लक्ष्मी सापकोटा
बिहिवार, चैत्र १३, २०७६
781

नेपाल आयल निगमले एलपी ग्यास उद्योगमै ५० प्रतिशत ग्यास भन्डारण गर्न निर्देशन दिएको छ । निगमसँग विशेष अवस्थाका लागि डिजेल, पेट्रोल, हवाई इन्धन भन्डारणको ७१ हजार किलोलिटर क्षमता भए पनि ग्यास भन्डारण नभएकाले आपतकालीन अवस्थाका लागि उद्योगीलाई उद्योगमै भन्डारण गर्न निर्देशन हो । अहिले उद्योगसँग बुलेटमा ६ हजार टन ग्यास भन्डारण गर्ने क्षमता रहेको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले ग्यास उद्योगलाई ५० प्रतिशत ग्यास भन्डारण गर्न निर्देशन दिएको जानकारी दिए । भारतबाट आपूर्ति न्यून भएको अवस्थामा सुरक्षा निकाय र अस्पतालका लागि आवश्यक ग्यास भण्डार गर्न यस्तो निर्देशन दिएको उनको भनाइ छ ।
कोरोना संक्रमण फैलिँदै गएपछि भारतले पनि २१ दिनको लकडाउन घोषणा गरेपछि आपूर्ति व्यवस्थामा केही संकुचन आउने परिस्थिति आउन सक्ने भन्दै उद्योगमै ग्यास भन्डारण गर्न लागिएको हो । अहिले भारतीय नम्बरका पाँच देखि ६ सय बुलेटले ग्यास बोक्दै आएका छन् । कोरोना भाइरसको संक्रमण थप फैलिँदै गयो भने लामो समय सम्म भारतमा लकडाउन बढ्न सक्छ । नेपाली चालक नभएकाले समेत ग्यास सहज रूपमा आपूर्ति गर्न सकिएको छैन । पछिल्लो केही दिनदेखि भारतबाट माग अनुसार ग्यास नै आएको छैन ।

निगमसँग ग्यास भण्डारण क्षमता नभएकाले अहिले उद्योगीले समेत आएजति ग्यास बजारमा पठाइरहेका छन् । यो परिस्थितिमा निगमले उद्योगीको बोटलिङ प्लान्टमा ग्यास राख्न लगाउनेछ । त्यो ग्यास आवश्यकताअनुसार प्रयोग गर्नेछ । निगमले भारतबाट ग्यास नआएमा अत्यावश्यक क्षेत्रलाई आवश्यक पर्ने ग्यास स्टक राख्न खोजेको हो ।
भारतमा २१ दिनको लकडाउनपछि पेट्रोलियम पदार्थको माग घट्ने देखिएको छ । यस्तो अवस्थामा रिफाइनरीमा उत्पादन पनि कम हुँदै गएको छ । निगमले एक महिनाभित्र ५० प्रतिशत उद्योगमै भण्डारण गरेर राख्न उद्योगीलाई निर्देशन दिएको छ। निगमले जारी गरेको निर्देशनमा भनिएको छ । वर्तमान विशेष परिस्थितिमा अत्यावश्यक सेवाको सुनिश्चितताका लागि प्रत्येक ग्यास उद्योगले दुई दिनको सिलिण्डर बिक्री बराबरको परिमाण तयारी अवस्थामा राख्नुपर्नेछ । यसरी तयारी अवस्थामा राखिएको सिलिण्डरको बिक्री वितरण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशन बमोजिम गर्नुपर्नेछ ।
ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले अत्यावश्यक क्षेत्रका लागि आवश्यक ग्यास मौज्दात राख्ने व्यवस्था सकारात्मक रहेको बताए । राष्ट्रिय संकटका बेला अस्पताल लगायत अत्यावश्यक ठाउँमा ग्यास आपूर्ति गर्नुपर्ने भएकाले सरकारले ग्यास स्टक राख्नु स्वागतयोग्य निर्णय भएको उद्योगीको भनाइ छ ।
चीनमा देखिएको कोरोना भाइरसको संक्रमण विश्व भरी फैलिदै गएपछि ग्यासको खपत ह्वात्तै बढेको छ । बजारमा अभाव हुन सक्ने भन्दै उपभोक्ताले ग्यास भर्न थलोपछि ग्यासको खपत बढ्दै गएको हो । सामान्य अवस्थामा मासिक ३८ हजार आयात हुने गरेको मार्च २४ सम्म ३१ हजार ९ सय ४४ टन ग्यास आयात भएको छ ।
निगमले एक परिवारलाई एउटा सिलिन्डर दिने भएको छ । खाना पकाउने ग्यास विक्री वितरण प्रक्रियालाई थप पारदर्शी बनाउनका लागि यस्तो व्यवस्था गरेको हो । अब एक परिवारले महिनामा एउटा सिलिन्डर मात्रै ग्यास पाउने र ग्यास किन्न पनि नागरिकता र फोन नम्बर ग्यास विक्रेतालाई दिनुपर्ने नियम ल्याइएको हो ।
अहिले कोरोनाको सन्त्रासका कारण ग्यासको माग बढेको छ भने सरकारले माग बमोजिम आपूर्ति गर्न सकिरहेको छैन । निगमले ग्यास उद्योगहरूले आयात गरेका ग्यासको परिमाण, बोटलिङ प्लान्टमा भर्न बाँकी परिमाण, मौज्दातमा रहेका ग्यासका सिलिन्डर, अघिल्लो दिनमा वितरण भएको सिलिन्डर संख्या, ग्यास वितरण हुने डिलरको नाम र ठेगाना लगायतका विवरण दैनिक रूपमा जिल्ला प्रशासन कार्यालयहरू र आयल निगमको एलपीजी विभागमा विहान १० बजेसम्म बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
यसैबीच, नेपाल चेम्बर अफ कमर्सले उपाभोग्य वस्तुको आपूर्तिमा सहजता ल्याउन नयाँ समन्वय समिति गठन गरेको छ । कमर्सले हाल लकडाउन भएको परिस्थितिमा औषधी, मास्क, खाद्यन्नको आपूर्तिमा सहज हुने हेतुले ६ जनाको नयाँ समिति गठन गरिएको छ । उक्त समितिमा दीपक मल्होत्रा, देवेन्द्रभक्त श्रेष्ठ, मृगेन्द्रमेहर श्रेष्ठ, कृष्णमान श्रेष्ठ, निरज राई र राजेन्द्र सिम्खडा रहेका छन् ।