केशव समर्पण
आइतवार, असार २१, २०७७
509

हेटौंडा-बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेट बहुमतले पारित भएको छ । विपक्षी दलको असहमतिकै बीच नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुको बहुमतले शुक्रबारको प्रदेशसभाबाट बजेट पारित भएकोे हो ।
बजेटमाथि चित्त नबुझेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहितका दलहरुले बजेटको विपक्षमा मत दिएका थिए । समयमै रातो किताब उपलब्ध नगराएको, बजेट वितरणमुखी मात्रै भएको, धेरै त्रुटीसमेत रहेको भन्दै विपक्षी दलले बजेटको विरोध गरेका थिए । दुई दिनसम्म चलेको बजेटमाथिको छलफलमा विपक्षी काँग्रेससहितका सत्तापक्षका सांसदहरुले समेत बजेटमाथि आलोचना गरेका थिए ।
बैठकमा विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा र आन्तरिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जवाफ दिएका थिए । बैठकमा विभिन्न दलका सांसदहरुले दर्ता गराएका खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट पेश गरेको थियो । जुन चालू आर्थिक वर्षकोभन्दा तीन अर्ब ८१ करोड ६९ लाख आठ हजार रुपैयाँ बढी हो । आन्तरिक आम्दानीको स्रोतसमेत बढेर करिब २० अर्ब पुग्ने अनुमान बजेटमा गरिएको छ ।
यसैबीच बागमती प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक–२०७७ पनि शुक्रबार नै बहुमतले पारित भएको छ । नेपाली कांग्रेससहित प्रतिपक्षी दलले विपक्षमा मत दिएका थिए । तर, नेकपा एक्लैको बहुमत रहेका कारण विपक्षीको मत निर्णायक हुन सकेछ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पेश गरेको विधेयकमाथि विभिन्न सांसदहरुले धारणा राखेका थिए । छलफलका क्रममा सांसदहरुले मोटरसाइकलमा सवारीमा कर बढाइएको, स्वरोजगार सिर्जना गरेका तीन पांग्रे सवारीमा कर बढाइएको भन्दै विधेयकको विरोध गरेका थिए ।
कृषिमा आयकरको व्यवस्थाले कृषि क्षेत्रमा समस्या पर्ने तथा कोरोनाका
कारण अर्थतन्त्र धरासायी भएको अवस्थामा छुटको व्यवस्था नहुँदा कर संकलन हुन नसक्ने विपक्षीको तर्क थियो ।

अप्ठेरोमा मुख्यमन्त्री
आगामी आर्थिक वर्षको बजेट बहुमतबाट पारित गरिए पनि नेकपाभित्र बजेटकै विषयमा भएको असन्तुष्टि भने कायमै रहेको छ । उक्त कुरा नेकपाको प्रदेश संसदीय दलको बैठकमा पोखिएको छ । आगामी वर्षको बजेट मन्त्रीमुखी मात्रै भएको र चालू वर्षको बजेटसमेत कार्यान्वयन गर्न नसकेको भन्दै नेकपाका सांसदहरुले मुख्यमन्त्रीको राजीनामा माग्न थालेका छन् ।
हेटौंडाको होटल एभोकाडोमा ४ दिनसम्म चलेको नेकपाका प्रदेश संसदीय दलको बैठकमा अधिकांश सांसदहरुले मुख्यमन्त्रीको राजीनामा मागेपछि मुख्यमन्त्री अप्ठेरोमा परेका छन् । सरकारको कार्य सञ्चालन प्रभावकारी नभएको र जनताको अपेक्षा पूरा नभएको भन्दै मुख्यमन्त्रीले काम गर्न नसकेको आरोप लगाए ।
सरकारको क्रियाकलाप विश्लेषण गर्दा मुख्यमन्त्रीले सरकारको नेतृत्व गर्ने नैतिक धरातल गुमाएको एक सांसदले बताए । उनले आफूहरुले मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न बैठकमा सुझाव दिएको बताए । पार्टीको घोषणापत्र अनुसार समाजवाद उन्मुख बजेट निर्माणमा सरकार असफल भएको भन्दै नेकपाका सांसद पशुपति चौलागाइँले मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरुले बजेटमा छुटेका विषयलाई समेटेर लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए ।