दीननाथ बराल
मंगलबार, चैत्र २५, २०७६
507

पोखरा -कोरोना भाइरसको कारण लकडाउन भएपनि कृषकलाई यति बेला भ्याइ नभ्याइ छ । हिउँदे बाली थन्क्याउन र मकै लगाउन तथा केही ठाउँमा मकै गोड्ने समय भएकाले यतिबेला कृषक व्यस्त छन् ।
लकडाउनका कारण देशका अधिकांश उद्योग, धन्दा, कलकारखाना लगायका धेरै योजनाहरु प्रभावित भएको र देशका मुख्य बजार क्षेत्रमा मानिसहरु घरबाट बाहिर ननिस्किएको अवस्थामा कृषकलाई भने एक बाली थन्क्याएर अर्को बाली लगाउने समय भएकाले आफूहरु व्यस्त भएको एक कृषक पशुपति रानाभाटले बताए । पोखरा विजयपुरका कृषक रानाभाटले सोमबार आफ्नो मकै बारीमा ५ जना खेतलाको सहायतमा लकडाउनको त्राससँगै मकै गोड्दै थिए ।

उनले भने, “यसपालि धान खेतमा लगाएको मकै गोड्ने बेला बितिसक्यो, टारी खेतमा लगाउने हाइब्रिड जातको मकैको बिउ अभावमा स्थानीय मकै लगाउँदैछु ।” हाइब्रिड जातको मकै स्थानीय मकैको तुलनामा दोब्बर भन्दा बढी उत्पादन हुने उनले दाबी गरे ।
रानाभाट जस्ता अन्य केही किसान चैते धान रोप्न व्यस्त भएका छन् भने केही गहुँ, तोरी, जौं भित्र्याउन व्यस्त भएका हुन् । लकडाउनको समयमा पोखरा सितलदेविकी सुनमाया गुरुङले खेतमा लगाएको गहुँ महिलाहरुको सहायतमा सोमबार गहुँ टिपिन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले लकडाउनको समयमा किसानलाई बाली भित्र्याउन दिएको बताए । उनले भने, “किसानलाई सरकारले प्रथामिकता दिएकै छ, लकडाउनको बेला हामीले केही गर्न मिल्दैन, कोरोना भाइरसको शंक्रमणबाट आफै कति सचेत र सजग हुने उहाँहरु आफैं जान्नु हुन्छ । ” ठूला तथा राष्ट्रिय गौरवका योजनाहरुमा बाहिरी मजदुर तथा कामदार नआएको अवस्थामा काम गर्न कुनै रोकावट नगरेको प्रजिअ ढकालले बताए ।