कारोबार संवाददाता
बिहिवार, चैत्र २७, २०७६
526

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कुलेश्वरस्थित खाद्यान्न गोदामको अनुगमन गरेका छन् । अनुगमनका क्रममा गोदाममा पर्याप्त मात्रामा चामल, दाल, चिनीको मौज्दातको रहेको पाइएको छ । उनले बजारमा कृत्रिम अभाव गराएर कालोबजारी गर्ने व्यापारीलाई तत्काल कारबाही गर्ने बताएका छन् ।
बुधबार कुलेश्वरस्थित खाद्यान्नको गोदाममा अनुगमन गर्दै मन्त्री भट्टले कोरोना भाइरसले देखिएको संकटका बेला सामान लुकाएर कालोबजारी गर्ने व्यापारीलाई कारबाही गर्ने बताएका हुन् । राष्ट्र संकटको घडिमा रहेका बेला मुनाफा मात्रै हेरेर काम नगर्न व्यापारीहरूलाई आग्रह गर्दै मन्त्री भट्टले कालोबजारी गरेमा ऐनअनुसार कडा कारवाही गरिने चेतावनीसमेत दिए । अनुगमनका क्रममा उनले नेपाल खाद्य किराना व्यवसायीसँग रहेका खाद्यान्नको मौज्दातको अवस्थाबारे पनि जानकारी लिएका थिए । संघले गोदाममा पर्याप्त खाद्यान्न रहेको तथा भारतबाट नियमित रुपमा खाद्यान्न आयात भइरहेको बताएको छ ।

व्यवसायीहरूले ट्रक चालक तथा मजदुरहरुको आवतजावतका लागि पासको व्यवस्थाबाहेक कुनै समस्या नरहेको मन्त्री भट्टलाई अनुगमनको क्रममा जानकारी दिए । आवतजावतका लागि पासको व्यवस्थापन गर्ने भन्दै मन्त्री भट्टले आवश्यक परे ट्रक चालक तथा मजदुरहरुको खाने बस्ने व्यवस्था गोदाम नजिकै गर्नुपर्ने बताएका थिए ।
मन्त्री भट्टको नेतृत्वमा सचिव बैकुण्ठ अर्याल, बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशकसहित गएको अनुगमन टोलीले खाद्यान्न गोदामको अनुगमन गरेको थियो । नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले खाद्यान्नको आयात नियमित भइरहेकाले पर्यायाप्त मात्रामा मौज्दात रहेको बताएका छन् ।
मुलुक लकडाउन भएपनि अत्यावश्यक खाद्यान्नको आयात नियमित भइरहेकाले बजारमा अभाव नभएको उनको भनाई छ । बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन सक्ने भन्दै सरकारले अत्यावश्यक वस्तुको आयात नियमित गरिरहेको छ । कोरोना भाइरस फैलिन सक्ने भन्दै सरकारले दुई साता अघिदेखि लकडाउन गरेको छ । उपभोक्तालाई राहत दिनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट वितरण हुने खाद्यान्नमा १० प्रतिशत छुट दिएको छ । कम्पनीले अनलाईनमार्फत घरघरमा सामान वितरण गर्न लागेको छ । खाद्यान्न होम डेलिभरीका लागि अर्डर लिन नेपालफुड डटकम अनलाइन पोर्टल तयारी अवस्थामा छ ।
सरकारी कम्पनीहरूले अनलाइन अर्डर लिएर उपभोक्ताको घरसम्म खाद्य सामग्री पु¥याउन लागेको यो पहिलोपटक हो । साल्ट ट्रेडिङ कर्पोरेसनले घुम्ती सेवामार्फत खाद्यान्न टोल–टोलमा वितरण गर्दै आएको छ ।