महेन्द्र सापकोटा
शुक्रवार, असार १२, २०७७
541

दैलेखका स्थानीय तहले आगामी आव ०७७-७८ का लागि बजेट सार्वजनिक गरेका छन् । असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि कोरोनाका कारण ११ दैलेखका अधिकांश स्थानीय तहले बजेट सार्वजनिक गरेका हुन् ।
स्थानीय तहले केन्द्रीय सरकारले दिएको वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान, विशेष अनुदान र राजस्व बाँडफाँडबाट आएको आर्थिक सहयोग तथा आफ्नै राजस्वको अनुमानको आधारमा बजेट प्रस्तुत गरेका छन् । दैलेखको महाबु गाउँपालिकाले ३७ करोड ४५ लाख बढीको बजेट सार्वजनिक गरेको छ । महाबु गाउँपालिकाले ल्याएको बजेटमा कोरोना भाइरस, महाबु अस्पताल, स्वास्थ्य, रोजगार, सडक, कृषि र पशुमा आधारित कार्यक्रमलाई विशेष प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले वताए ।

दुल्लु नगरपालिकाले ८० करोडभन्दा बढीको बजेट ल्याएको छ । नगरपालिकाले ल्याएको बजेटमा स्वास्थ्य, शिक्षा, रोजगार, कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिएको नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले बताए । यस्तै गुराँस गाउँपालिकाले ४४ करोड २० लाख बढीको बजेट सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिएका छन् । उनले वुधबार ल्याएको बजेटमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि र युवा रोजगार तथा स्वरोजगारलाई विषेश प्राथमिकतामा राखेको बताए ।
दैलेखको नारायण नगरपालिकाले ४९ करोड २० लाख बढीको बजेट ल्याएको छ । नगरपालिकाका उपप्रमुख सावित्री मल्लले सार्वजनिक गरेको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, रोजगार, पर्यटन, पूर्वाधार विकासमा जोड दिइएको छ । भगवतीमाई गाउँपालिकाले ५३ करोड २८ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले ल्याएको बजेटमा स्वास्थ्य, कृषि, स्वरोजगार र पूर्वाधार विकासमा जोड दिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिएका छन् ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले ४९ करोड बढीको बजेट ल्याएको छ । नगरपालिकाले ल्याएको बजेटमा जनता रोजगार कार्यक्रम, एक टोल एक मैदान, एक वडा एक आयमूलक जंगल, कृषि र आय आर्जन, शिक्षा, खानेपानी, विद्युत् र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । नगरसभामा चामुण्डाविन्द्रासैनी नगरपालिकालका उप–प्रमुख ताराकुमारी शाही खत्रीले आगामी आव ०७७-७८ का लागि नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गर्दे आव ०७७-७८ मा नगरवासीको रोजगार सिर्जना गर्न नगरपालिका जनता रोजगार कार्यक्रम लागु गरिने बताइन् ।
उता आठबिस नगरपालिकाले ४६ करोड ४० लाख बढीको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले ल्याएको बजेटमा पनि स्वास्थ्य, शिक्षा, रोजगार र पूर्वाधार विकासमा विशेष प्राथमिकतामा राखेको छ ।
यस्तै दैलेखको ठाँटिकाँध र डुंगेश्वर गाउँपालिकाले नीति तथा कार्यक्रममात्र सार्वजनिक गरेका छन् । प्राविधिक कारणवस बजेट सार्वजनिक गर्न नसकिएको भन्दै यही असार २० गतेभित्र बजेट सार्वजनिक गर्ने बताएका छन् । भैरवी गाउँपालिकाले बुधबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न नसकेको जनाएको छ । नौमूले गाउँपालिकाले असार १५ गते नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरले जानकारी दिए ।

आय आर्जनमूखी बजेटमा जोड
प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले आगामी आर्थिक वर्षको बजेटमा आय–आर्जनमूखी अर्थात् कृषिमा प्राथमिकता दिन सुझाव दिएका छन् । चामुण्डाविन्द्रासैनी नगरपालिकाको नगरसभाको उद्घाटन कार्यक्रममा वोल्दै प्रतिनिधिसभा सदस्य बुढाले समृद्धि नेपाल बनाउनका लागि संघीय सरकार र प्रदेश सरकारले कृषिलाई पहिलो प्राथमिकता दिएको र स्थानीय तहले पनि कृषिलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन् । “अब सडक मात्र निर्माण गरेर हुँदैन, कृषि उत्पादनलाई वृद्धि गरी जनताको आय आर्जनतर्फ पनि ध्यान दिउँ,” बुढाले भने, “हाल कृषि क्षेत्रमा उत्पादन नहँुदा सडकले धुलोमात्र दिन्छ, पैसा दिँदैन, सडक खन्ने डोजरले सबै पैसा उल्टै विदेशमै लैजान्छ ।”