निरु अर्याल
शुक्रवार, चैत्र १४, २०७६
1032

कोरोना भाइरसले अर्थतन्त्र शिथिल भइरहेका बेला सरकारले अनौपचारिक क्षेत्रका मजदुर र साना मझौला व्यवसायीलाई लक्षित गर्दै राहत प्याकेज नल्याएको भन्दै सरोकारवालाहरूले चीनता व्यक्त गरेका छन् । छिमेकी मुलुक भारतले समेत कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरेको लकडाउनको दोस्रो दिन गरिब, असंगठित क्षेत्रका मजदुर र साना तथा मझौला व्यवसायीहरूलाई राहत दिन आर्थिक प्याकेज ल्याइसके पनि नेपालले त्यसतर्फ कुनै चासो नदिएको भन्दै अर्थविद्हरूले चीनता व्यक्त गरेका हुन् ।
चीनबाट फैलिएको कोरना भाईरस (कोभिड–१९) ले विश्व अर्थतन्त्र नै कमजोर बनिरहेको अवस्थामा सरकारसँग स्रोत अपुग भए पुरक बजेटमार्फत भए पनि राहत प्याकेज ल्याउन उनीहरूले सुझाएका छन् । भारत सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरेको लकडाउनको दोस्रो दिन (बुधबार) नै गरिब, असंगठित क्षेत्रका मजदुर र साना तथा मझौला व्यवसायीहरूलाई राहत दिन १ लाख ७० हजार करोड भारतीय रुपैयाँ बराबरको आर्थिक प्याकेजको घोषणा गरेको छ । जसअन्तर्गत गरिब र किसानलाई नगद हस्तान्तरणदेखि कोरोना नियन्त्रणमा खटिएका जनशक्तिको बिमालगायत रहेका छन् ।

कोरोनाको भयावह स्थितिसँग जुध्न विश्वका अधिकांश मुलुकले राहत प्याकेज घोषणा गरेपनि नेपाल सरकारले भने राहतका लागि लगत संकलन गरेको बताउँदै आएको छ । नेपालमा समेत कोरोनाको संक्रमण देखिएकोर योे अवस्था लामो समयसम्म रहे नेपालको अर्थतन्त्र थेग्नै नसक्नेगरी थिलथिलो पर्ने विश्लेषकहरूको दावी छ यस्तो अवस्थाको सामाना गर्न सरकारले र अर्थतन्त्र चलाउन सरकारले आर्थिक प्याकेज ल्याउनु ढिला गर्न नहुने अर्थविद् डा. विश्वम्भर प्याकु-यालको तर्क छ ।
“स्रोत अपुग भए अर्थात प्रक्रियागत समस्या भए सरकारले पुरक बजेट ल्याउन सक्छ,” डा.प्याकु-यालले कारोबारसँग भने, “राहत प्याकेज ल्याउन ढिला भइसक्यो अब ढिला गर्नु हुँदैन ।” जनतालाई आश्वस्त पार्न सरकारले आपूर्ति व्यवस्था सहज भएको बताए पनि विश्वभर सप्लाई चेनमै समस्या देखिएको उनले बताए । “यतिबेला विश्व नै महामारीको चपेटमा छ नेपाल अछुतो हुने कुरा हुँदैन, उनले भने, “यस्तो बेलामा तोकिएकै बेला बजेट ल्याउनु पर्छ भन्ने छैन, सरकारले राहत प्याकेजकालागि पुरक बजेट ल्याउन सक्छ । अध्यादेशमार्फत पुरक बजेट ल्याएरै भएपनि सरकारले राहत प्याकेज तत्काल ल्याओस् ।”
कोरना भाइरस (कोभिड–१९) ले विश्व अर्थतन्त्र नै संकटमा पर्ने देखिएपछि विभिन्न मुलुकले करिब दुई खर्ब अमेरिकी डलरको राहत प्याकेज घोषणा गरिसकेका छन् । (कोभिड–१९) ले विकासोन्मुख विकाससिल देश मात्र नभएर उदयमान शक्तिशाली मुलुक चीनदेखि सर्वशक्तिमान देश मानिने अमेरिका र यूरोपियन मुलुकहरूको अर्थतन्त्रलाई समेत ठुलो धक्का लागेको छ भने युरोपियन मुलुक बढी प्रभावित भएका छन् । अर्थशास्त्री डा.चन्द्रमणि अधिकारी पनि राहत प्याकेज ल्याउन सरकारले ढिला गर्न नहुने बताउँछन् । “महामारीले आम मानिसको व्यवहार र विश्वको अर्थतन्त्रनै बदलिने अवस्था आएको छ,” उनी भन्छन्, “स्रोत अपुग भए यस्तो बेलामा पुरक बजेट ल्याउन संविधानले रोक्दैन, जसरी हुन्छ, अर्थतन्त्र चलाउन सरकारले कर्जाको मिनाहा छुट दिने र साना र श्रमिकहरूलाई राहत दिनेगरी कार्यक्रम तत्काल ल्याउनु पर्छ ।”
अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रको वृद्धिदर ०.५ प्रतिशतले खुम्चिने देखिएको छ ।
यो प्रक्षेपणभन्दा विश्वको अर्थतन्त्र अझै कमजोर बन्ने अर्का अर्थशास्त्री प्राध्यापक डा. गोविन्द नेपाल बताउँछन् । “कोभिड–१९ ले विश्वभर त्रास फैलिएको छ, विश्वको अर्थतन्त्र जर्जर बनेको छ यसलाई जोगाउन राहत प्याकेज ल्याउनु जरुरी छ ।” उनी पनि निजी क्षेत्रको मनोबल उकास्न र महामारीको भयाबहबाट जोगिन विशेष प्याकेज ल्याउन ढिला गर्न नहुने तर्क गर्छन् । एसियाली विकास बैंकको प्रारम्भिक तथ्यांक अनुसार आन्तरिक आपूर्तिमा कमी, पर्यटन प्रवद्र्धन, व्यावसायिक क्षेत्रमा संकुचन र व्यापार तथा उत्पादन, आपूर्ति प्रणालीमा अवरोध र स्वास्थ्यमा देखिएको प्रभावले विश्व अर्थतन्त्रमा तीन खर्ब ४७ अर्ब अमेरिकी डलरसम्म क्षति हुनसक्ने आँकलन गरिएको छ ।
अर्थशास्त्री केशव आचार्य भन्छन्, “पछिल्लो अवस्थालाई नियाल्दा अबका दिनमा कोरोनाको भयावह झनै बढेर जाने देखिएको छ यसको मारमा श्रमिक छन् राहत प्याकेज ल्याउदा गरिब किसान र वृद्ध र असक्तहरूलाई सम्बोधन गर्नुपर्छ ।” उनले सरकारसँग ढुकुटीमा प्रयाप्त रकम भएपनि राहत प्याकेज ल्याउन ढिलाई गरेको बताए ।
ढुकुटीमा प्रयाप्त रकम छ सरकारको पैसा अन्यत्र खर्च हुन सकिरहेको छैन त्यो पैसालाई यता लगाउन सकेमा अर्थतन्त्र चलायमान हुन्छ उनी भन्छन् स्रोतको कुनै विकल्प भएन भने पनि पुरक बजेट ल्याउन सक्ने बाटो खुलै छ जे जसरी हुन्छ सरकारले राहत प्यकेज ल्याउनु ढिलाई गर्न हुँदैन ।” यो समाचार तयार पार्दा सम्म कोरोनाका कारण २२ हजार ४८ जनाको ज्यान गएको छ भने ४ लाख ८७ हजार ६ सय ४८ जनामा संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । हालसम्मको तथ्यांक हेर्दा कोरोनाबाट चीन इटली, फ्रान्स र अमेरिका बढी प्रभावित देखिएको छ भने नेपालमा समेत तीन जनामा कोरोना भएको पुष्टि भएको छ ।