दीननाथ बराल
सोमवार, असार ८, २०७७
530

लकडाउनले ३२% लक्ष्य पूरा हुन सकेन

पोखरा-आन्तरिक राजस्व कार्यालय पोखराले चालू आर्थिक वर्ष २०७६-०७७ को जेठ मसान्तरसम्म ३ अर्ब २६ करोड राजस्व संकलन गरेको छ । कास्की र स्याङजा जिल्ला क्षेत्र अधिकार रहेको आन्तरिक राजस्व कार्यालय पोखराले जेठसम्म ६८ प्रतिशत मात्र लक्ष्य पूरा गर्दा ३ अर्ब २६ करोड राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी विजयप्रसाद लामिछानेले बताए ।
उनका अनुसार कार्यालयले जेठसम्ममा ४ अर्ब ७६ करोडको लक्ष्य निर्धारण गरिए पनि लकडाउने गर्दा ३२ प्रतिशत लक्ष्य पूरा गर्न नसकेको हो । ३२ प्रशितले १ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन हुन नसकेको उनले जनाए । आयकर तर्फ जेठ मसान्तरसम्म २ अर्ब ७४ करोडको लक्ष्य रहेकोमा १ अर्ब ७४ करोड मात्र राजस्व संकलन भएको कार्यालयले जनाएको छ । त्यसै गरी अन्त शुल्कः अभिवृद्धि कर १ अर्ब ३६ करोडको लक्ष्य रहेकोमा १ अर्ब १० करोड मात्र संकलन भएको छ भने अन्तशुल्क तर्फ १६ करोडको लक्ष्य रहेकोमा १५ करोड ८७ लाख संकलन भएको सूचना अधिकारी लामिछानेले बताए । त्यस्तै व्याज करबाट २० करोड ९६ लाख राजस्व संकलन भएको छ भने जेठ मसान्तरसम्म ३४ करोडको लक्ष्य रहेकोे थियो ।

चालू आर्थिक वर्षमा ५ अर्ब ६१ करोड राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य रहेको छ । आन्तरिक राजस्व विभागले असार ७ गतेसम्म कर तिर्न म्यान थप गरे पनि सर्वोच्च अदालतले दिएको निर्देशनअनुसार हाल करमा जरिवाना नलाग्ने भएको छ । गत जेठ महिनामा मात्र कार्यालयले १४ करोड ७९ लाख राजस्व संकलन गरेको छ । असार ६ गतेसम्म कार्यालयले ५ करोड ८९ लाख राजस्व संकलन गर्न सफल भएको छ । लकडाउन केही खुकुलो भएसँगै करदाताहरु कर बुझाउन आउने गरेको सूचना अधिकारी लामिछानेले बताए ।
आइतबार दिउँसो साढे दुई बजेसम्म मात्र २ करोड ४८ लाख राजस्व संकलन भएको छ ।
व्यक्तिगत स्थायी लेखा नम्बर लिनेहरु ८७ हजार १ सय ९७ जना रहेका छन् भने व्यवसायीक स्थायी लेखा नम्बर लिनेहरुको संख्या भने ५८ हजार १५ जना रहेको सूचना अधिकारी लामिछानेले बताए । उनका अनुसार कार्यालयमा १ लाख ४५ हजार १ सय ९४ जना करदाता रहेका छन् । भ्याटमा ११ हजार ५ सय ९१ वटा संस्था, अन्तशुल्क इजाजत लिएका ५ हजार १ सय ५२ संस्था रहेको उनले जनाए । कार्यालयले चालू आर्थिक वर्षको फागुनसम्म राजस्व संकलनमा केही कमी आएको देखिन्छ । फागुनसम्म दिएको लक्ष्य भन्दा १७ प्रतिशत कम राजस्व संकलन भएको थियो । फागुनसम्म ३ अर्ब ५७ करोडको लक्ष्य दिएकोमा २ अर्ब ९९ करोडले ८३ प्रतिशत मात्र राजस्व संकलन भएको सूचना अधिकारी लामिछानेले बताए । यस अघि आन्तरिक राजस्व कार्यालयले संकलन गर्दै आएको घर वहाल कर, शिक्षा र स्वास्थ्य कर दुई वर्र्षदेखि स्थानीय तहले संकलन गर्न थालेका छन् ।