कारोबार संवाददाता
शुक्रवार, असार १९, २०७७
725

 नवलपरासी(बर्दघाट सुस्तापूर्व) को गैंडाकोट नगरपालिकाले समृद्ध नगर निर्माणका लागि १३ प्रमुख आधार अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख छत्रराज पौडेलले गरिबीमुक्त गैंडाकोटसहित आधार अघि सारेका हुन् ।
नगरप्रमुख पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोनाको जोखिम र यसबाट सिर्जित स्वास्थ्य समस्या न्यूनीकरण गर्नु पहिलो उद्देश्य भएको बताइएको छ । त्यस्तै कालीगण्डकी करिडोर, बिपी अन्तरराष्ट्रिय खेलग्राम, मनमोहन रङ्गशाला, स्मार्ट गैँडाकोट, शैक्षिक हब, निजी क्षेत्रको लगानीमा मौलाकालिका केबुलकार निर्माणलगायत प्रमुख आधार अघि सारिएको छ ।

गैंडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि ७१ करोड ३२ लाख ४९७ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७-०७८ का लागि प्रस्तुत गरिएको बजेट चालू आर्थिक वर्ष २०७६-०७७ भन्दा ६ करोड ६३ लाख २७ हजार बढी छ । नगर उपप्रमुख विष्णुकुमारी कँडेलले आगामी वर्षका लागि आयतर्फको आन्तरिक स्रोतमा नौ करोड ४० लाख ५० हजार तथा संघ र प्रदेशबाट अनुदान ६१ करोड ९१ लाख ५० हजार ४९७ प्राप्त हुने बताइन् ।
आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि चालू खर्चतर्फ ११ करोड ६५ बजेट विनियोन गरिएको कँडेलले बताइन् । त्यस्तै गैंडाकोट नगरपालिका वडानम्वर ३, १४ र १८ का लागि प्रतिवडा ८० लाखका दरले दुई करोड ४० लाख रुपैयाँ तथा बाँकी १५ वटा वडाका लागि प्रतिवडा ७० लाखका दरले १० करोड ५० लाख गरी कुल १२ करोड ९० लाख बजेट विनियोजन गरिएको छ ।