बताउँछन् ।
विभागका अनुसार एक वर्षमा १ खर्ब ९० अर्ब ८५ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यस्तै १ खर्ब २५ अर्ब ८८ करोड रुपैयाँको आइरन एण्ड स्टील आयात भएको छ । १ खर्ब २४ अर्ब ४४ करोड रुपैयाँको मेसिनरी सामान, ८६ अर्ब ३० करोडको सवारी साधन र ७८ अर्ब २८ करोड रुपैयाँ बराबरको विद्युतीय सामान आयात भएको भन्सार विभागको तथ्यांक छ ।
व्यापारविज्ञ एंव पूर्वसचिव पुरुषोत्तम ओझाले बढ्दै गएको व्यापार घाटाले अर्थतन्त्रलाई जोखिम दिशातिर लैजाने बताउँछन् । “आयात बढ्दै गए पनि सोही अनुपातमा निर्यात बढ्न सकेको छैन,” उनले भने, “यस्तै अवस्थामा रहने हो भने व्यापारघाटाले मुलुकको अर्थतन्त्रलाई चौपट पार्छ ।” व्यापारघाटा कम गर्नका लागि बिलासीताका वस्तुको आयात घटाउनुपर्ने भए पनि त्यसमा कसैको ध्यान जान सकेको छैन ।
ओझा भन्छन्, “खास–खास वस्तुको पहिचान गरेर उत्पादन बढाएर निर्यात बढाउनेतर्फ लाग्नुपर्छ ।” निर्यातमा देखिएका गैरभन्सार अवरोध हटाएर सरकारले लगानी बृद्धि गरेर उत्पादनमा जोड दिनुपर्ने उनको भनाई छ । विशेष आर्थिक क्षेत्र(सेज)मार्फत लगानी वृद्धि गरेर उत्पादनमा जोड दिन सके व्यापार घाटा कम गर्न सकिने उनको भनाइ छ ।
आव २०७३-७४ मा १० खर्ब ५७ अर्ब ३३ करोड वैदेशिक व्यापार भएको थियो । यसमा ९ खर्ब ८४ अर्ब ३० करोड आयात हो भने ७३ अर्ब ३ करोडको निर्यात भएको थियो । गएको आवमा ९ खर्ब ११ अर्ब २६ करोडको व्यापार घाटा भएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्तिसचिव चन्द्रकुमार घिमिरेले बढ्दो व्यापारघाटा कम गर्न कार्ययोजना तयार गरिएको बताए । “लगानी प्रवद्र्धन गरेर कृषि तथा औद्योगिक उत्पादनमा जोड दिने तयारी गरिरहेका छौं,” सचिव घिमिरेले भने, “लगानी प्रवद्र्धन गराएर स्वदेशी उत्पादन बढाउने योजना तयार गरेका छौं ।”
भन्सार विभागका अनुसार सो अवधिमा मुलुकबाट कच्चा धागो ८ अर्ब ४३ करोड रुपैयाँ, कार्पेट ७ अर्ब ३८ करोड रुपैयाँको, तयारी पोशाक ६ अर्ब २८ करोड रुपैयाँको आइरन एण्ड स्टीलजन्य सामग्री ५ अर्ब १६ करोड रुपैयाँको निर्यात भएको छ । सो अवधिमा ९ अर्ब २० करोड रुपैयाँको कफी निर्यात भएको छ ।