सुब्बा कार्की
आइतवार, असार १४, २०७७
574

रौतहटको १८ स्थानीय तहमध्ये १० वटा स्थानीय तहले आर्थिक वर्ष ०७७-७८ को बजेट पारित गरेको छ । स्थानीय सरकार सञ्चालन, ऐनअनुसार असार १० गतेभित्र आगामी आवको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरी पारित गरिसक्नुपर्ने प्रावधानअनुसार चन्द्रपुर, मौलापुर, दुर्गा भगवती, वृन्दावन, गढीमाई, माधवनारायण, राजपुर, गौर, परोहा, यमुनामाईसहित १० वटा स्थानीय तहले बजेट प्रस्तुत गरी पास गरेका छन् ।
रौतहटको सबैभन्दा ठूलो चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीको अध्यक्षतामा भएको चौथो नगर सभाले आव ०७७-७८ का लागि कुल १ अर्ब १५ करोड ८६ लाख रुपैयाँ विनिययोजन गरेको छ । नगर सभामा नगरपालिकाकी उपप्रमुख रामरती चौधरीले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी थिइन् । यसैगरी गढीमाई नगरपालिकाको चौथो अधिवेशनले ५० करोड ७० लाख ७७ हजारकोे अनुमानित बजेट प्रस्तुत गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिए । वित्तीय समानीकरण तथा सशर्त अनुदान गरी केन्द्रबाट प्राप्त हुने वार्षिक बजेट २९ करोड, आन्तिरिक आय, प्रदेश सरकारबाट प्राप्त हुने रकम गरी उक्त बजेट प्रस्तुत गरएको बताउँदै निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले सामाजिक सुरक्षासहितको वार्षिक बजेट एवं नीति तथा कार्यक्रम पालिकाको प्रमुख श्यामप्रसाद यादवले प्रस्तुत गरेका थिए । यसैगरी दुर्गा भगवती गाउँपालिकाको कार्यालयमा सञ्चालन भएको चौथो गाउँ अधिवेशनलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अरुणकुमार साहले वर्तमान अवस्थामा कोभिड–१९ बाट अतिप्रभावित भई पालिकाको बासिन्दाले दुःख कष्ट भोगिरहँदा तिनीहरूको उत्थानका लागि आकर्षक योजना समेटिएको नीति तथा कार्यक्रममा समावेश गरिएको बताए ।

४८ बुदे नीति तथा कार्यक्रमअनुसार ०७७-७८ को अनुमानित ३२ करोड ५९ लाखको बजेट प्रस्तुत गरेका थिए । त्यसमा सामाजिक सुरक्षाबाहेकको रकम समेटिएको छ । चालूतर्फ ५ करोड ६० लाख ८५ हजार पुँजीगतको सामाजिक विकास क्षेत्रअन्तर्गत शिक्षा, खानेपानी तथा सरसफाइ संस्कृति प्रवद्र्धन, खेलकुद तथा मनोरञ्जन, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ३ करोड १० लाख ७४ हजार तथा आर्थिक विका क्षेत्र (कृषि, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारी, वित्तीय क्षेत्रमा १ करोड ८० लाख रकम विनियोजन गरिएको गापा अध्यक्ष साहले जानकारी दिए ।
यता मौलापुर नगरपालिकाले आव ०७७-७८ का लागि ३५ करोड २८ लाख २३ हजार ५ सय ९० रुपैयाँको बजेट ल्याएको छ । कोरोनासँग लड्दै नगर विकासको गति अगाडि बढाउने लक्ष्यसहित नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख रीनाकुमारी साहको अध्यक्षता र पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यतामा, बुधबार मौलापुर बजारमा भएको चौथो नगरसभामा प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । यस्तै माधवनारायण नगरपालिकाले पनि आफ्नो चौथो नगरसभा सम्पन्न गरेको छ । नगरप्रमुख वीरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न नगरसभाले आर्थिक वर्ष ०७७-७८ का लागि ६१ करोड ६० लाख ८६ हजार ६ सय ६० रुपैयाँ विनियोजन गरेको सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थले जानकारी दिए । कृषि बिमा योजनादेखि लिएर विभिन्न नयाँ योजना बजेटले समेटेको उनले दाबी गरे ।
रौतहट सदरमुकाम गौर नगरपालिकाको पनि नगरसभा सम्पन्न भएको छ । नगर प्रमुख अजय गुप्ताको अध्यक्षतामा बसेको नगरसभाले आर्थिक वर्ष ०७७-७८ का लागि ४४ करोड ४६ लाखभन्दा बढीको बजेट प्रस्ताव गरेको सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले जानकारी दिएका छन् । नगरको दिगो विकाशका योजना बजेटमा समेटिएको उनले जानकारी दिए । रौतहटकै राजदेवी, इशनाथ, बौधीमाई, देवाही गोनाही, कटहरिया, गरुडा, फतुवा विजयपुर नगरपालिकाले आन्तरिक विवादका कारण वार्षिक अधिवेशन प्रस्तुत गर्न सकेका छैनन् ।