कारोबार संवाददाता
बिहिवार, चैत्र २७, २०७६
1226

लमजुङ-कोराना भाइरसको संक्रमण जोखिमका कारण देशभर लकडाउन भएसँगै कुखुराको अण्डाले बजार नपाउँदा लमजुङका किसानहरु चिन्तित भएका छन् । लकडाउनका कारण प्राय सवै व्यवसाय ठप्प भइरहेका बेला दैनिक उत्पादित कुखुराको अण्डा भने खेर जाने अवस्था आएको हो ।
दैनिक हजारौंको संख्यामा उत्पादन हुँदै आएको अण्डा बजारमा बिक्री नभएपछि सोहि अनुपातमा नोक्सानी सहनु परेको बेसीशहर–३, रानीकुवाका कृषक ज्ञानेन्द्र बोहोराले बताए । जिल्लामा दैनिक ४० हजार कुखुराले अण्डा दिँदै आएकोमा अहिले बजारमा भने सयको संख्यामा पनि बिक्री हुन नपाएको हो ।

“जिल्लामा दैनिक डेढसय पेटी अण्डा बिक्री गरेको थियो” बोहोराले भने, “अहिले १० प्रतिशत पनि अण्डा बिक्री हुन पाएको छैन ।”
कुखुराको अण्डा तीन हप्ता भन्दा बढी स्टक राख्नसक्ने अवस्था नभएपछि उत्पादित अण्डा खेर जाने अवस्था आएको कृषकहरु बताउँछन् । जिल्लामा अण्डालाई अन्य प्रयोजनमा उपयोग गर्ने कुनै विकल्प नहुँदा सबै अण्डा खेर जाने अवस्था आएको हो ।
अण्डा बजारमा बिक्री नभएपनि कुखुरालाई दैनिक दाना ओसारपसारमा समस्या हुँदै आएको कृषकहरुको भनाई छ । अण्डा बिक्री नहुँदा आम्दानी नहुने र उधारोमा दाना पाउन पनि मुस्किल हुँदा निकै कठिन भएको बेसीशहरका अर्का कृषक गणेश श्रेष्ठको गुनासो छ ।
“अण्डा बिक्री भएको छैन, आम्दानी पनि रोकिएको छ” श्रेष्ठले भने “दाना खरिदमा पनि समस्या भएको छ ।”
शहरी क्षेत्रसँगै ग्रामिण क्षेत्रका किसानहरुलाई पनि दाना खरिद र उत्पादित कुखुराको अण्डा बिक्रीमा समस्या हुन थालेको छ । पछिल्ला दिनहरुमा लकडाउनका कारण कुखुराको अण्डा खपत हुने होटलहरु बन्द छन् भने आम उपभोक्ताहरु पनि घट्दै गएका छन् ।
जिल्लामा झण्डै ५० हजारको हाराहारीमा अण्डा मात्रै उत्पादन गर्ने लेयस कुखुरा पालिएका छन् । जिल्लामा दैनिक तीस हजार हाराहारीमा कुखुराको अण्डा बिक्री हुँदै आएकोमा कोरोना भाइरसको संक्रमण रोक्न देश लकडाउन भएसँगै १० प्रतिशतको हाराहारीमा मात्रै कुखुराको अण्डा बिक्री हुँदै आएको किसानहरुले बताएका छन् ।

सन्देश पौडेल