लक्ष्मी सापकोटा
मंगलबार, असार १६, २०७७
929

फलफूलको राजा भनिने आँप काठमाडौं उपत्यकामा मात्र दैनिक ८० लाख रुपैयाँ हाराहारीमा कारोबार हुने गरेको पाइएको छ । यो आँपको थोक मूल्यबराबरको कारोबार हो । विगतका वर्षको तुलनामा यस वर्ष स्वदेशी आँपको खपत बढ्न थालेको व्यवसायीको भनाइ छ ।
लकडाउन खुकुलो भएसँगै बजारमा तराईबाट दैनिकजसो दुई सयदेखि तीन सय टनसम्म आँप भित्रिने गरेको छ । आँपको सिजन सुरु भएकाले बजारमा खपत पनि बढ्न थालेको हो । अहिले स्वदेशी आँपले बजार माग धान्ने गरेको छ । कुलेश्वर स्थित फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले सिजन सुरु भएकाले दैनिकजसो ७० देखि ८० लाख रुपैयाँको आँपको कारोबार हुने गरेको बताए । आँपको सिजन भएकाले पनि अहिले बजारमा माग धेरै रहेको उल्लेख गर्दै उनले भने, “स्वदेशी आँप उच्च गुणस्तर र स्वादिलो भएकाले पनि खपत बढेको छ ।” अहिले स्वदेशी आँपमात्र बजारमा भित्रिएको उनले जानकारी दिए ।

वार्षिक रुपमा ४० देखि ४२ करोडको आँप कारोबार हुने गरेको उनको भनाइ छ । स्वदेशी आँप सकिएपछि भारतबाट आँप आयात हुने गर्छ । स्वदेशी उत्पादनले माग धान्न नसकेपछि ठूलो परिणाममा छिमेकी मुलुक भारतबाट आँप भित्रिने गरेको छ । सिजनको समयमा ८० करोड रुपैयाँ बराबरको आँप भित्रिने गरेको व्यवसायीको भनाई छ ।
बजारमा आपँको खपत धेरै भएकाले मालदह आँपको मूल्य अहिले प्रतिकेजी ६० देखि ७० रुपैयाँमा बिक्री भइरहेको व्यवसायीको भनाइ छ । तर, खुद्रा मूल्य भनेर ८० देखि एक सय रुपैयाँसम्म रहेको छ । भारतमा स्वदेशी आँपको माग भएकाले यसलाई बजारीकरण गर्नुपर्ने व्यवसायीको भनाइ छ । भारतबाट ठूलो परिमाणमा आँप भित्रिए पनि स्वदेशी आँप बाहिर जान सकेको छैन । भारतीय बजार खुला हुने हो भने स्वदेशी उत्पादनले मूल्य बढी पाउने व्यवसायीको भनाई छ । केही समयअघि भारतबाट पहेलो आँप भित्रिएको थियो ।
स्वदेशी आँप बजारमा आएकाले अहिले भारतीय आँप आउन सकेको छैन । आँपको सिजन भएकाले पनि अहिले सडक पेटी देखि पसल सम्म आँपकै कारोबार बढी रहेको छ ।
कुलेश्वरस्थित फलफूल बजारमा सिरहा, सप्तरी र धनुषा लगायतका जिल्लाबाट आँप आउने गरेको छ । फलफूल बजारमा यति बेला चिनियाँ स्याउको बिक्री पनि निकै बढेको छ । केराको भने बिक्री घटेपछि दैनिक ४ ट्रक उपत्यकामा भित्रिन थालेको अध्यक्ष बानियाँले जानकारी दिए । यतिबेला भारतबाट मेवा, खरबुजा र मौसममात्र आयात भइरहेको छ । यहीँ उत्पादन भएको आँप र लिचीले बजारको माग धान्ने भएकाले भारतबाट यसपटक आँप आयात नगरेको बानियाँले बताए ।