कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७
657

लमजुङ-संघीय सरकारले आर्थिक वर्ष २०७७-०७८ का लागि सार्वजनिक गरेको बजेट अनुसार लमजुङका स्थानीय तहका लागि दुई अर्ब भन्दा बढि रकम अनुदान प्राप्त हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले गत बिहीबार संसदमा पेश गरेको बजेट अनुसार लमजुङलाई दुई अर्ब ७७ करोड ३६ लाख रुपैयाँ विनियोजन भएको हो ।
लमजुङ जिल्लालाई चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ६५ करोड ११ लाख बढी रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६-०७७ को लागि लमजुङका आठ स्थानीय तहलाई दुई अर्ब १२ करोड २५ लाख रुपैयाँ विनियोजन भएको थियो ।

आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेट अनुसार जिल्लाका आठ स्थानीय तहमध्ये मध्यनेपाल नगरपालिकाले सबैभन्दा धेरै ४२ करोड ७४ लाख बजेट पाउने भएको छ । नगरपालिकाले प्राप्त गर्ने बजेट मध्ये समानिकरण अनुदानतर्फ नौ करोड ७७ लाख, सशर्त अनुदानतर्फ २९ करोड ९५ लाख, विशेष अनुदानतर्फ एक करोड ५० लाख र समपुरकतर्फ एक करोड ५२ लाख रुपैयाँ विनियोजन भएको छ ।
यस्तै जिल्लाको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले ३९ करोड ८९ लाख बजेट पाउने भएको छ । नगरपालिकाले प्राप्त गर्ने बजेटमध्ये समानिकरण अनुदानतर्फ १३ करोड ४३ लाख, सशर्त अनुदानतर्फ २६ करोड ४६ लाख रुपैयाँ विनियोजन भएको छ ।
जिल्लाको राईनास नगरपालिले भने ४१ करोड ६ लाख रुपैयाँ पाउने भएको छ । जसमध्ये आठ करोड ६० लाख रुपैयाँ समानिकरण र ३२ करोड ४६ लाख रुपैयाँ सशर्त अनुदानतर्फ रहेको छ । यसैगरी जिल्लाको सुन्दरबजार नगरपालिकाले पाउने ३९ करोड ५८ लाख मध्ये १० करोड ५० लाख समानिकरणतर्फ र २९ करोड आठ लाख रुपैयाँ सशर्त अनुदान रहेको छ । मध्यनेपाल बाहेक जिल्लाका तीन स्थानीय तहमा विशेष र समपुरक अनुदान विनियोजन भएको छैन ।
जिल्लाको गाउँपालिका मध्येपनि सबैभन्दा धेरै दोर्दी गाउँपालिकाले ३४ करोड ७५ लाख रुपैयाँ बजेट पाएको छ । जसमध्ये समानिकरणतर्फ आठ करोड ३० लाख, सशर्ततर्फ २२ करोड तीन लाख, विशेषतर्फ तीन करोड ३८ लाख र समपुरकतर्फ एक करोड चार लाख रुपैयाँ विनियोजन भएको छ ।
यसैगरी मस्र्याङदी गाउँपालिकाले ३२ करोड ६ लाख रुपैयाँ पाउने भएको छ । गाउँपालिकाले समानिकरण तर्फ आठ करोड ५६ लाख, सशर्ततर्फ २१ करोड १४ लाख, विशेषतर्फ दुई करोड र समपुरक तर्फ ३६ लाख रुपैयाँ पाएको छ ।
जिल्लाको विकट मध्येको दुधपोखरी गाउँपालिकाले भने २४ करोड ५४ लाख बजेट पाएको छ । जसमध्ये समानिकरणतर्फ ६ करोड ७२ लाख, सशर्ततर्फ १३ करोड ८८ लाख, विशेषतर्फ दुई करोड ३९ लाख र समपुरकतर्फ एक करोड ५५ लाख रुपैयाँ पाउने भएको छ ।
जिल्लामा सबैभन्दा थोरै बजेट क्होलासोँथार गाउँपालिकाको निम्ति आएको छ । क्होलासोँथार गाउँपालिकाका लागि २२ करोड ४७ लाख रुपैयाँ विनियोजन भएको । जसमध्ये समानिकरणतर्फ ६ करोड ८७ लाख, सशर्ततर्फ १४ करोड ७९ लाख, विशेषतर्फ ६० लाख र समपुरकतर्फ ४८ लाख रुपैयाँ विनियोजन भएको छ । चार वटा नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा नगरपालिकाको लागि मात्रै एक अर्ब ६३ करोड २७ लाख रुपैयाँ विनियोजन भएको छ भने गाउँपालिकाको लागि एक अर्ब १४ करोड नौ लाख रुपैयाँ विनियोजन भएको छ ।
चालू आर्थिक वर्षमा भने बेसीशहर नगरपालिकाले ३५ करोड ५६ लाख, सुन्दरबजार नगरपालिकाले ३३ करोड २८ लाख, मध्यनेपाल नगरपालिकाले ३२ करोड दुई लाख र राइनास नगरपालिकाले २८ करोड ५० लाख बजेट पाएका थिए । यस्तै दुधपोखरी गाउँपालिका १६ करोड ५९ लाख, क्होँलासोथर गाउँपालिकाले १७ करोड ७४ लाख, मस्र्याङदी गाउँपालिकाले २४ करोड १२ लाख र दोर्दी गाउँपलिकाले २४ करोड ४४ लाख रुपैयाँ पाएका थिए ।
बिहीबार सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्व ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेको थियो । संसद्मा पेश गरेको बजेटमा सात प्रदेशका लागि ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ र स्थानीय तहका लागि दुई खर्ब ६२ अर्ब ७५ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सन्देश पौडेल