नीरज पिठाकोटे
मंगलबार, असार २३, २०७७
610

वीरगन्ज- नेपालकै प्रमुख प्रवेशद्वार वीरगन्ज रक्सौल अहिले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बन्द छ । वीरगन्ज रक्सौल नाका बन्द हुँदा वीरगन्जको व्यापारमा भने सुधार आएको छ । सीमा क्षेत्रमा रहेको वीरगन्जको व्यापारलाई काठमाडौंले सधैं शंकाको दृष्टिले हेर्ने गरेपनि यहाँका व्यापारीहरुले भने सीमा नाका बन्द हुँदा अवैध व्यापार रोकिएपछि वीरगन्जको वैध व्यापारमा सुधार आएको बताएका छन् ।
भारतीय सीमावर्ती बजार रक्सौलमा सस्तोमा सामान पाइने भएपछि अधिकांश नेपाली उपभोक्ताहरु भरतीय बजार रक्सौलमा सामान खरिद गर्न जाने गरेका थिए । खुला सीमाका कारणले विभिन्न नाकाबाट चोरी पैठारी पनि उत्तिकै हुने गरेको र त्यहँबाट ल्याइने अवैध सामानका कारणले नेपाली सीमावर्ती बजार वीरगन्जको व्यापार प्रभावित हुने गरेको थियो । तर, अहिले कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनले वीरगन्ज रक्सौल सीमा नाका बन्द भएकाले आवतजावत पनि बन्द भएपछि वीरगन्जको व्यापार बढेको व्यावसायीहरुले बताएका छन् ।

सीमा नाका खुला भएको अवस्थामा भन्दा अहिले बन्द रहेको अवस्थामा वीरगन्जको व्यापार राम्रो भएको व्यापारीहरुको भनाई छ । खुला सीमाबाट हुने गरेको अवैध व्यापारका कारणले वीरगन्जको व्यापार निराशाजनक रहेकोमा अहिले सीमा बन्द भएपछि तस्करी पनि रोकिएको र वीरगन्जको व्यापारमा पनि सुधार देखिएको वीरगन्जका व्यवसायी मुर्ली जालानले बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया भने सीमा नाका बन्द हुँदा वीरगन्जलाई खासै फरक नपरेको बताउँछन् । रक्सौलमा खाद्यान्न सस्तो पाइने भएकाले अहिले रक्सौल जान नपाएका वीरगन्जमै खाद्यान्न खरिद गर्ने भएपछि खाद्यान्नको बिक्री बढेपनि अन्य वस्तुहरुको बिक्रीमा खासै फरक नपरेको बताए ।
उनले भने, “लकडाउन खुकुलो भएको केही दिन बजारमा राम्रै व्यापार भयो । तर, अहिलेको आवश्यकता भनेको खाद्यान्नबाहेक अन्य वस्तु खासै किन्ने गरेका छैनन् । त्यसैले खाद्यान्नको व्यापार राम्रो भएपनि अन्य वस्तुहरुको व्यापारमा भने खासै भिन्नता छैन ।” सीमावर्ती भारतीय बजार रक्सौल जान बन्द भएपछि वीरगन्ज मोबाइलको व्यापार भने केही मात्रामा सुधार आएको छ । नेपालमा भन्दा रक्सौलमा मोबाइलहरु सस्तो पाउने हुँदा धेरै ग्राहक मोबाईल किन्न रक्सौलन जाने गरेका थिए । तर, अहिले नाका बन्द भएपछि भने नेपालमै मोबाइल किन्ने गरेका छन् ।
मोबाइलको व्यापार पहिलेको भन्दा अहिले अलिकति राम्रो भएको शुभम मोबाइलका सञ्चालक प्रकाशकुमार गुप्ताले बताए । उनले भने, “मोबाइल किन्नेहरु अहिले रक्सौल जान पाएका छैनन् । त्यसैले अलिकति व्यापार राम्रो भएको छ । तर, ग्राहकले खोजे जस्तो मोबाइल ल्याउन भने पाइएको छैन ।
सामान पाएपछि न बिक्री गर्ने हो । सामानै भएन भने के व्यापार हुन्छ र ?” लकडाउनले नाका बन्द भएपछि नेपाली ग्राहक रक्सौल जान नपाएपछि भारतीय बजारमा भने मन्दी छाएको छ । भारतीय सीमावर्ती बजार रक्सौलमा अहिले ९० प्रतिशत व्यापार कम भएको रक्सौलका व्यवसायीले बताएका छन् । रक्सौल बजारमा ९० प्रतिशत ग्राहक नेपालकै रहेका छन् ।
नेपालमा जारी लकडाउनका कारणले रक्सौलको व्यापार प्रभावित भएको छ । रक्सौलको व्यापारीहरुले कर्मचारीलाई तलब र घरभाडा समेत दिन समस्या भएको बताएका छन् । नेपालबाट गरम मसाला, चीनमा उत्पादित वस्तुहरु वीरगन्जबाट पनि जाने गरेको छ ।