लक्ष्मी सापकोटा
शुक्रवार, चैत्र २८, २०७६
844

कोरोना संकट अवधिभरमा अत्यावश्यकीय वस्तुको आयात–निर्यातमा सार्क क्षेत्रका कुनै पनि मुलुकले रोक नलगाउने सहमति भएको छ । व्यापार सहजीकरणका लागि नेपालको प्रस्तावमा सबै मुलुकले यस्तो सहमति जनाएको हुन् । कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण सार्क क्षेत्रभित्र व्यापारमा परेको प्रभावका विषयमा बुधबार भएको सार्कका वाणिज्य सहसचिवबीचको भिडिओ कन्फरेन्सबाट सो सहमति गरिएको हो ।
सार्क मुुलुकभर उत्पत्तिको प्रमाणपत्रबिनै सामानको आयात –निर्यात गर्न पाउने तथा दिने समझदारी भएको छ । महामारीका कारण उत्पत्तिको प्रमाणपत्र जारी गर्न तथा भन्सारसम्म पेस गर्न समस्या हुने भएकाले त्यस्ता कागजको फोटोकपी वा फोटो पेस गर्दा पनि हुने अथवा पछि पेस गर्दा पनि हुने गरी समझदारी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।

यस्तै, मालवस्तुको जाँचपासका लागि आवश्यक कागजहरू पोटोकपी पेश भएमा त्यसलाई मान्यता दिई सहजीकरण गर्ने, आयात निर्यातमा बैंकद्वारा सफ्ट प्रविधिको आधारमा भुक्तानी दिने समझदारी भएको ढकालले जानकारी दिए । यस्तै, औषधि तथा खाद्य पदार्थ लगायतका अत्यावश्यक वस्तुको ओसारपसारलाई उच्च प्राथमिकता दिई सहजीकरण गर्ने सहमति भएको छ ।
कोरोना महामारीले निम्त्याएको असहज परिस्थितिमा उत्पत्तिको प्रमाणपत्र कागजपत्रपेश गर्न समस्या भएकाले सूचना प्रविधिका माध्यमबाट यस्ता कागजाज पेस गर्दा पनि हुने गरी समझदारी भएको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्यसम्बन्धी सामग्रीको आयात–निर्यातमा सहजीकरण गर्ने समझदारी भएको उनको भनाइ छ । यसबाट नेपाललाई कोरोना महामारीको सामनाका लागि आवश्यक स्वास्थ्य उपकरण तथा औषधिहरू आयातका लागि सहयोग पुग्ने उनले बताए । कोरोनाको संकटपूर्ण अवस्थासँग जुध्दै क्षेत्रीय व्यापार सन्तुलित बनाउन सहजीकरण गर्न सहमति जनाउँदै छलफल सकिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।यस्तै, व्यापार प्रयोजनका लागि डिजिटल हस्ताक्षर स्वीकार गर्ने, बैंकिङ कोरोबारको हार्डकपी कागज पत्र एक देशको बैंकले अर्को मुलुकको बैङ्कलाई नै डिजिटल रूपमा पठाउन सक्ने विषयमा पनि समझदारी जुटेको मन्त्रालयले जनाएको छ ।
कन्फ्रेन्समा सार्कका अधिकांश मुलुकमा लागेको लकडाउन र त्यसले व्यापारमा परेको असर तथा अत्यावश्यक वस्तुको आयात निर्यातमा रहेको कठिनाईबारे छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । भिडिओमार्फत भएको छलफलमा दुई पक्षीय तथा क्षेत्रीय व्यापारको सहजीकरणका विषयमा छलफल भएको थियो ।
नेपालसहित भारत, बंगलादेश, अफगानिस्तान, भुटान र श्रीलंकाका वाणिज्य सहसचिव छलफलमा सहभागी थिए । व्यापार सहजीकरणका लागि वाणिज्य सहसचिवस्तरमा भिडियो कन्फ्रेन्स छलफल पहिलो भएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि औषधिको आयात अझै पूर्णरूपमा हुन सकेको छैन । विश्वभर फैलिएको कोरोना भाइरसको कारणले गर्दा व्यापारमा सहजीकरण हुन सकेको छैन । सार्क मुलुकमा व्यापारलाई कसरी सहजीकरण गर्ने विषयमा समेत छलफल गरिएको थियो ।

 


सातामा धेरै पढिएको