कारोबार संवाददाता
सोमवार, जेठ १९, २०७७
462

धनगढी-नेपाल सरकारले सुदूरपश्चिममा प्रदेश र ८८ वटा स्थानीय तह गरी ८९ वटा सरकारलाई ४४ अर्ब २३ करोड ३८ लाख रूपैयाँ अनुदान दिने भएको छ ।
आर्थिक वर्ष २०७७-०७८ को बजेट वक्तव्यमार्फत सार्वजनिक गरिएको रातो कितावमा समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरी सो रकम स्थानीय तहहरूले पाउने भएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले सो अनुदानवापत नेपाल सरकारबाट १४ अर्ब २१ करोड ८२ लाख रूपैयाँ पाउने भएको छ । सरकारबाट अनुदान पाउनेमा चौथो स्थानमा सुदूरपश्चिम प्रदेश सरकार छ ।

सुदूरपश्चिमका ८८ वटा स्थानीय सरकारहरुलाई नेपाल सरकारले ३० अर्ब एक करोड ५६ लाख रूपैयाँ अनुदान दिने भएको छ । संघीय सरकारले आर्थिक वर्ष २०७७-०७८ का लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा सबै स्थानीय तहका लागि अनुदान रकम बढाएर विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि संघीय सरकारले प्रस्तुत गरेको बजेटमा कैलालीका सबै १३ स्थानीय तहहरुलाई ५ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको छ । कञ्चनपुरका नौ स्थानीय तहरुलाई तीन अर्ब ३९ करोड २९ लाख विनियोजन गरिएको छ ।
डडेल्धुराका सात स्थानीय तहका लागि दुई अर्ब ४१ करोड ९३ लाख, बैतडीका १० स्थानीय तहका लागि तीन अर्ब ५७ करोड ६१ लाख, दार्चुलाका नौ स्थानीय तहलाई दुई अर्ब ८४ करोड १९ लाख, अछामका १० स्थानीय तहका लागि तीन अर्ब ३६ करोड ३२ लाख, डोटीका स्थानीय तहका लागि दुई अर्ब ७४ करोड ४२ लाख, बझाङका १२ स्थानीय तहका लागि तीन अर्ब ६३ करोड ९९ लाख र बाजुराका नौ स्थानीय तहका लागि दुई अर्ब ४१ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सुदूरपश्चिममा एक मात्र उपमहानगरपालिका धनगढीले प्रदेशमै सबै भन्दा बढि अनुदान पाउने भएको छ । नेपाल सरकारले धनगढी उपमहानगरपालिकालाई ८५ करोड ६७ लाख रुपैयाँ विनियोजन गरेको छ भने कैलालीका ६ वटा नगरपालिकाका लागि दुई अर्ब ९० करोड २८ लाख र ६ वटा गाउँपालिकाका लागि एक अर्ब ८६ करोड ४८ लाख विनियोजन गरेको छ ।
धनगढी उपमहानगरपालिकाका लागि वित्तीय समानीकरणतर्फ २९ करोड २ लाख, सशर्त अनुदानतर्फ ५० करोड २६ लाख, विशेष अनुदान तर्फ २ करोड र समपूरकतर्फ ४ करोड ३९ लाख विनियोजन गरिएको छ ।
गोदावरी नगरपालिकाका लागि वित्तीय समानीकरण, सशर्त र समपूरक गरी ५५ करोड ७६ लाख, गौरीगंगा नगरपालिकाका लागि ४० करोड ४४ लाख, घोडाघोडी नगरपालिकाका लागि ५३ करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको छ । टिकापुर नगरपालिकाका लागि ४६ करोड ९९ लाख, भजनीका लागि ३६ करोड ८२ लाख र लम्की नगरपालिकाका लागि ५६ करोड ९३ लाख बजेट विनियोजन गरिएको छ ।
६ वटा गाउँपालिका रहेको कैलालीमा सबैभन्दा बढी बजेट पाउनेमा जानकी गाउँपालिका र कम पाउनेमा बर्दगोरिया परेको छ । जानकी गाउँपालिकाका लागि ३७ करोड ८ लाख बजेट विनियोजन गरिएको छ । बर्दगोरियाका लागि २५ करोड ५३ लाख, कैलारीका लागि ३६ करोड ४४ लाख, चुरेका लागि २९ करोड ५१ लाख, जोशीपुरका लागि २६ करोड ३७ लाख र मोहन्यालका लागि ३१ करोड ५५ लाख विनियोजन गरिएको छ ।
कैलालीका स्थानीय तहका लागि विनियोजित अनुदान चालू आर्थिक वर्षभन्दा आगामी वर्षको बजेट झण्डै डेढ अर्बले बढि छ ।