मनोरञ्जन शर्मा
शुक्रवार, असार १२, २०७७
541

४ स्थानीय तहले ल्याउन सकेनन बजेट

भैरहवा-रुपन्देही जिल्लाका १६ स्थानीय तह मध्ये १२ वटा स्थानीय तहले आर्थिक वर्ष २०७७-०७८ का लागि ल्याएको बजेटको आकार १० अर्ब १ करोड ९८ लाख रुपैयाँ बराबरको रहेको छ ।
सबैभन्दा ठूलो आकारको बजेट ल्याउनेमा बुटवल उपमहानगरपालिका रहेको छ भने सानो आकारको बजेट ओमसतिया गाउँपालिकाको रहेको छ । बुटवलको बजेटको आकार २ अर्ब १ करोड रुपैयाँ बराबरको छ भने ओमसतियाले ४९ करोड ६८ लाख रुपैयाँको बजेट ल्याएको छ ।
त्यसै गरी तिलोत्तमा नगरपालिकाले १ अर्ब ८९ करोडको बजेट सार्वजनिक गरेको छ भने सिद्धार्थनगर नगरपालिकाले ९५ करोड ९ लाखको बजेट ल्याएको छ । सिद्धार्थनगरको बजेट गत वर्ष भन्दा कम हो । त्यसैगरी सैनामैना नगरपालिकाको बजेट ७० करोड ८३ लाख रहेको छ ।
यता कञ्चन गाउँपालिकाको ७१ करोड रुपैयाँ, रोहिणी गाउँपालिकामा ६३ करोड २० लाख, शुद्धोधन गाउँपालिकाले ५५ करोड ३१ लाख रुपैयाँ, सम्मरीमाइमा ५२ करोड ५६ लाख, मायादेवीमा ५२ करोड ४३ लाख, मर्चवारी गाउँपालिकामा ५० करोड ८८ लाख र सियारीमा ५१ करोडको बजेट रहेको छ ।
सबै स्थानीय तहले कृिष, स्वास्थ्य, भौतिक पूर्वाधार, शिक्षा पर्यटनलाई बजेटमा महत्व दिएका छन् भने रोजगारलाई पनि प्राथमिकता दिँदै बजेट विनियोजन गरेका छन् । उनीहरुले कृषिमा अनुदान , स्वरोजगार तथा रोजगार सिर्जना गर्ने, सीप क्षमता विकास गर्नेजस्ता कार्यक्रम र योजना समेट्दै वैदेशिक रोजगारबाट फर्किएका, रोजगारी गुमाएको श्रम शक्तिलाई आकर्षित गर्ने प्रयास बजेटमार्फत गरेका छन् ।
रूपन्देहीको एकमात्रै उपमहानगर बुटवलले बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, खाद्य सुरक्षा र रोजगारीलाई प्राथमिकतामा राखेको छ । बुटवलको बजेटमा चालूतर्फ ९७ करोड ४३ लाख अर्थात् करिब ४८ प्रतिशत र पुँजीगततर्फ ९९ करोड २० लाख ९६ हजार अर्थात् ४९ प्रतिशत र वित्तीयतर्फ पाँच करोड अर्थात् २.४८ प्रतिशत बराबरको बजेट विनियोजन गरेको छ । बुटवलको यो बजेट गत आर्थिक वर्षको भन्दा झण्डै ११ करोड बढि हो । नगरसभाको सातौं अधिवेशनमा नगर उपप्रमुख गुमादेवी आचार्यले आर्थिक वर्ष २०७७-०७८ का लागि बजेट प्रस्तुत गर्दै कोरोनालगायतका महामारी तथा विपद्को सामना गर्दै, सामाजिक आर्थिक जनजीवनलाई सुरक्षित र सहज बनाउने, स्वास्थ्य शिक्षा र खाद्य सुरक्षालाई जोड दिँदै रोजगारीका अवसर सृजना गरिने बताइन् ।
तिलोत्तमा नगरले बजेटमा सामाजिक सुरक्षाको २५ करोड बाहेक चालूतर्फ ५२ करोड १ लाख अर्थात् ३१.६७ प्रतिशत र पुँजीगत तर्फ १ अर्ब १२ करोड २५ लाख अर्थात् ६८.३३ प्रतिशत रकम खर्च प्रस्ताव गरेको छ । तिलोत्तमाको बजेट आकार चालू आव भन्दा ३५ करोडले बढि हो । तिलोत्तमाले आफ्नो पालिकाको बजेटमा बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रीत गरेको छ । नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले क्रमागत आयोजनाको निर्माण पूरा गर्ने, लगानीको वातावरण सिर्जना गर्ने, कृषि, स्वास्थ्य, शिक्षामा लगानी बढाइ नगरबासीमा परिवर्तनको अनुभूति गराउने विषयलाई बजेटमा प्राथमिकता दिइएको बताउँदै शिक्षामा ३५ करोड ६८ लाख, स्वास्थ्यमा १३ करोड ६० लाख, कृषि, पशुपालन र सिँचाइमा ९ करोड ७६ लाख विनियोजन गरिएको बताइन् ।
उद्योग तथा वाणिज्य क्षेत्रको लागि ६ करोड ७५ लाख, भवन, शहरी विकास र पूर्वाधारका लागि ४४ करोड ५८ लाख, युवा साझेदारी कार्यक्रम तथा खेलकुद मैदान पूर्वाधारका लागि २ करोड २२ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि २ करोड २२ लाख विनियोजन गरिएको बताइन् ।
सिद्धार्थनगर नगरपालिकाले चालूतर्फ कुल बजेटको ५८ प्रतिशत र पुँजीगततर्फ ४२ प्रतिशत बजेट ल्याएको छ । उक्त रकम चालू आर्थिक वर्षको अनुमानित बजेट भन्दा २३ करोड ३७ लाख ९८ हजारले कम छ । बजेटमा आन्तरिक आयका स्रोतहरूबाट १६ करोड, राजस्व बाँडफाँडबाड १३ करोड ७४ लाख ७७ हजार, लागत सहभागिताबाट २० लाख, संघीय र प्रदेश सरकार, दातृ निकायबाट ५८ करोड ६ लाख १५ हजार र अन्य स्रोतबाट परिचालन गरिने उपप्रमुख उमा काफलेले बताइन् ।
सैनामैनाको बजेटले चालू खर्चमा तलब, भत्ता तथा अन्य सुविधा, कार्यालय सञ्चालनलगायत प्रशासनिक खर्च र अन्य व्यवस्थापन समेतका लागि ४५ करोड ९४ लाख ८७ हजार ५ सय ४६ विनियोजन भएको छ भने पुँजीगत खर्चतर्फ कुल २४ करोड ८४ लाख ७ हजार विनियोजन गरेको छ ।
कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले चालूतर्फ १२ करोड १७ लाख ७३ हजार र पुँजीगत तर्फ २३ करोड ८० लाख विनियोजन गरिएको बताए । यो बजेटमा प्राथमिकता कृषि, पशु र शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । कृषिमा सबैभन्दा धेरै करिब ४ करोड विनियोजन गरिएको छ ।
रोहिणी गाउँपालिकाले पालिकाले बजेटमा कृषि, रोजगारमूलक कार्यक्रम, शिक्षा, स्वास्थ्य लगायतका विषयलाई प्राथमिकताका साथ राखेको अध्यक्ष सनोजकुमार यादवले बताए । यो बजेट चालू आवको तुलनामा १० करोड बढी हो ।
शुद्धोधन गाउँपालिकाले ५५ करोड ३१ लाख रुपैयाँ बराबरको बजेटमा कृषि र पर्यटनलाई मुख्य प्राथमिकता दिएको छ । त्यसपछि स्वास्थ्य, भौतिक पूर्वाधार, शिक्षा, रोजगार प्राथमिकतामा रहेका छन् ।
सम्मरीमाई गाउँपालिकाले ५२ करोड ५६ लाख २९ हजार बराबरको बजेट ल्याएको गाउँपालिका अध्यक्ष जितेन्द्र नाथ शुक्ला (बबलु)ले बताए । चालू तर्फ ६ करोड ८८ लाख, सशर्त १४ करोड ५८ लाख, प्रदेश सशर्त १ करोड ४८ लाख रहेको छ । बजेटमा कृषि, स्वास्थ्य, वातावरण, रोजगार, सडक निर्माण, भवनलगायतका विषय मुख्य प्राथमिकतामा रहेको प्रमुख प्रशासकीय अधिकृत टेकराज भटराईले बताए ।
मायादेवी गाउँपालिकाले आर्थिक वर्ष २०७७-०७८ का लागि अनुमानित ५२ करोड ४३ लाख १५ हजार बराबरको बजेट ल्याएको छ । उपाध्यक्ष तारादेवी यादवले पुँजीगततर्फ २९ करोड ४६ लाख २६ हजार र चालूतर्फ २२ करोड ९६ लाख ८८ हजार अनुमान गरिएको छ । कृषि, शिक्षा, रोजगार, पर्यटन क्षेत्र लगायतलाई मुख्य प्राथमिकतामा राखिएको हो । पालिकाले स्वास्थ्य, खानेपानी तथा सरसफाई, सामाजिक समावेशीकरण अन्तरगत लक्षित समुदायका लागि बजेट बिनियोजन भएको अध्यक्ष धु्रवनारायण चौधरीले जनाए ।
सियारी गाउँपालिकाले ल्याएको बजेटमा कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखिएको गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताइन् । बजेटमा चालूतर्फ ३० करोड ११ लाख र पुँजीगततर्फ २० करोड ८४ लाख रुपैयाँ विनियोजन रहेको छ ।
मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्दन बानियाँले करिब ५० करोड बराबरको बजेट आएको जानकारी दिए । स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन भएको उनले जनाए ।
सबैभन्दा सानो आकारको बजेट ल्याएको ओमसतिया गाउँपालिकाले कृषि, स्वास्थ्य लगायतका विषयलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले गौरवका आयोजनालाई पनि निरन्तरता दिने अध्यक्ष हिरा केवटले बताए । पालिकाको बजेटमा कोरोनाको विषयमा राहात उद्दार कोष व्यवस्थापन, क्वारेन्टाइन व्यवस्थाापन लगायतका विषयलाई पनि प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ ।
असार १० गते बजेट सार्वजनिक गर्न नसक्ने स्थानीय तहहरुमा देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका र कोटहीमाई गाउँपालिका रहेका छन् ।