मनिषा चम्लागाईँ
शुक्रवार, चैत्र १४, २०७६
1723

झापा-चियाको पहिलो पत्ती ‘फस्ट फ्लस’ गुणस्तरीय मानिन्छ । नेपालमा प्रत्येक वर्ष फस्ट फ्लस चिया २५ देखि ३० लाख केजीसम्म उत्पादन हुन्छ । हरेक वर्ष फस्ट फ्लस चिया तराईमा फागुन र पहाडी जिल्लामा चैतदेखि टिप्न सुरु गरिन्छ । यस वर्ष कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै तराईका जिल्लामा केही दिन अघिदेखि चिया टिप्ने कार्य ठप्प छ । केही बगानले भने फस्ट फ्लस टिप्न नपाई कोरोना भाइसको जोखिम खेप्नुप-यो । तराईका उद्यमीले फस्ट फ्लस ४० प्रतिशत चिया टिपिसकेका थिए भने, पहाडका उद्यमी चिया टिप्ने तरखरमा थिए । कोरोना भाइरसका कारण अहिले तराई तथा पहाडका ठूला साथै साना किसानका बगान बन्द छन् ।
तराईको फस्ट फ्लस चिया हुर्किन थालेको छ । पहाडको चिया टिप्ने उपयुक्त समय सुरु भएको छ । तर, भाइरसका कारण २० लाख किलो तयारी चिया बगानमा नै हुर्किन सुरु गरेकाले तत्काल टिप्न नसके ५० करोड रुपैयाँ बराबरको चिया खेर जाने चिया क्षेत्र बचाऊ अभियानका संयोजक आदित्य पराजुलीले बताए । गत वर्ष सरकारले तोकेको न्यूनतम पारिश्रमिक मजदुरले पाउन नसकेको भन्दै मजदुर आन्दोलित बनेसँगै पहिलो टिपाई बगान मा नै हुर्केको थियो ।
पराजुलीले साझेदारीमा ३ सय बिघा जमिनमा चिया उत्पादन गर्दै आएका छन् । हरेक वर्ष २ लाख किलो फस्ट फ्लस तयारी चिया उत्पादन गर्दै आएका पराजुली यस वर्ष उद्योग सञ्चालनको खर्च नै धान्न नसक्ने अवस्था आएको सुनाउँछन् । इलाम र झापामा विभिन्न उद्योग सञ्चालन ल्याएका पराजुली झापामा उत्पादित चियाको पहिलो टिपाई भारत र नेपाली बजारमा खपत हुने बताउँछन् । इलामको चिया भने जर्मन निर्यात गर्दै आएको उनले बताए ।
यस वर्ष पनि कोरोना भाइसका कारण चियाको पहिलो टिपाई वगानमा नै हुर्कने अवस्था आएसँगै किसानसमेत चिन्तित छन् । माघ अन्तिम साता वर्षा हुँदा किसान उत्साहित थिए । चिया उद्योगी पनि फस्ट फ्लस चियापत्ती कारखानामा टनाटन आउने विश्वासमा थिए तर, अहिले मुना पलाएको चिया बगानमा नै हुर्कदैँ गएको पराजुली बताउँछन् । “यस वर्ष पनि पहिलो टिपाइ बगानमा नै हुर्कन सुरु गरेकाले चियाको अन्तर्राष्ट्रिय बजारमासमेत असर पर्ने पराजुली बताउँछन् ।

अर्थोडक्स चिया उत्पादन नहुने
नेपालमा कुल उत्पादनको १० प्रतिशत मात्र अर्थोडक्स चियाको खपत छ । स्वास्थ्यका लागि पनि फाइदाजनक मानिएको ग्रिन टी, ब्ल्याक टी, गोल्डन टी, ह्वाइट टी लगायतका विभिन्न अर्थोडक्स उत्पादन जर्मन निर्यात हुँदै आएको थियो । इलामको चिसो हावापानीमा उत्पादन हुने अर्थोडक्स चिया यस वर्ष उत्पादन गर्न नसकिने इलामको गोर्खा चिया कमानका सञ्चालक उदय चापागाईँ बताउँछन् । इलाममा मात्र वार्षिक ६ लाख किलो अर्थोडक्स चिया उत्पादन हुँदै आएको थियो । “देश संकटको घडीमा छ, साथै देशको अर्थतन्त्र पनि कायापलट हुने अवस्थामा पुगेको छ,” चापागाईँले भने, “इलामका २१ हजार साना किसानले उत्पादन गरेको चियाको पहिलो टिपाई बगानमा नै हुर्कन सुरु गरेको छ ।” वर्ष भरी मेहनत गरेका इलामका किसानले उत्पादन लिने बेलामा भाइरसको जोखिमका कारण चिया टिप्न सुरु गरेका छैनन् ।
गोर्खा चिया कमानले हरेक वर्ष ३ सय साना किसानले उत्पादन गरेको फस्ट फ्लस चिया खरिद गर्ने गथ्र्यो । “हामीले वार्षिक १० हजार किलो तयारी अर्थोडक्स उत्पादन जर्मन निर्यात गर्ने गरेका थियौँ” चापागाईँले भने, “सिजन सुरु भएसँगै फ्याक्ट्रीमा नै आएर चिया खरिद गर्ने जर्मनका नागरिकले यस वर्ष नआउने बताइसकेका छन् ।” गोर्खा चिया कमानले फस्ट फ्लस तयारी चिया प्रतिकिलो ४ हजार रुपैयाँमा बिक्री गर्दै आएको थियो । भाइरसको जोखिम यही अवस्थामा रहे नेपालका चिया कारखाना बन्द हुने अवस्थामा पुग्ने उद्योगी बताउँछन् । चिया उद्योग बचाउनका लागि अन्य उद्योगलाई झौँ चिया उद्योगलाई पनि अनुदान उपलब्ध गराउनु पर्ने चापागाईँको माग छ । उद्योगलाई बिजुलीमासमेत सहुल्यत गर्न आवश्यक रहेको उनले बताए ।
फस्ट फ्लसमा कुल उत्पादनको १५ प्रतिशत चिया उत्पादन हुने चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताए । चिया उत्पादक संघका अनुसार कोरोना भाइरसको कारण तराईमा फस्ट फ्लस चिया टिप्न ढिला भइसकेको छ । हरियो पत्तीको सिजन सुरु हुँदै गर्दा वर्षेनी मजदुर आन्दोलित हुने गरेका थिए । यसै कारण घाटा बेहोर्दै आएको चिया क्षेत्रले यस वर्ष पुनः कोरोना भाइरसको कारण बन्द भएको छ । चिया क्षेत्रमा प्रत्यक्ष रुपमा आबद्ध ५० हजार मजदुर मारमा परेको अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटा बताउँछिन् । नेपालमा १ सय ५० बढी चिया उद्योग र १० हजार बढी चिया किसान रहेका छन् ।