कारोबार संवाददाता
बुधवार, असार १०, २०७७
381

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले स्वास्थ्य सामग्री खरिदमा सरकारका निकायहरुले अनियमितता गरेको आशंका गरेको छ ।
अपारदर्शी ढंगले हतार हतारमा स्वास्थ्य सामग्री आपूर्ति गर्न अनुभवहीन ओम्नी समूहलाई ठेक्कापट्टा दिनु र सो समूहले समयमै सामग्री आपूर्ति गर्न नसक्नु तथा आपूर्ति गरिएका सामग्रीहरु पनि अत्यधिक महँगो तथा कम गुणस्तरका हुनुले उक्त ओम्नी समूहसँग गरिएको ठेक्कापट्टा असल मनसायले गरिएको थियो भनी विश्वस्त रहने अवस्था नदेखिएको ट्रान्सपरेन्सीले आरोप लगाएको छ ।

व्यापक विरोध र जनदवावका कारण ओम्नी समूहसँगको ठेक्का रद्द गरी जिटुजी प्रकृयाबाट स्वास्थ्य सामग्री आपूर्ति गर्ने जिम्मा नेपाली सेनालाई दिनेगरी सरकारले अर्को विवादास्पद निर्णय गरेको भन्दै निर्विवाद रहनुपर्ने नेपाली सेना जस्तो संस्थालाई उसको कार्य प्रकृतिसँग मेल नखाने स्वास्थ्य सामग्री खरिद तथा आपूर्ति गर्ने जिम्मेवारी दिएर सरकारले अर्को गम्भीर गल्ती गरेको ट्रान्सपरेन्सीले ठहर गरेको छ ।
‘जिटुजी प्रकृया मार्फत सामग्री खरिद गर्ने भनिए तापनि अधिकाशं खरिद प्रकृयामा विचौलिया तथा दलालहरुको व्यापक चलखेल हुने कुरा कसैबाट छिपेको छैन,’ ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेना मार्फत सम्पन्न उक्त स्वास्थ्य सामग्री खरिद प्रकृयामा अनियमितता भएमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार पुग्दैन । यस्तोमा आर्थिक हिनामिना हुनसक्ने सम्भावना रहि नै रहन्छ भन्ने जनस्तरको आशंकालाई नजर अन्दाज गर्न सकिँदैन ।’
सरकारले कोभिड–१९ को रोकथामका क्रममा व्यवस्थापन तथा स्वास्थ्य सामग्री खरिद समेतमा करिब दश अर्ब (९ अरब ८७ करोड) रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको र व्यापक विरोध भएपछि करिब डेढ अर्ब (८ अरब ४८ करोड) कम रुपैयाँको हिसाब प्रस्तुत गरेको विवरण सार्वजनिक गर्दै यसरी सत्यतथ्य भन्दा पनि हचुवाका रुपमा खर्च विवरणको नाममा निकासा भएको रकम मात्र प्रस्तुत गर्नुले पनि राष्ट्रिय ढुकुटीको व्यापक दुरुपयोग भएको हुनसक्ने सम्भावना प्रवल देखिने ट्रान्सपरेन्सीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
राष्ट्रिय विपदको सम्बेदनशीलता र गम्भीरतालाई हृदयङ्गम गर्दै सरकारले अझ बढी जवाफदेही, पारदर्शी र सदाचारी कार्यशैली अवलम्बन गरोस् भन्दै अनियमिततामा संलग्न दोषीहरु उपर कडा कारवाही गर्न विज्ञप्तिमा माग गरिएको छ ।