लक्ष्मी सापकोटा
बुधवार, जेठ ७, २०७७
612

लकडाउनको समयमा उपभोक्तामाथि ठगी गर्ने व्यवसायीबाट झन्डै १ करोड रुपैयाँ जरिवाना संकलन गरिएको छ । वाणिज्य, आपूर्र्ति तथा उपभोक्ता हित संरक्षण विभागले लकडाउनको अवधिमा बजार अनुगमन क्रममा उपभोक्ता ठग्ने ६४ व्यावसायिक फर्मबाट ९१ लाख ४५ हजार रुपैयाँ जरिवाना गरेको हो । लकडाउनको अवधिमा १२० व्यवसायिक फर्ममा अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा कृत्रिम अभाव गराएर सामानमा बढी मूल्य लिएको, नापतौलमा कमी, खरिद बिल नभएको जस्ता समस्या बढी पाएको विभागको भनाइ छ । कारबाही पर्नेमा अनलाइन, अस्पताल, औषधि पसल, खाद्य उद्योग, खाद्यान्न तथा किराना स्टोर, ग्यास, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पानी उद्योग, पेट्रोल पम्प, माछा पसल, मासु पसल, सर्जिकल पसल, र सुपर मार्केटलाई कारबाही गरिएको विभागले जानकारी दिएको छ । विभागका महानिर्देशक नेत्र सुवेदीले लकडाउनको समयमा उपभोक्ता ठगी गर्ने ६४ वटा व्यावसायिक फर्मलाई कारबाही गरी झन्डै १ करोड जरिवाना गरिएको बताए । “लकडाउको समयमा नियमित रूपमा बजार अनुगमन गरिरहेका छौ,” महानिर्देशक सुवेदीले भने, “कोरोनाको संक्रमण फैलिरहेको बेला बढी मूल्य लिइ उपभोक्ता ठगी गर्ने जो कोहीलाई कारबाही गर्छौं  ।”

विभागले १० महिनामा ५ सय ६८ फर्मलाई जरिवाना गरेको छ । गत साउनदेखि वैशाख मसान्तसम्ममा एक करोड ९० लाख ८७ हजार जरिवाना गरेको विभागको भनाइ छ । विभागको तथ्यांकअनुसार १० महिनामा बजार अनुगमनका क्रममा खान अयोग्य तथा म्याद सकिएका १ करोड ५५ लाख ४३ हजार ३ सय ३ रुपैयाँ बराबरको खाद्य सामग्री तत्काल नष्ट गर्ने वा सम्बन्धित उत्पादनकहाँ फिर्ता पठाउन लगाइएको थियो ।
अनुगमनका क्रममा ४ सय २९ फर्म सामान्य अवस्थामा रहेको तथा ६ सय ४२ फर्ममा सामान्य कैफियत भएको र तत्कालै सुधार गर्न निर्देशन दिइएको थियो । विभागका अनुसार १ सय ४३ फर्मलाई आवश्यक कागजातसहित स्पष्टीकरणमा बोलाइएको थियो । उपत्यकाका १ सय ३७ र बाहिरका ६ वटा फर्म परेका छन् । उपत्यकामा लकडाउन अवधिभित्र स्पष्टीकरण सोधिएका नौवटा फर्म छन् । त्यस्तै १० फर्मबाट परीक्षणका लागि वस्तुको नमूना लिइएको र ६ फर्मको कारोबार रोक्का गरिएको छ ।
सरकारले गत गत चैत ११ गतेदेखि गरेको लकडाउन अवधिमा अनुचित व्यापारिक कारोबार गरेको पाइएका ६४ फर्मलाई जरिवाना गरेको छ । लकडाउनका मौका छोपी खाद्य र पेट्रोलियम पदार्थ, स्वास्थ्य सामग्री तथा मासुजन्य पदार्थको बिक्रीवितरणमा बढी मूल्य लिएको पाइएका ती फर्मलाई कारवाहीस्वरूप जरिवाना गरिएको हो ।
काठमाडौं उपत्यकामा सञ्चालित विभिन्न अस्पतालले लकडाउन अवधिमा बिरामीबाट बढी शुल्क लिने गरेको गुनासो आएपछि विभागले स्वास्थ्यकर्मीका साथमा अस्पतालको समेत अनुगमन गरेको छ । यस क्रममा विभागले ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई २ लाख ५० हजार रूपैयाँ जरिवाना र थापाथलीको नर्भिक इन्टरनेशनल हस्पिटलसँग आवश्यक कागजसहित लिखित जवाफ माग गरेको थियो । लकडाउनको समयमा व्यवसायीले कालोबजारी गरी उपभोक्ता ठगी गर्न सक्ने भन्दै विभागले नियमितरूपमा अनुगमन गरिरहेको जनाएको छ । अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको फेला परे तत्काल कारबाही गरेको विभागको भनाइ छ । उपत्यकामा मात्र नभएर ७७ वटै जिल्लामा स्थानीय निकायको संयोजनमा अनुगमन गरिरहेको विभागको भनाइ छ ।
विभागले टोल फ्री नम्बर ११३७ मा आएको उपभोक्ताको गुनासोलाई आधार बनाएर बजार अनुगमन गर्दै आएको छ । लकडाउन अवधिमा १ हजार १७ वटा गुनासो आएको विभागको भनाई छ ।