मुकेश चौधरी
मंगलबार, असार १६, २०७७
595

धनगढी-धान दिवससम्म मल अभाव भएपनि सुदूरपश्चिम प्रदेशमा कुल खेतीयोग्य जमिनको ५० प्रतिशतमा रोपाइँ भएको छ ।
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशभर एक लाख ८१ हजार छ सय चार हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा ९० हजार नौं हेक्टरमा रोपाइँ भइसकेको जनाइएको हो । मन्त्रालयका अनुसार सबैभन्दा बढी रोपाइँ अछाममा भएको छ भने सबैभन्दा कम डोटी जिल्लामा भएको जनाइएको छ ।
अछाममा १६ हजार पाँच सय ८० हेक्टरमा धान रोपाइँ गरिँदै आएकोमा १० हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने डोटीमा १० हजार आठ सय ९८ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा चार हजार हेक्टरमा रोपाइँ भएको छ । धानबालीको अन्न भण्डार मानिएको कैलालीमा अहिलेसम्म ४८ प्रतिशत र कञ्चनपुरमा ५४ प्रतिशतमा धान रोपाइँ भएको जनाइएको छ । कैलालीमा ७१ हजार सात सय १५ हेक्टरमा धान रोपाइ हुँदै आएकोमा ३५ हजार हेक्टरमा रोपाइँ भएको छ भने कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टरमा धान खेती हुँदै आएकोमा २६ हजार हेक्टरमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
यसवर्ष मनसुन चाँडै भित्रिएका कारण रोपाई पनि चाँडो सुरु भएकोले धान उत्पादनमा वृद्धि हुने प्रदेश कृषि निर्देशनालयले जनाएको छ । धान खेतीलाई कुनै असर नपरेमा विगतका वर्षभन्दा यसवर्ष उत्पादन बढ्ने निर्देशक यज्ञराज जोशीले बताए । “यसवर्ष समयमै रोपाइँ सकिन्छ”, उनले भने, “यसले उत्पादन बढ्छ । अघिल्लो वर्षभन्दा पहिले नै धेरै रोपाइँ भइसकेको छ । यो कृषि क्षेत्रका लागि सकारात्मक हो । यसले उत्पादनमा वृद्धि गराउन मदत मिल्छ ।”
सुदूरपश्चिम प्रदेशमा रोपाइँ आधा सकिँदा पनि किसानहरुले रासायनिक मल अभाव झेलिरहनु परेको छ । प्रदेश कृषि निर्देशक जोशीका अझै पनि अधिकांश किसानहरुले रासायनिक मल पाउन नसकेका छैनन् । उनले किसानहरुले मल विना नै रोपाइँ गरिरहेको जनाए ।
कैलारी गाउँपालिकाका किसान प्रेम चौधरीले रासायनिक मल प्रयोग गरेको खेतमा यसवर्ष मल बिना नै रोपाइँ गरेको गुनासो गरे । मल खोज्न धेरै ठाउँ धाएपनि मल नपाएको उनले बताए । उनले खेती लगाउने समयमै मल नपाएपछि यस वर्ष उब्जनी घट्ने चिन्ता व्यक्त गरे ।
प्रदेशमा मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडले मलको अभाव नभएको दावी गर्दै आएको छ । सुदूरपश्चिममा डिएपी सात हजार ५० मेट्रिक टन, युरिया आठ हजार मेट्रिक टन र पोटास दुई सय ७५ मेट्रिक टन क्षमता रहेको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीले जनाएको छ ।
लक्ष्य भन्दा केही बढी मल आएपनि ८० प्रतिशत किसानले डिएपी मल पाइसकेको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख नवलसिंह बोगटीको दावी छ । उनले डिएपी छ हजार एक सय तीन, युरिया १० हजार चार सय ५५ मेट्रिक टन र पोटास दुई सय ४६ मेट्रिक आयात भएको जनाए । यसैगरी, प्रदेशमा हालसम्म एक लाख ६९ हजार सात सय ८५ हेक्टरमा सिँचाइ सुविधा पुगेकोले किसानहरुले कृषियोग्य जमीनबाट मनग्य आम्दानी लिन सकेका छैनन् ।
कृषि निर्देशक जोशीले प्रदेशमा अझै धान खेती व्यवसायीक बन्न नसकेको बताए । “प्रदेशका कृषकहरु अहिले पनि परम्परागत शैलीमै धान खेती गर्दै आएका छन्,” उनले भने, “यसलाई व्यवसायीक बनाउन मन्त्रालयले थप कार्यक्रम ल्याउन आवश्यक छ ।” उनले वर्षा भएपछि मात्र किसानहरुले धान रोप्ने तर, रोपीसकेपछि वर्षा नभए उत्पादनमा ह्रास आउने गरेको बताए ।

कोभिड–१९ ले धान दिवसको रौनकता हरायो
कोभिड–१९ का कारण यसपटक औपचारिक रुपमा धान दिवस नमनाइएपछि धान दिवसको रौनकता हराएको छ । विभिन्न ठाउँमा रोपाइँ कार्यक्रम आयोजना गरी मनाइँदै आएको धान दिवसमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी लगायत जनप्रतिनिधिहरुले शुभकामना विज्ञप्ति मार्फत् दिएका छन् । गाउँघरमा भने दही चिउरा खाँदै घरघरैका व्यक्तिहरुले मनाएका छन् ।