कारोबार संवाददाता
शुक्रवार, श्रावण १६, २०७७
418

सल्यान- जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले नियम उलंघन गर्ने सवारीसाधनबाट ३२ लाख ६६ हजार राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६-०७७ मा सवारीसाधनबाट जरिवाना स्वरुप ३२ लाख ६६ हजार रकम राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
यस अवधिमा ६ सय ३५ बस, ५ सय २३ ट्रक, ७ सय १५ जिपकार, १ हजार ४ सय ३८ मोटरसाइकल र ३ सय ५२ ट्याक्टर गरी जम्मा ३ हजार ६ सय ६३ वटा सवारीसाधन लाई जरिवाना गरिएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका कार्यालय प्रमुख सन्दिप बिकका अनुसार निमय उलंघन गर्ने यात्रुबाहक बसबाट ५ लाख ६० हजार, ट्रकबाट ४ लाख ५४ हजार ५ सय, जिप कारबाट ६ लाख २३ हजार ५ सय, मोटरसाइकलबाट १३ लाख २४ हजार र ट्याक्टरबाट ३ लाख ४ हजार राजस्व संकलन गरिएको हो ।
अघिल्लो आर्थिक वर्षमा सल्यान ट्राफिकले ५६ लाख ५५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको थियो ।
गत आर्थिक वर्षको भन्दा यो वर्ष २३ लाख ८९ हजार ५ सयले राजस्व संकलनमा कमी आएको र लकडाउनले गर्दा प्रभाव पारेको ट्राफिक प्रहरी प्रमुख विकले जानकारी दिए । सल्यान जिल्लामा सवारी चालक अनुमतिपत्र विना सवारी साधन चलाउने निरुत्साहित गर्न कडाइका साथ चेकजाँच भइरहेको कार्यालय प्रमुख विकले जानकारी दिए ।