कारोबार संवाददाता
शुक्रवार, असार २६, २०७७
894

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले सबैलाई बचाउन सक्दो प्रयास गर्ने गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । मौद्रिक नीतिका लागि सुझाव संकलन गर्ने क्रममा गभर्नर अधिकारीले सबै सुरक्षित भएर बैंकिङ प्रणालीलाई पनि बचाउनुपर्ने बताएका छन् । कार्यक्रममा गभर्नरले अवस्था जटिल भएको हुनाले चालू आर्थिक वर्षको असार मसान्तसम्ममा सक्नेलाई कर्जा तिर्न आग्रह गर्दै नसक्नेका लागि मौद्रिक नीतिले समय दिने बताए । कोरोनाका कारण सबै क्षेत्र प्रभावित भएको उल्लेख गर्दै उनले सबै उद्योगी व्यवसायीलाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताए ।
मौद्रिक नीतिले कर्जाको पुरर्संरचना तथा पुनर्तालिकीकरण गर्ने व्यवस्था गर्ने समेत उनले बताए । “पुनर्संरचना र पुनर्तालिकीकरण सबै गर्न मिल्ने व्यवस्था दिँदै मौद्रिक नीति आउँछ,” उनले भने, “कार्यक्रममा प्रतिनिधित्व गर्ने उद्योगी व्यवसायीभन्दा पछाडि रहेका कोरोना प्रभावितलाई बढी ध्यान दिनु पर्ने अवस्था छ ।”

कर्जाको ऋण तथा ब्याज भुक्तानीको समस्याले तनाव नलिन समेत उद्योगी व्यवसायीहरूलाई आग्रह गर्दै उनले असारपछि तिरिने कर्जालाई समय दिएर असारअघिकै रुपमा मिलान गरउने व्यवस्था पनि हुने उनको भनाइ छ । प्राविधिक कारणले मौद्रिक नीति आउन साउनको पहिलो सातासम्मको समय लाग्ने भएको हो । अहिलेको अवस्थामा आर्थिक गतिविधि बढेको समेत उनले बताए । अर्थतन्त्रमा सुधारका संकेतहरू आइसकेको समेत उनको बुझाई छ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत छुट तथा सहुलियत दिने निर्णय बैंकहरूलाई नै छोड्नु पर्ने व्यवस्था गर्न बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । कोरोना कारण अर्थतन्त्रनै अस्त व्यवस्त रहेको अवस्थामा बैकिङ क्षेत्र पनिप्रभावीतभएको उनको तर्क छ । कुन ऋणीलाई कति छुट तथा सहुलियत दिने भन्ने निर्णयको अधिकार बैंकलाई नै दिनुपर्ने दाहालले बताए । आफूहरूले ऋणीलाई राम्रो संग चिन्ने भएकाले पनिनिर्णय गर्ने जिम्मा सम्बन्धीत संस्थालाई दिनु पर्ने उनको तर्क छ ।