कारोबार संवाददाता
बुधवार, असार १०, २०७७
795

पछिल्लो समय बजारमा पेट्रोलियम पदार्थको खपत बढ्न थालेको छ । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै इन्धन खपत पनि बढ्न थालेको हो । नेपाल आयल निगमका प्रवक्ता वीनितमणि उपाध्यायले दिनहुँजसो इन्धनको खपत बढ्न थालेको बताए । “लकडाउनको समयमा इन्धनको खपत एकदम न्यून थियो,” उनले भने, “लकडाउन खुकुलो भएकाले इन्धनको खपत बढ्दै गएको छ ।” निगमका अनुसार एक हप्तामा मुलुकभर ३९ हजार ५ सय १६ किलोलिटर पेट्रोलियम पदार्थ खपत भएको छ । लकडाउन खुकुलो भएसँगै निजी सवारीसाधन गुड्न थालेपछि इन्धनको खपत पनि दैनिकजसो बढ्न थालेको हो । एक हप्तामा ७ हजार ३ सय ८० किलोलिटर पेट्रोल आयात भएकोमा ८ हजार ९२ किलोलिटर खपत भएको छ । यस्तै सो अवधिमा ३४ हजार ९ सय ५८ किलोलिरट डिजल आयात भएकोमा ३० हजार ४ सय ६८ किलोलिटर खपत भएको निगमको तथ्याङक छ । सो अवधिमा ६० किलोलिरट हवाई इन्धन आयात भएकोमा चार सय ३४ किलोलिटर खपत भएको छ ।
पूर्णरुपमा लकडाउन खुला नभएकाले इन्धनको खपत अझै बढ्न सकेको छैन । सार्वजनिक सवारीसाधन खुला नभएको र निजी सवारीसाधनमा पनि जोरविजोर लागु भएकाले इन्धनको खपत धेरै बढ्न नसकेएको निगमको भनाइ छ । लकडाउनको अवधिमा पेट्रोल १ लाख र डिजल २ लाख लिटरको हाराहारीमा मात्र बिक्री हुने गरेको थियो।

सरकारले ८० दिनपछि लकडाउन खुकुलो बनाउँदै निजी सवारी साधन जोरविजोरबाट चलाउन दिन थालेको छ । निगमका अनुसार उद्योग र निर्माणका काम खुला गरेपछि डिजलको बिक्री बढेको छ।
अहिले कृषिमा समेत माग बढेकाले डिजलको बिक्री बढेको उपाध्यायको भनाई छ । सामान्य अवस्थामा मुलुकभर दैनिक पेट्रोल ३० लाख लिटर र डिजल ८० लाख लिटर बिक्री हुन्थ्यो। लकडाउन खुकुलो भएसँगै बजारमा निजी सवारी साधन चल्नथालेसँगै इन्धनको खपत बढ्न थालेको हो ।