कारोबार संवाददाता
सोमवार, जेठ १९, २०७७
482

लमजुङको मस्र्याङ्दी गाउँपालिकाका किसानहरुले व्यावसायिक कृषि तथा पशुपालनका लागि कृषि क्षेत्रमा बजेट बढाउन माग गरेका छन् । कोरोनाको संक्रमण बढ्दै जाँदा लकडाउन पनि बढ्ने भएकाले गाउँपालिकालाई खाद्यान्न, तरकारी, मासु, अण्डा जस्ता वस्तुहरुमा आत्मनिर्भर बनाउनुपर्ने किसानहरुको सुझाव छ ।
आगामी आर्थिक वर्ष पालिकाको पुँजीगत बजेटको ३० प्रतिशत बजेट कृषि क्षेत्रमा छुट्याउन माग गरिएको पालिकास्तरीय कृषि सञ्जालका अध्यक्ष नारायण तामाङले बताए । चालू आर्थिक वर्षमा गाउँपालिकाले कृषि क्षेत्रमा एक करोड ५० लाख रुपैयाँ छुट्टाएको थियो । आगामी आर्थिक वर्षमा पाँच करोड भन्दा बढी बजेट छुट्टाउन सुझाव दिएको तामाङले बताए ।
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाभित्र खाद्यान्न, तरकारी, पशुपालन, मौरीलगायतका क्षेत्रमा उत्पादन वृद्धि गर्नेगरी काम गर्न आफूहरु तयार रहेको बताए । आहिलेको संकट लम्बिन सक्ने भएकाले कृषिलाई थप प्राथमिकता दिएर बजेट ल्याउने अध्यक्ष गुरुङको भनाई छ ।
गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले आगामी नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइने बताए । उपाध्यक्ष विकले कृषि क्षेत्रमा समेटिनुपर्ने सुझावहरु नीति तथा कार्यक्रम बनाउनुपूर्व नै राख्न किसानलाई अनुरोध गरेका छन् ।
कृषि शाखा प्रमुख शर्मिला ढकालले लकडाउनका कारण समस्यामा परेका व्यावसायिक किसानहरुका लागि बेमौसमी तरकारीका बीउ, विषादी, कृषि सामग्री वितरण गर्ने योजना रहेको बताइन् । कृषि शाखाले लकडाउनका बीच पनि किसानको साथमा रहेर च्याउ, धान, मकै, आलु, अदुवाको बीउ, माहुरी घार, रसायनिक मल, पावर टिलर, टनेल प्लाष्टिक वितरण गरिहेको छ ।
यस्तै पशु शाखाले ब्याड बोका, काउम्याट, डिपिङ ट्याङ्क, लोकल कुखुरा, डिपफ्रिज वितरण, पिपिआर भ्याक्सिन अभियान जस्ता कार्यक्रम गरिएको डा.पवन श्रेष्ठले बताए । गोठ सुधार, बंगुर खोर सुधार, लेयर्स कुखुरापालन, ऊन प्रशोधन सुधार, मासु पसल सुधार, घाँस बीउ वितरण जस्ता कार्यक्रम भइरहेको श्रेष्ठको भनाई छ ।

गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरू
मस्र्याङ्दी गाउँपालिकामा यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम सुरू भएको छ । सामाजिक दूरी कायम गरी प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै पालिका भित्रका गरिब तथा विपन्न परिवारका सदस्यलाई रोजगारीमा खटाउने गरी यो कार्यक्रम सुरू भएको मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए । उपाध्यक्ष विकका अनुसार वडा नं. ९ मा कार्यक्रम सुरू भइसकेको छ । उक्त वडामा नाली निर्माण तथा पहिरो नियन्त्रण योजनाको कार्य सुरु भएको छ भने छ अन्य वडामा समेत छिट्टै सुरू काम सुरु गरिने भएको छ ।
पालिकाभित्र यसवर्ष करिव चारसय जनाले रोजगारी पाउने गाउँपालिकाका रोजगार संयोजक विष्णुप्रसाद दाहालले बताए । गाउँपालिकाका ९ वटै वडामा संकलन गरिएको बेरोजगारको सूचीमा भने १ हजार १ सय ३२ जना सूचिकृत भएका छन् । जसमध्ये विपन्न तथा परिवार नै बेरोजगार भएकालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।
रोजगार कार्यक्रमअन्र्तगत यस वर्ष नौ वटै वडाका ३६ योजना छनौट भएका रोजगार संयोजक दाहालले बताए । छनौट भएका अधिकांश योजना गोरेटो बाटो तथा पैदलम ार्ग निर्माण, नाली निमार्ण पहिरो नियन्त्रण रहेका छन् भने अन्यमा चौतारा निर्माण, सामुदायिक भवन, सिँचाई, सडक मर्मत, खेलमैदान निमार्ण रहेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यस वर्ष मस्र्याङ्दी गाउँपालिकालाई २२ लाख ४० हजार बजेट प्राप्त भएको छ ।

सन्देश पौडेल