कारोबार संवाददाता
मंगलबार, असार १६, २०७७
675

धनगढी-गत वर्षको तुलना चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा चामल आयात आधा घटेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५-०७६ मा २५ हजार एक सय २१ मेट्रिक टन चामल आयात भएकोमा यसवर्ष हालसम्म ११ हजार तीन सय १७ मेट्रिक टन चामल आयात भएको हो । मन्त्रालयले गत वर्ष एक अर्ब २८ करोड ५५ लाख ५७ हजार तीन सय ३९ रुपयाँ र यस वर्ष ६१ करोड रुपैयाँको चामल आयात भएको जनाएको छ
मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले मन्त्रालयको कार्यक्रमका कारण चामल आयातमा कमी आएको दावी गरेका हुन् । उनले मन्त्रालयले गरेको चैते धान खेती विस्तार, मसिनो तथा बास्नादारी धान खेती कार्यक्रम, सिँचाइ सेवाको विस्तार लगायतका कारण चामल आयातमा कमी आएको बताए ।

प्रवक्ता शर्माले यस वर्ष सरकारले जारी गरेको लकडाउनले पनि चामल आयातमा प्रभाव परेको बताए । उनले सरकारले गरेको लकडाउनले चामल ढुवानी हुन नसकेर पनि चामल आयातमा कमी आएको हुन सक्ने बताए ।
सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष धान उत्पादनमा वृद्धि हुँदै गएको पनि मन्त्रालयले दावी गरेको छ । मन्त्रालयका प्रवक्ता शर्माले देशभरीनै धान उत्पादनमा कमी आएपनि सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि भएको बताए ।
उनका अनुसार आर्थिक वर्ष २०७५-०७६ मा प्रदेशमा छ लाख पाँच हजार मेट्रिक टन धान उत्पादन भएको थियो । चालू आर्थिक वर्ष २०७६-७७ मा ६.७ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । उनले यस वर्षमा छ लाख ४६ हजार मेट्रिक टन धान उत्पादन भएको जनाए ।
मन्त्रालय मातहातको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले संघीयता लागू भएसँगै प्रदेशमा कृषि क्षेत्रमा फड्को मारेको दावी गर्छन् । “संघीयता अघि कृषिमा बजेट पनि अपुग थियो,” उनले भने, “अहिले किसानका लागि प्रदेश र स्थानीय तहबाट कृषि सामग्री, बीउ लगायतको सहयोग पुगेको छ । प्रदेश सरकार र अधिकांश स्थानीय तहले कृषि केन्द्रित बजेट ल्याएका छन् । यसले किसानलाई उत्पादन बढाउन पहिलेको भन्दा धेरै सहयोग पुगेको छ ।”