मनिषा चम्लागाईँ
बुधवार, चैत्र १२, २०७६
811

झापाको बाह्रदशी गाउँपालिकाको राजगढमा उत्पादित स्ट्रबेरीले राम्रो बजार पाएको छ । दैनिक एकदेखि डेढ टन स्ट्रबेरी उत्पादनसँगै खपत हुने गरेको समर्पण एग्रो प्रालिले जनाएको छ । “बजारको मागअनुसार स्ट्रबेरी टिप्ने गरेका छौँ” प्रालिका व्यवस्थापक विवेक शुक्लाले भने ,“त्यही भएर उत्पादनको दर एउटै छैन ।” हालसम्म सरदर ९०१ टन स्ट्रबेरी उत्पादन भएको शुक्लाले जानकारी दिए । स्ट्रबेरी टिप्न र बजारसम्म पु-याउन हम्मेहम्मे पर्ने गरेको कर्मचारीले बताए ।
गत १६ डिसेम्बरमा स्ट्रबेरीमा पहिलो फल लागेको थियो । त्यसपछि २५ डिसेम्बरमा स्ट्रबेरीले २५० ग्राम उत्पादन दिएको थियो । हिउँद मौसम र चिसो हावापानीमा फल्ने स्ट्रबेरीको सिजन अब सकिन लागेको हो । अहिले अन्तिम सिजन चलिरहेको शुक्लाले बताए । “अब यसको उत्पादन १५ अप्रिलसम्म मात्र चल्छ” उनले भने, “मौसमले साथ दिएको खण्डमा मार्चसम्म फल्न सक्छ ।” केही दिनअघिको वर्षाले स्ट्रबेरीलाई असर पु-याएको उनले बताए । पहाडमा फल्ने फलले तराईमा राम्रो उत्पादन दिन नसक्ने आशंकाका बीच गोल्यान एग्रो प्रालिले बाह्रदशीमा पहिलो पटक लगाएको स्ट्रबेरीले राम्रो उत्पादन दिएको हो ।
उत्पादनसँगै यसले राम्रो बजार पनि पाएको छ । नेपालका विभिन्न स्थानसँगै अमेरिका, जापान, कोरिया र अष्ट्रेलियाबाट समेत स्ट्रबेरी हेर्न आएको व्यवस्थापक शुक्लाले जानकारी दिए । फार्मबाटै दैनिक ३५–४० केजी स्ट्रबेरी बिक्री हुने गरेको छ । दैनिक ‘ए’ ग्रेडको ९.५ केजी र ‘ई ’ ग्रेडको २१ केजी स्ट्रबेरी फार्मबाटै बिक्री हुने गरेको कर्मचारी राजेन्द्र भट्टले बताए । त्यहाँ दुई ग्रेडको स्ट्रबेरी निकालिएको छ । यहाँ उत्पादित स्ट्रबेरीको बिर्तामोड, दमक, विराटनगर, धरान र काठमाडौँमा राम्रो माग रहेको छ ।

विदेश निर्यात गर्ने
बिर्तामोडमा दैनिक एक क्वीन्टल स्ट्रबेरी आपूर्ति हुँदै आएको छ । त्योसँगै दुबइ पनि पठाइएको थियो । दुबईमा यहाँको साम्पल टेष्ट गर्दा पूर्ण अर्गानिक पाइएको शुक्लाले बताए । त्यसपछि दुबइबाट दैनिक ७ टन स्ट्रबेरीको माग आएकोमा त्यसबमोजिम आपूर्ति गर्न नसक्ने भन्दै यस वर्ष नपठाएको उनले जानकारी दिए ।
अर्को वर्षदेखि दुबइ र ओमानमा स्ट्रबेरी निर्यात गर्ने योजना रहेको उनले सुनाए । स्ट्रबेरी ‘ए’ ग्रेड एक हजार र ‘इ’ गे्रड ५ सय रुपैयाँ प्रतिकेजी बिक्री हुने गरेको छ । होलीको अवसर पारेर ‘ए’ गे्रडलाई ८ सय र ‘इ’ ग्रेडलाई ४ सय रुपैयाँ प्रतिकेजी झारिएको छ । फार्मबाट टिपेर मजदुरहरुले त्यहीँ २ सय ५० ग्रामको दरले प्याकेजिङ गर्ने गरेका छन् । टिपेका स्ट्रबेरी बिग्रिन नदिन कम्पनीले फार्ममै कोल्डस्टोर बनाएको छ ।

स्थानीयलाई रोजगार
गोल्यान गु्रपको समर्पण एग्रो प्रालिले बाह्रदशी – १ को जनता बजारदेखि पश्चिम ३८.५ एकड (करिब ३२ बिगाह) जग्गामा स्ट्रबेरी लगाएको हो । खेतीका लागि सुरु—सुरुमा सय जना कामदार खटिन्थे भने अहिले ६० जनाले दैनिक ज्यालादारी गरिरहेका छन् । महिलालाई पाँच सय र पुरुषलाई ६ सय रुपैयाँको दरले स्थानीयहरुलाई नै रोजगारीमा लगाएको कम्पनीले जनाएको छ  ।
जसबाट स्थानीय आदिवासी, दलित र मुस्लिम समुदायमा बेरोजगारको समस्या केही हदसम्म हल भएको छ । नजिकै घर भएकी सविना राजवंशी ५ महिनादेखि मजदुरी गरिरहेकी छन् । ५ सय रुपैयाँ हाजिराको दरले उनले हप्तामा ३५ सय रुपैयाँ ज्याला पाउँछिन् । तीन छोरीकी आमा सविनाको परिवारलाई मिस्त्री काम गर्ने श्रीमानको एक्लो कमाइले गुजारा गर्न गाह्रो भइरहेको थियो । “पहिला घरव्यवहार चलाउन समस्या थियो” उनले भनिन्, “अब त मैले पनि सहयोग गर्ने गरेकी छु ।” स्ट्रबेरी फार्मले सविनासँगै न्यून आय भएका यशोदा माझी र दिपिका टुडूलाई पनि काम गरेर गुजारा गर्न मद्धत पुगेको छ । त्यहाँ राजवंशी, माझी, सन्थाल र मुस्लिम समुदायका महिला र पुरुषहरुले बढी रोजगारी पाएका छन् ।
बाह्रदशी– १ मा व्यावसायिक स्ट्रबेरी खेती गरेको गोल्यान ग्रुपले घेराबारीमा पनि खेती विस्तार गर्न लागेको छ । त्यहाँ १ हजार विगाहामा व्यावसायिक रुपमा फलफूल र तरकारी खेती गर्न लागेको जनाएको छ । फलफूल र तरकारीमा नेपाललाई आत्मनिर्भर बनाउँदै यहाँ उत्पादित सामान विदेश निर्यात गर्ने योजना रहेको गोल्यान ग्रुपका सञ्चालक पवन गोल्यानले बताए । बाह्रदशी –१ मै पनि कम्पनीले स्ट्रबेरीसँगै मकै, काँक्रा र खरबुजाको खेती थालेको छ ।

पर्यटनमा समेत टेवा
बाह्रदशी गाउँपालिकालाई अहिले स्ट्रबेरी खेतीले चिनाएको छ । यहाँ स्ट्रबेरी खेती हेर्न, स्ट्रबेरीको स्वाद लिन, फोटो खिच्न दैनिक फार्मसम्म पुग्नेको संख्या बाक्लो देखिन्छ । स्ट्रबेरीले उत्पादन दिन सुरु गरेसँगै राजगढ अहिले कृषि पर्यटन क्षेत्र जस्तै बनेको छ ।
फार्मका कर्मचारी मानबहादुर थापाले अवलोकनका लागि दैनिक ३ सय बढी मानिस आउने गरेका बताए । “विदाका दिन आउनेको संख्या अझ बढ्छ” थापाले भने, आउने अधिकांशले स्ट्रबेरी खरिद गर्छन् ।