कारोबार संवाददाता
बुधवार, असार १०, २०७७
378

विराटनगर-कोरोना नियन्त्रणका लागि प्रदेश–१ सरकारले हालसम्म झण्डै २० करोड रुपैयाँ खर्च गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना नियन्त्रणका लागि भएको गरिएको खर्च सार्वजनिक गर्न माग गर्दै सोमबारको प्रदेशसभा बैठक अवरुद्ध पारेको थियो ।
कांग्रेसको मागअनुसार मंगलबारको प्रदेशसभा बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले खर्च विवरण सार्वजनिक गरेका हुन् । प्रदेश सरकारले १९ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ । प्रदेश जनसुरक्षा कोषमा हाल ९ करोड ६९ लाख रुपैयाँ नगद मौज्दात रहेको कार्कीले जानकारी गराए । प्रदेश जनसुरक्षा कोषमा हालसम्म २९ करोड ५१ लाख ७३ हजार रुपैयाँ रकम जम्मा भएको छ ।

प्रदेश जनसुरक्षा कोषमा जम्मा भएको रकम मन्त्रालयगत रुपमा निकासा गरिएको छ । कोरोना जनसुरक्षा कोषमा भएको रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत ५० लाख १ सय १५, भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत २ करोड, आन्तरिक मामिलामार्फत १५ करोड ३४ लाख र सामाजिक विकास मन्त्रालयमार्फत २ करोड ४८ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ ।
यस्तै सरकारको नियमित बजेटबाट सामाजिक विकास मन्त्रालयले ३ करोड ३० लाख र संघीय सरकारबाट ३ करोड ३० लाख रुपैयाँ प्राप्त भएको पनि कार्कीले बताए । प्रदेश सरकारले क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन, होल्डिङ एरिया निर्माण, कोभिड अस्पताल तथा सीमामा होल्डिङ एरिया व्यवस्थापनमा रकम खर्च गरेको उनले बताए । यस्तै जिल्ला समन्वय समितिहरूलाई अनुगमनका लागि सहयोग, स्वास्थ्य सामग्री ढुवानी व्यवस्थापनलगायतका शीर्षकमा पनि कोषको रकम खर्च गरिएको कार्कीले स्पष्ट पारे ।
कार्कीले मन्त्रालयगत रुपमा भएका खर्च कुन काममा कति खर्च भयो भन्ने विषयमा आन्तरिक लेखा परीक्षणपछि प्रदेश लेखा नियन्त्रण कार्यालयले विस्तृत विवरण सार्वजनिक गर्ने स्पष्ट पारे । “कुन–कुन शीर्षकमा कति खर्च भयो भन्ने विस्तृत विवरण आइसकेको छैन,” उनले भने ।
कार्कीले काठमाडौं बाहिरका नागरिकलाई काठमाडौं प्रवेशमा अवरोध गरिएको विषयमा प्रदेश सरकारले संघीय सरकारलाई जानकारी गराइसकेको र काठमाडौं प्रवेशमा पासको व्यवस्था खुकुलो पार्न आग्रह पनि गरिएको बताए । मन्त्री कार्कीले प्रदेशको नामाकरणको विषय दलहरूबीचको सहमतिका आधारमा प्रदेशसभाले टुंगो लगाउने स्पष्ट पारे ।