विप्लव काफ्ले
सोमवार, असार ८, २०७७
633

भरतपुर-तीन महिनाको लकडाउनले धेरैको आयआर्जनको बाटो बन्द भएको छ । आर्थिक मन्दी देखिन थालेपछि सरकारले लकडाउन खुकुलो पा-यो । तोकिएका व्यापार–व्यवसाय चल्न थाले । तर, सुनचाँदी पसल सुनसानै देखिन्छन् ।
चितवनमा करिब ५ सय सुनचाँदी पसल छन् । आधा संख्याका सुनचाँदी पसल नारायणगढमै छन् । बाग्लुङ ज्वेलर्सका सञ्चालक अमिर सुनार व्यापार नभएको सुनाउँछन् । “ग्राहक आउने बाटो हेर्दै बस्यो, व्यापार छैन”, उनले भने, “भाउ बढेको छ, तर मोह बढेको छैन ।” तीन महिना बन्द भएको पसलले विगत जस्तो व्यापार गर्न नसकेको बताए । “सुन फिर्ता गर्न आउनेहरु नगण्य छन्”, उनले भने, “कारोबारनै शून्यजस्तो छ, लगानीनै जोखिममा पर्ने चिन्ता छ ।”

नेपाल सुनचाँदी व्यवसायी महासंघले चैत ८ देखि सुनको भाउ तोक्ने र कारोबार गर्ने काम रोकेको थियो । त्यो बेला ७७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य अहिले ९० हजार ६ सय पुगेको छ । चाँदी ७५० रुपैयाँ प्रतितोलाबाट बढेर ९ सय ७० पुगेको छ । असार २ गतेदेखि चितवनका सुनचाँदी पसल खुलेका हुन् । अन्य केही जिल्लामा कारोबार नहुने देखेरे खोलेका छैनन् । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष टेकबहादुर विश्वकर्मा व्यापार उत्साहजनक नरहेको बताउँछन् । “यो वर्षनै व्यापार राम्रो नहुने देखिन्छ”, उनले भने, “उपभोक्ताको क्रय शक्ति पनि घटेको छ, माग पनि छैन ।” सुनचाँदी व्यवसाय लकडाउनमै परेसरह भएको बताउँछन् । “केही ग्राहक बेच्न आउँछन्, नयाँ गहना किन्न आउनेहरु छैनन्”, उनले भने, “कर्जा, घरभाडा तिर्न समेत नसक्ने बनेका छौँ ।”
नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष विपेन्द्र रामुदामु ‘विपिन’ ले व्यवसाय धरासायी हुने अवस्थामा पुगेको बताए । “सुन बेच्न आउनेहरु केही छन्, व्यापारमा निराशा छाएको छ”, उनले भने, “बोहनी पनि नहुने पसल धेरै छन् ।” विगतमा मासिक २० किलोसम्म नयाँ सुन खपत हुने गरेपनि अहिले नयाँ सुनको माग नै नरहेको बताए । “पुराना गरगहना खरिद गरेर बस्नुपरेको छ”, उनले भने, “नयाँ सुनको माग पनि छैन, सुनको मोह घट्दो छ ।” कर्जा तिर्ने रकम जुटाउन नसक्दा व्यवसायी समस्यामा परेको बताए ।
यो व्यवसायमा करिब १ हजार कालिगढ, ३ सय कर्मचारी छन् । साधरण सुनचाँदी पसलमा २० लाख भन्दा बढी लगानी चाहिन्छ । स्तरीय पसल चलाउनेले १० करोड बढी लगानी गरेका छन् । महासंघका उपाध्यक्ष अर्जुन रसाइली एक हप्तापछि सुन खरिद गर्न नसकिने बताउँछन् । “बैंकले अहिले सहुलियतमा कर्जा दिएका छैनन्, हामी क्रेता बन्नुपरेको छ”, उनले भने, “भाउ बढ्दो छ, एक हप्ता अझै पुरानो सुन जेनतेन खरिद गरौँला, तर सुन किन्ने पैसा र बेच्न ठाउँ चाहियो ।” पुरानो सुन खरिद गरिदिनु उपभोक्ताका लागि राहत सरह भएकाले व्यवसायीलाई कम्तिमा ५ प्रतिशत व्याजमा कर्जाको व्यवस्था मिलाइदिनुपर्ने बताए । राष्ट्र बैंकको अनुमति लिएर केही बैंकले सुन बेच्ने गरेपनि उनीहरुले पुरानो सुन खरिद नगरेको बताए । “हामी बेच्न जाँदा बैंकले किन्दैनन्”, उनले भने, “रिफाइन गरी महासंघले प्रमाणित गरेका सुन बैंकले खरिद गर्ने व्यवस्था हुनुपर्छ ।”
उनले १५ गतेपछि सुन फिर्ता गर्न पसलमा आउनेको चाप बढ्ने अनुमान गरिएको बताए । “पुरानो सुन थुप्रिदै जाने तर बेच्ने वातावरण नहुने हो भने व्यवसायनै जोखिममा जान्छ”, उनले भने, “सुन बेच्ने ठाउँ पनि त चाहियो ।” महासंघले पुराना गरगहना खरिद गर्दा ५ प्रतिशत ‘रिफाइन चार्ज’ लिन आग्रह गरेको छ । फेन्सी डिजाइनका तोलामाथिका गरगहनामा १० देखि १२ प्रतिशतसम्म जर्ती काट्ने गरिएपनि मौलिक गहनामा आपसी समझदारीमा खरिद हुँदै आएको छ । “उपभोक्तालाई अहिले पैसा चाहिँदा हामीले किन्न नसक्ने, पछि सुन चाँहिदा हामीले पु-याउन नसके व्यवसायनै संकटमा पर्छ”, उनले भने, “व्यवसाय जोगाउन कर, कर्जामा विशेष छुट दिनुपर्छ तबमात्र उपभोक्ताले बेच्न ल्याउने सबै सुन किन्न सकिन्छ ।” विवाह, तीज, दसैंमा सुनको माग बढी हुन्छ ।