कारोबार संवाददाता
बुधवार, जेठ १४, २०७७
541

इलाम -नेपाली चिया निर्यातमा भारतले अवरोध गरेको छ । बिगत वर्षहरुमा समेत चिया निकासीमा अवरोध गर्दै आएको भारतले पुनः चिया निकासीमा अवरोध गरेको हो । नेपाल भारतबीच सीमा बिबाद चर्किँदै जाँदा भारतले पुनः चिया निकासीमा अवरोध गरेको चिया व्यवसायीहरुको भनाई छ । लिपुलेक तथा अन्य सिमावती क्षेत्रमा समस्या हुँदा नेपालले भारतको विरोध गर्न थालेपछि भारत हुँदै तेस्रो मुलुक जाने चिया निकासीमा अवरोध हुँदा समस्या भएको छ ।
जिल्लाका किसानहरुले उत्पादन गरेको चिया भारत जान रोक लगाइएपछि किसान तथा व्यवसायी मारमा परेका छन् । व्यवसायीहरुले निकासीका लागि सीमा क्षेत्रमा पु¥याएको चिया भन्सार नाकामा नै रोकिएको केन्द्रिय चिया सहकारी संघका महासचिव रविन राईले जानकारी दिए । उनले नाकामा थन्किएको चिया यता ल्याउने वा उतै कहिले जान्छ भन्नेमा अन्योल रहेको बताए ।

तेस्रो मुलुक निर्यात हुने चिया अवरोध भएपछि चिया किसान तथा व्यवसायी मारमा परेको उनको भनाई छ । नेपाली चिया निर्यातमा भारतले अवरोध गरेपछि समस्या समाधानका लागि पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको हल्ला आएपछि केही राहत मिलेको व्यवसायीहरुको भनाई छ । तर वर्षेनी सानो समस्या हुँदा पनि नेपाली वस्तु निकासीमा अवरोध गर्ने भारतसँग सधैंका लागि समस्या समाधान गर्न पनि व्यवसायीहरुले माग गर्दै आएका छन् ।
नेपालबाट विगतदेखि भारततर्फ निकासी हुँदै आएको नेपालमा उत्पादिन चिया कोरोना भाइरसको महामारीका कारण दुवै देशमा लकडाउन गरिएको थियो ।
यस वर्ष इलाममा चिया टिप्न सुरु गर्दादेखि कोरोना भाइरसको कारण समस्या आइरहेको र हाल आएर पनि भारतले निकासीमा अवरोध गर्दा झनै समस्या भएको इलामका चिया व्यवसायीहरुको भनाई छ । व्यवसायीहरुले तत्काल समस्या समाधान गर्न नेपाल सरकारलाई आग्रह गर्ने गरेका छन् । तर सरकारी निकायबाट पहल नहुने गरेको भन्दै उनीहरुले गुुनासो समेत गरेका छन् ।

टीका खतिवडा