लक्ष्मी सापकोटा
शुक्रवार, चैत्र १४, २०७६
378

नेपाल आयल निगमले बजारमा ग्यास अभाव हटाउनका लागि आधार ग्यास भरेर पठाउन बोटलिङ प्लान्टलाई निर्देशन दिएको छ । भारतबाट ग्यास आपूर्ति भइरहे पनि बजारमा अभाव हट्न नसकेपछि आपूर्ति व्यवस्था सहज पार्नका लागि निगमले आधार भरेर पठाउन निर्देशन दिएको हो । ग्यास उद्योगले बिहीबारदेखि ७.१ किलो ग्यास भर्र्नेछन् । यसअघि भारतले नाकाबन्दी गरेका बेला पनि निगमले आधा ग्यास भएका सिलिण्डर बिक्री गरेर अभाव टार्ने कोसिस गरेको थियो । सो नियम लागू भए ग्यास उद्योगले १४.२ किलोग्रामको सिलिण्डरमा ७.१ किलो ग्यास भर्नुपर्नेछ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले वजारमा ग्यासको अभाव हटाउन आधार सिलिन्डर बजारमा पठाउन लागिएको बताए । भारतबाट पहिलेको तुलनामा धेरै ग्यास बुलेट आयात गर्दापनि अभाव हट्न नसकेपनि आधा ग्यास भरेर बिक्री गर्ने तयारी गरिएको उनले बताए । आधा भरिएको ग्यासको मूल्य उपभोक्ताले ६ सय ८७ रूपैयाँ ५० पैसा तिर्नुपर्नेछ ।

आधा सिलिण्डर भरेर पठाउँदा अहिले आयात भइरहेको ग्यासबाटै दोब्बर बढी सिलिण्डरमा भर्न सकिने भएकाले अभाव टर्ने विश्वास गरिएको निगमले भनाई छ । नाकाबन्दीका समयमा ग्यास अभाव भएपछि उपभोक्ताले दोब्बर बढी सिलिण्डर जम्मा गरेका थिए । ग्यास सहज भएसँगै त्यतिकै थन्किएका ती सिलिण्डर अहिले कोरोना संक्रमणसँगै वाहिर आएपछि निगमलाई ग्यास व्यवस्थापन गर्न असहज भएको हो । कोरोना संक्रमण र मुलुक लकडाउनमा गए पनि भारतबाट सहज रूपमा ग्यास आयात भइरहेको थियो । यसै अवधिमा नेपालले एक साताका लागि लकडाउन र छिमेकी मुलुक भारतले तीन साताका लागि लकडाउन गरेपछि उपभोक्ता धेरै सिलिन्डर भर्न थालेपछि बजारमा अभाव हुन् ।
चार वर्षअघिको नाकाबन्दीका समयमा ग्यासको चरम अभाव भोगेका कारण पनि झन् ग्यास थुपार्ने होड चलेपछि ग्यास सर्वसुलभ रूपमा उपलव्ध हुन नसकेको हो । नाकाबन्दीका समयमा पनि निगमले आधा ग्यास भरेर आपूर्ति व्यवस्था सहज बनाउने प्रयास गरेको थियो । त्यो बेलामा ग्यास आपूर्तिमा केही सहजता भए पनि नयाँ सिलिण्डर घर घरमा थुप्रिएका थिए । नाकाबन्दीको समयमा थुप्रिएका सिलिण्डर कोरोना संक्रमणको हल्लासँगै बाहिर आएको थियो ।
घरभित्र रहेका पूराना सिलिण्डर बाहिर आएकै कारण अहिले वितरण प्रणाली व्यवस्थापन गर्न असहज भएको हो। अहिले पनि आधा ग्यास बिक्री गर्दा उपभोक्ताको घरमा थप सिलिण्डर थुप्रिने आशंका बिक्रेताहरू गर्छन् ।
मंगलबार र बुधबार मात्रै ४४ सय टन ग्यास नेपाल भित्रिएको छ । यो एकै दिनमा आएको सबैभन्दा धेरै ग्यास हो। भारतबाट ग्यास आइरहेको र धेरैको घरमा ग्यास मौज्दात भएका बेला आधा सिलिण्डर बेच्ने निर्णय अव्यवहारिक भएको ती बिक्रेताले बताए । तर कार्यकारी निर्देशक भने ग्यासको समानुपातिक वितरणका लागि यो व्यवस्था गरिएको बताउँछन् ।
चीनमा देखिएको कोरोना भाइरसको संक्रमण विश्व भरी फैलिदै गएपछि ग्यासको खपत ह्वात्तै बढेको छ । बजारमा अभाव हुन सक्ने भन्दै उपभोक्ताले ग्यास भर्न थलोपछि ग्यासको खपत बढ्दै गएको हो ।