कारोबार संवाददाता
शुक्रवार, असार २६, २०७७
444

भारतीय सीमामा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मुल्य सस्तो रहेको छ । इन्धनको मूल्य अन्तर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । सीमावर्ती भारतीय बजारभन्दा नेपालमा अहिले इन्धन प्रतिलिटर ४० रूपैयाँसम्म सस्तो रहेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार रक्सौलमा पेट्रोल १ सय ३४ नेपाली रुपैयाँ पर्छ भने डिजलको मूल्य १ सय २४ छ । वीरगञ्जमा पेट्रोल ९९ रुपैयाँ ५० पैसा र डिजेल ८५ रुपैयाँ ५० पैसामा पाइन्छ । पेट्रोल र डिजलको मूल्यअन्तर झापासँग सीमा जोडिएको सिलिगुढीमा क्रमशः ३६ र ३७ रुपैयाँ छ । विराटनगरको तुलनामा जोगबनीको मूल्य क्रमशः ४० र ४२ रुपैयाँ बढी छ, जलेश्वरको तुलनामा सीमावर्ती बजारमा ४० र ४१ रुपैयाँ महँगो छ ।

भैरहवाभन्दा सुनौलीमा ३६ र ३३ रुपैयाँ महँगो छ । पेट्रोल र डिजेलको मूल्य नेपालगन्जभन्दा रुपैडिहामा ३६ र ३३ रुपैयाँ बढी छ र धनगढीभन्दा पलियामा ३६ र ३३ रुपैयाँ बढी पर्छ । लकडाउन खुकुलो हुँदै जाँदा भारतभन्दा नेपालमा तेलको मूल्य सस्तो हुँदा चोरी निकासी हुने, सवारीसाधन आएर इन्धन भरेर जाने जोखिम उच्च रहेको छ ।
निगमका प्रवक्ता विनितमणी उपाध्याय वर्तमान सीमा मूल्य अन्तर हालसम्मकै उच्च रहेको बताए । अहिले लकडाउन खुल्दै गएको र मूल्य अन्तर बढ्दै गएका कारण सीमामा इन्धन तस्करी हुने डर बढेको उनको भनाई छ । भारतभन्दा सस्तो हुँदा चोरी निकासी हुने गरेको छ भने भारतीय सवारीसाधन नेपाल आएर इन्धन भरेर जाने गर्छन् । तर लकडाउनको समयमा भने पहिलाभन्दा कम सवारीसाधन आवतजावत गरेका छन् ।
सरकारले सीमावर्ती मूल्य अन्तर कम गर्न पटकपटक इन्धनको मूल्यमा कर तथा शूल्क थप गर्दै आएको बताएको छ । सीमा मूल्यअन्तर कम गर्न भन्दै सरकारले दुईपल्ट कर बढाएको छ । सरकारले मन्त्रिपरिषद् बैठक तथा बजेटमार्फत् इन्धनमा कर बढाएको थियो । फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लाग्ने पूर्वाधार कर प्रतिलिटर ५ रुपैयाँबाट बढाएर १० रुपैयाँ बनाएको थियो । गत जेठ १५ गते अर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फत् हवाइ इन्धन र एलपी ग्यासबाहेक पेट्रोलियम पदार्थमा लाग्ने भन्सार दर १० रुपैयाँले बढाएका थिए ।
पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ २० पैसा भन्सार शुल्कबाट २५ रुपैयाँ २० पैसा, डिजेल र मट्टीतेलमा प्रतिलिटर २र२ रुपैयाँबाट बढाएर १२–१२ रुपैयाँ पु¥याइएको छ । उच्च महसुल र अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण नेपालमा इन्धनको मूल्य बढेको हो ।
भन्सार दर बढेकाले निगमल एक साता अघि पेट्रोलमा प्रतिलिटरमा पाँच र डिजेलमा दुई रुपैयाँ मुल्य बढाएको थियो । बजारमा अहिले पेट्रोल प्रतिटिलर एक सय १ र डिजेल प्रतिलिटर ८७ रहेको छ ।