निगमको घाटा एक अर्ब पुग्यो
लक्ष्मी सापकोटा
मंगलबार, मंसिर १९, २०७४
32

नेपाल आयल निगमको घाटा बढेर एक अर्ब रुपैयाँ पुगेको छ । लगातार नाफा कमाउँदै आएको निगम पछिल्लो समय मूल्य समायोजन नगर्दा घाटामा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गए पनि संघ र केन्द्रको चुनावले गर्दा स्थानीय बजारमा मूल्य समायोजन गर्न नपाउँदा निगमको घाटा बढ्दै गएको हो ।निगम प्रवक्ता वीरेन्द गोइतले घाटा बढेर एक अर्ब रुपैयाँ पुगेको बताए । “इन्डियन आयल कर्पाेरेशन(आइओसी)ले पठाएको मूल्य लगातार बढेर आएको छ,” उनले भने, “प्रदेश र संघको चुनावको कारणले मूल्य नबढाउँदा घाटा बढ्दै गएको हो ।” निगमलाई सबैभन्दा धेरै घाटा खाना पकाउने एलपीजी ग्यास र डिजेलमा रहेको छ । आइओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । यस अघि सोही अनुसार मूल्य समायोजन गर्ने गरेको निगमले पछिल्लो समय चुनावले गर्दा समायोजन गरेको छैन । ग्यासमा प्रतिसिलिन्डर २ सय ४८ रुपैयाँ ६४ पैसा घाटा रहेको छ । यस्तै प्रतिलिटर डिजेलमा पाँच रुपैयाँ २५ घाटा रहेको छ । पेट्रोल प्रतिलिटरमा १४ पैसा घाटा छ । ग्यासमा मात्र निगमलाई मासिक २९ करोड ६६ लाख रुपैयाँ घाटा रहेको छ । डिजेलमा ३७ करोड चार लाख र पेट्रोलमा २९ लाख रुपैयाँ घाटा रहेको छ । मट्टितेल र हवाइ इन्धनमा भने निगमलाई नाफा रहेको छ । मट्टितेलमा १५ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ र बाह्यमा १८ रुपैयाँ ३१ पैसा नाफा रहेको निगमले जनाएको छ । आइओसीले १ डिसेम्बरमा पठाएको नयाँ मूल्य अनुसार ग्यास डिजेल र पेट्रोलमा मूल्य बढेर आएकाले पनि निगमको घाटा थप चुलिएको हो । यस अघि १५ दिनमा निगमलाई ५५ करोड रुपैयाँ घाटा थियो । पछिल्लो १५ दिनमा घाटा बढेर ५४ करोड पुगेको निगमले जानकारी दिएको छ । नयाँ मूल्य अनुसार खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ११ रुपैयाँ बढेर आएको छ । चिसो बढेसँगै खाना पकाउने ग्यासको खपत बढ्दै गएको छ । अन्य समयको तुलनामा चिसा समयमा १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेको निगमको भनाइ छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएको छ । निगमले इन्धनको मूल्य समायोजन नगरेपनि भारतको तुलनामा हाल नेपालमा प्रतिलिटर पेट्रोलमा २२ र डिजेलमा २६ रुपैयाँ सस्तो रहेको छ । निगमले २०७१ सालमा इन्धनमा स्वचालित मूल्य लागू गरे पनि पूर्ण रूपमा कार्यान्वयनमा आएको छैन । स्वचालित मूल्यअनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घटाउनुपर्ने हुन्छ । तर, निगमले पूर्ण रूपमा स्वचालित मूल्य लागु गर्न सकेको छैन । पछिल्लो दुई-तीन महिनायता अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उकालो लाग्दै गएको छ ।निगमका अनुसार हाल मासिक सरदर ७५ देखि ८० हजार किलोलिटर डिजेलको माग छ । त्यस्तै पेट्रोल मासिक २५ सयदेखि ३ हजार किलोलिटर, हवाई इन्धन १२ हजारदेखि १५ हजार किलोलिटरको माग छ । ग्यास मासिक ३० हजार मेट्रिक टन खपत हुने गर्छ । उपत्यकामा दैनिक साढे चार सय किलोलिटर पेट्रोल र साढे पाँच सय किलोलिटर डिजेल खपत हुने गर्छ ।