लक्ष्मी सापकोटा
बिहिवार, चैत्र २७, २०७६
504

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले बुधबारदेखि अनलाइनबाट होम डेलिभरी सेवा सुरु गरेको छ । बजारमा खाद्यान्नको आपूर्ति व्यवस्था सहज पार्नका लागि कम्पनीले अनलाइनबाट सामान अर्डर लिएर होम डेलिभेरी सुरु गरेको हो । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले अनलाइनबाट सामानको अडर गरेर सो सेवा सुरु गरेका हुन् । दोस्रो ग्राहकका रुपमा सिनामंगलका उत्तम रेग्मीले सामान अर्डर गरेका थिए । उपभोक्ताले सामानको अर्डर गरेपछि कम्पनीले घरघरमै खाद्यान्न पु-याउन सुरु गरेको छ । कम्पनीका महाप्रवन्धक नेत्र सुवेदीले बुधबारदेखि अनलाइनबाट होमडेलिभरी सेवा सुरु गरिएको बताए ।
लकडाउनका समयमा उपभोक्तालाई राहत दिनका लागि अनलाइनबाट अर्डर गरेपछि घरमै सामान पु-याउन सुरु गरिएको जानकारी दिए । ग्राहकले नेपालफूडडटकमडट जिओभीमा गएर सामानको अर्डर गर्नुपर्ने हुन्छ ।
“ग्राहकले अनलाइनबाट सामानको अर्डर गरेर अनलाइनबाट रकम भुक्तानी गर्नुपर्ने छ” उनले भने, “लकडाउनको समयअवधिर होम डेरीभरी गरेको चार्ज लिँदैनौ ।”
ग्राहकले दुई हजारदेखि पाँच हजार रुपैयाँसम्मको सामान अर्डर गर्न सक्ने व्यवस्था गरिएको छ । अहिले रिङरोडभित्र सो सेवा उपलव्ध गराइने कम्पनीले जानकारी दिएको छ । लकडाउनमा धेरैभन्दा धेरै उपभोक्तालाई घरसम्मै खाद्यान्न पु-याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीले खाद्यान्नको मूल्यमा १० प्रतिशत छुट दिएको छ ।
घरमै खाद्यान्न पाउन नेपालफुड डटकमबाट कम्तीमा दुई हजार रुपैयाँको सामान खरिद गर्नुपर्ने प्रावधान राखिएको छ । अहिले कम्पनीले चामल, कर्णालीको सिमी र फापर तथा दाल बिक्रीका लागि राख्नेछ । कर्णालीको सिमी आधा किलो, दुई किलो र तीन किलो तौलमा उपलब्ध छ । यसको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ छ । त्यस्तै, कर्णालीको फापर प्रतिकिलो ५० रुपैयाँमा उपलब्ध छ । दाल निजी क्षेत्रबाट खरिद गर्ने प्रक्रिया टुंगो लागेको छ । यसको मूल्य निजी क्षेत्रको भन्दा सस्तो हुने कम्पनीले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि लकडाउन भएसँगै बजारमा आपूर्ति व्यवस्था सहज पार्नका लागि कम्पनीले सो सेवा विस्तार गरेको हो ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण दुई सातादेखि मुलुकभर लकडाउन गरिएको छ । बिहान बेलुका सामान्य रुपमा खाद्य किराना पसल खुलेपनि लकडाउनका कारण पूर्णरुपमा पसल खुल्न सकेका छैनन् । नियमितरुपमा पसल नखुल्दा उपभोक्ताले दैनिक उपभोग्य वस्तुको खरिद गर्न सहजै पाएका छैनन् । खुलेका पसलमा पनि सामान सकिएको व्यवसायी बताउँछन् । नयाँ सामान नआएकाले पसलमा भएको सामान सब सकिसकेको बुद्धनगरका व्यापारी रमेश अधिकारीले जानकारी दिए ।
यो कम्पनीले अहिलेसम्म दुर्गममा खाद्यान्न ढुवानी गर्ने बाहेक बजार हस्तक्षेपका लागि कुनै भूमिका निभाउन सकेको छैन । अब प्रविधिको प्रयोगमार्फत् अत्यावश्यक खाद्य वस्तुमा बजारको एकाधिकार तोड्ने योजना कम्पनीले बनाएको हो । कम्पनीले अहिले उपत्यकाका विभिन्न स्थानमा सुपथ पसल मार्फत सामान वितरण गरिरहेको छ । अहिले चामल, दाल, फापर, कर्णालीको सिमी, वोडीलगायत विभिन्न गेडागुडी कम्पनीले बिक्री गर्ने गर्छ ।