कारोबार संवाददाता
सोमवार, असार २२, २०७७
735

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि १२ जनाले दरखास्त दिएका छन् । बोर्डका सिईओ महाप्रसाद अधिकारी कार्यकाल बाँकी रहँदै नेपाल राष्ट्र बैंकको गभर्नर बनेपछि खाली रहेको बोर्डको सीईओको लागि १२ जनाले दरखास्त दिएका हुन् ।
असार ५ गते दरखास्त आह्वान गरेकोमा शुक्रबारसम्म अन्तिम आवेदनको समय थियो । छनोटका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र पूर्व सदस्य डा. गोविन्द नेपाल सदस्य गठन गरेको छ ।

आवेदन दिनेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रदेश–१ लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइराला, विद्युत् नियमन आयोगबाट राजीनामा दिएका र पहिला बोर्डमै परामर्शदाता रहेका रामकृष्ण खतिवडा, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, विशेष औद्योगिक क्षेत्र (सेज) का पूर्वकार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट र त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. रमेश पौडेल छन् ।
त्यसैगरी राष्ट्रिय योजना आयोगमा सदस्य सुशील भट्ट, सरकारका पूर्वसहसचिव लक्ष्मीविलास कोइराला, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, बैंकर तथा माछापुच्छ्रे बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, बोर्डमै परामर्शदाताको रूपमा काम गरेका आशिस गजुरेल र शेरजंग कार्की लगायत छन् । आवेदन दिएका अधिकांश विगतमा सरकारी निकायमा रहेर काम गरेको व्यक्ति छन् । आवेदन दिएकामध्ये शुशील ज्ञवाली पुर्ननिर्माण प्राधिकरणको नेतृत्व गरिरहेका व्यक्ति हुन् भने कोइराला प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) विद्यावारिधी गरेका व्यक्ति समेत हुन् ।