कारोबार संवाददाता
बिहिवार, चैत्र २०, २०७६
622

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण बालबालिकामा पर्नसक्ने नकारात्मक असर न्युनिकरण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
हालै युनिसेफ, विश्व श्रम संगठन तथा युएन वुमनद्वारा जारी सुझाव पत्रमा कोरोनाको प्रकोप फैलिइरहेकाले बालबालिकामा पर्न सक्ने नकारात्मक असर न्युनीकरण गर्नका लागि कामकाजी परिवारलाई सघाउनुपर्ने आवश्यकता औंल्याइएको छ । रोजगार गुम्नु, विद्यालय बन्द हुनु तथा बालबालिकाको हेरचाह गर्ने सुविधा उपलब्ध नहुनुका कारण विशेषगरी न्युन आय भएका परिवारलाई सहयोगको खाँचो रहेको सुझावपत्रमा उल्लेख छ ।

“गुमेको रोजगार, लम्बिएको तनाव तथा खस्कँदो मानसिक स्वास्थ्य जस्ता यस महामारीको प्रभावआगामी धेरै वर्षहरूसम्म अनुभव गरिनेछ,” युनिसेफका प्रारम्भिक बालविकास बिभागका प्रमुख डा पिया रेबेलो ब्रिटोले भने, “अत्यन्तै जोखिममा रहेका बालबालिकालाई पर्याप्त सामाजिक सुरक्षा प्रणालीको अभावका कारण यस्ता महामारीबाट जोखिम झनै बढ्ने गर्दछ ।”
नेपालको बहुआयामिक गरिबी सुचकांक २०१८ का अनुसार दस वर्ष मुनिका बालबालिका अति विपन्न उमेर समूहमा पर्छन् । “नेपालको सन्दर्भमा, विभिन्न सेवाहरूमा पहुँचका साथै हिंसा तथा शोषणको जोखिम जस्ताविविध सामाजिक तथा आर्थिक वञ्चितिकरणसँग बाल संरक्षण र विकासको सम्बन्ध रहेको छ । ति विपन्न तथा सीमान्तकृत समुदायलाई कोरोनाले झनै जोखिम बढाउने आशंका गरिएको छ,” युनिसेफ नेपालकी प्रमुख एल्के विसले भनिन्, “निजी तथा सरकारी क्षेत्रमा परिवार तथा बाल मैत्री रोजगारका अभ्यासहरूका साथै बदलिँदो हालको परिस्थितिसँग अनुकुलन गर्न सक्षम सामाजिक संरक्षण कार्यक्रमहरूलेबालबालिका तथा तिनका परिवारलाई प्रकोप तथा महामारीका नकारात्मक असरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछन् ।”
रोजगार तथा आय सुरक्षा, परिवारका सदस्यको हेरचाहका लागि तलबी विदा, काम गर्ने लचिलो समयतालिका तथा गुणस्तरीय बाल हेरचाह जस्ता परिवारमैत्री नीति तथा अभ्यास गर्न पािन युनिसेफले
आग्रह गरेको छ । यस्ता प्रावधानहरूले श्रमिकरकर्मचारीलाई आफू र आफ्ना बालबालिकाको हेरचाह गर्न समय दिनुका साथै कार्यदक्षतामा वृद्धि गर्ने र सुरक्षाको प्रत्याभूति दिन आग्रह पनि गरिएको छ ।
“अधिकांश महिलाहरू न्युन आय भएका, असुरक्षित तथा अनौपचारिक रोजगारमा संलग्न हुने गरेका कारण कोरोनाको नकारात्मक आर्थिक असरले महिलालाई धेरै प्रभावित पार्ने तथ्य उजागर भइरहेको छ,” युएनवुमनकी नेपाल प्रमुख वेन्नी कुसुमाले भनिन्, “संसारका धेरै भागमा विद्यमान घरपरिवार भित्रको लैंगिक भूमिकालाई पुनपरिभाषित गर्ने तथा परिवारका सबै सदस्य बीच हेरचाह तथा घरायसी कामको समान वितरण गर्ने चलन सुरु गर्न यो उत्तम अवसर पनि हो,” कुसुमाले थपिन् ।
राष्ट्रिय श्रम शक्ति सर्वेक्षण २०१७–१८ का अनुसार नेपालमा ९०.५ प्रतिशत महिला अनौपचारिक क्षेत्रमा कार्यरत छन् । स्वरोजगार, घरायसी कामदार, महिलाको नेतृत्व भएका घर परिवार तथा अस्थायी प्रकृतिका रोजगारमा संलग्न महिलाहरू विशेष जोखिमा रहेको युनिसेफको भनाई छ ।